सिटिजन्स बैंकको साधारणसभाबाट ६२ करोड लाभांश अनुमोदन

बिहिबार, २९ असोज, २०८३
प्रिन्ट संस्करण

काठमाडौं/ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको साधारणसभाबाट गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई वितरण गर्ने प्रस्ताव गरिएबमोजिम ६२ करोड रुपैयाँभन्दा बढी लाभांश पारित गरेको छ ।

बैंकको बुधबार सम्पन्न २०औँ वार्षिक साधारणसभाले गत आवका लागि चुक्तापुँजीको ३.८० प्रतिशत अर्थात् ५८ करोड ९२ लाख ८३ हजार रुपैयाँभन्दा बढीको बोनस सेयर र कर प्रयोजनका लागि ०.२० प्रतिशत अर्थात् तीन करोड १० लाख १४ हजार रुपैयाँ गरी कुल ६२ करोड दुई लाख ९८ हजार रुपैयाँबराबरको लाभांश पारित गरेको हो ।

असार मसान्तसम्म बैंकको चुक्तापुँजी १५ अर्ब ५० करोड ७४ लाख ६३ हजार छ । बैंकले आव ०६५/६६ बाट लगातार लाभांश वितरण गर्दै आएको छ । बैंकको २० वर्षको औसत लाभांश १०.०८ प्रतिशत रहेको बताइएको छ । 

साधारणसभा बैंक सञ्चालक समितिका अध्यक्ष प्रवलजंग पाण्डेको अध्यक्षतामा भएको थियो । सो सभाले गत आवको सञ्चालक समितिको वार्षिक प्रतिवेदनसहित लेखापरीक्षकको प्रतिवेदन, गत असार मसान्तसम्मको नाफा नोक्सानीको हिसाब तथा नगदप्रवाह विवरणलगायतका एकीकृत वित्तीय विवरण छलफल गरी स्वीकृत गरेको छ । 

अध्यक्ष पाण्डेले भविष्यमा बैंकले अझ बढी प्रगति हासिल गर्ने बताए । उनले संस्थागत सुशासन तथा अनुपालनाको स्तरलाई बैंकले सधैँ महŒव दिँदै बताउँदै आगामी दिनमा समग्र बैंकको संस्थागत सुशासन तथा अनुपालनाको अवस्थालाई थप सबल तथा सुदृढ बनाउँदै जाने प्रतिबद्घ जनाए । 

सुझावित समाचार