रोयल इनफिल्डले आफ्नो नयाँ अर्वान परफर्मेन्स रोडस्टर गुरिल्ला ४५० नेपालमा सार्वजनिक गरेको छ। यसको आधिकारिक विक्रेता गैरे प्रतिष्ठान प्रालि बुटवलमा गुरिल्ला ४५० सार्वजनिक भएको हो । घुमाउरा सडक तथा लामो दूरीका राइडलाई लक्षित गर्दै तयार गरिएको यो मोटरसाइकलले रोडस्टर सेग्मेन्टमा नयाँ गुरिल्ला ४५० तीन भेरियन्ट (एपेक्स, ड्यास र फ्लास) तथा आठ विभिन्न कलरहरूमा उपलब्ध गराइएको छ।
गैरे प्रतिष्ठानले सोमबार गरेको कार्यक्रममा अध्यक्ष प्रेमराज गैरे, सञ्चालिका लक्ष्मी गैरे, गैरे प्रतिष्ठानका डाइरेक्टर प्रवेशराज गैरे, गैरे प्रतिष्ठानकै प्रिया गैरेले एकसाथ गुरिल्ला ४५० सार्वजनिक गरेका हुन्। गैरे प्रतिष्ठानका डाइरेक्टर प्रवेशराज गैरेले नेपालमा गुरिल्ला ४५० सार्वजनिक हुनु कम्पनीका लागि महत्त्वपूर्ण उपलब्धि भएको बताए।
रोयल इनफिल्डले १२५ वर्षको यात्रा मनाइरहेका वेला नेपालमा गुरिल्ला ४५० सार्वजनिक गर्न पाउनु उत्साहजनक कदम भएको उनले बताए। नेपाली युवा र स्पोर्टी राइडिङ मन पराउने ग्राहकका लागि यो उत्कृष्ट विकल्प बन्नेमा प्रतिष्ठान विश्वस्त रहेको गैरेले बताए। नेपालमा गुरिल्ला ४५० को बुकिङ कम्पनीले खुला गरिसकेको नेपालभरिका रोयल इनफिल्डका साेरुमहरूमा गुरिल्ला ४५० उपलब्ध हुने कम्पनीले जनाएको छ।
पहिलो दिन पाँचवटा बुकिङ भएको यस रोयल इनफिल्डको गुरिल्ला ४५० विभिन्न कलरमा उपलब्ध रहेको छ। यसको मूल्य आठ लाख ९९ हजार रहेको छ। गुरिल्ला ४५० मा ४५२ सिसीको सिंगल सिलिन्डर लिक्विड–कुल्ड शेर्पा इन्जिन प्रयोग गरिएको छ। यसले आठ हजार आरपिएममा ४० पिएस पावर र पाँच हजार पाँच सय आरपिएममा ४० एनएम टर्क उत्पादन गर्छ।
कम्पनीका अनुसार ८५ प्रतिशतभन्दा बढी टर्क तीन हजार आरपिएमबाट उपलब्ध हुने भएकाले सहरदेखि हाईवे सबै प्रकारका सडकमा सहज परफर्मेन्स दिन्छ। मोटरसाइकलमा ६ स्पिड गियरबक्स, एसिस्ट तथा स्लिप क्लच राइड–बाइ–वायर प्रविधि तथा ‘स्पोर्ट’ र ‘स्ट्रिट’ गरी दुई राइडिङ मोड उपलब्ध छन् । गुरिल्ला ४५० मा ११ लिटर इन्धन ट्यांकीसहित विभिन्न फिचर समावेश छन्। १७ इन्च ट्युबलेस टायरले मोटरसाइकललाई अझ स्थिर र चुस्त बनाउने कम्पनीको दाबी छ।
मोटरसाइकलका सबै भेरियन्टमा रोयल इनफिल्डको ४ इन्च टिएफटी ‘ट्रिपर ड्यास’ उपलब्ध हुनेछ। गैरे प्रतिष्ठानका लेखाप्रमुख कमल घिमिरेका अनुसार सोमबार सार्वजनिक गरिएका मोटरसाइकल आठ लाख ९९ हजार मूल्यका रहेका छन्। बुटवल सोरुम म्यानेजर नारायणप्रसाद खनालले मोटरसाइकलका विशेषताबारे चर्चा गर्दै यी मोटरसाइकलका राइडरले आरामदायी अनुभव गर्ने बताएका थिए।
सन् १९०१ देखि निरन्तर उत्पादनमा रहेको रोयल इनफिल्ड संसारकै सबैभन्दा पुराना मोटरसाइकल ब्रान्डमध्ये एक हो। ब्रिटिस विरासतबाट सुरु भएको यो ब्रान्डले भारतको मिड–साइज दुईपांग्रे सवारी सेग्मेन्टको विकासमा अग्रणी भूमिका खेलेको छ ।