छथर जोरपाटीका स्थानीयलाई नबिलको वित्तीय साक्षरता

मंगलबार, २९ बैशाख, २०८३
डिजिटल संस्करण

छथर जोरपाटी गाउँपालिका– ४, तेलियामा वित्तीय साक्षरता र उद्यमशीलता विकासलक्षित कार्यक्रम सञ्चालन गरिएको छ । गाउँपालिका र नबिल बैंकको सहकार्यमा आयोजना गरिएको कार्यक्रममार्फत स्थानीय किसान, युवा तथा स्वरोजगार बन्न चाहने व्यक्तिलाई व्यावहारिक ज्ञान र सिप प्रदान गरिएको हो ।

कार्यक्रममा सहभागीलाई बचत गर्ने तरिका, बैंकिङ सेवा उपयोग, लगानी व्यवस्थापन, वित्तीय योजना निर्माणलगायतका विषयमा जानकारी दिइएको थियो । यससँगै उद्यम सञ्चालनका आधारभूत पक्षबारे पनि प्रशिक्षण दिइएको आयोजकले जनाएको छ ।

नबिल बैंक सिधुवा शाखाका प्रमुख निरञ्जन निरौलाले तालिमलाई व्यावहारिक र आयमुखी बनाइएको बताए । सहभागीलाई आधुनिक प्रविधिमार्फत च्याउ खेती गर्ने विधि, उत्पादन व्यवस्थापन तथा बजारसम्म पहुँच विस्तार गर्ने उपायबारे सिकाइएको उनको भनाइ छ । तालिमपछि च्याउ खेती सुरु गर्न आवश्यक बिउ र अन्य सामग्रीसमेत उपलब्ध गराइने निरौलाले जानकारी दिए । 

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष छत्रबहादुर सुब्बाले स्थानीय तहले कृषि र साना उद्यम प्रवर्द्धनलाई प्राथमिकतामा राखेर काम गरिरहेको उल्लेख गरे । आधुनिक कृषि प्रणाली अपनाउन सके स्थानीयस्तरमै रोजगारी सिर्जना गर्न सकिने र च्याउ खेती गाउँका लागि राम्रो आम्दानीको स्रोत बन्न सक्ने उनको भनाइ छ । स्थानीयस्तरमा सिप र वित्तीय ज्ञान जोडेर स्वरोजगार प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरेको बताइएको छ ।

See More On

सुझावित समाचार