नयाँ सरकार नयाँ नियम, सीमावासी कामविहीन

मंगलबार, २९ बैशाख, २०८३
डिजिटल संस्करण

नयाँ सरकार आएसँगै तातोपानी भन्सारले मितेरीपुलकाे यात्रुशाखामा नयाँ नियम लागू गरेको छ । उक्त नियमले सीमा क्षेत्रका स्थानीय कामविहीन भएका छन् ।धेरै पहिलेदेखि चीनकाे खासा र नेपालकाे तातोपानी सीमामा स्थानीयबिच राेटीबेटीकाे सम्बन्ध छ ।

नेपाली सीमावर्ती स्थानीय  तातोपानी, लिस्ती, फुल्पिङकट्टी, मार्मिङ र बाह्रबिसेसम्मका स्थानीयले लिपिङपारि चिनियाँ क्षेत्रमा पुगेर विभिन्न घरायसी सामग्री ल्याउँछन् । उसैगरी खासा र न्यालमका स्थानीयले पनि नेपालबाट विभिन्न घरायसी सामान लान्छन् । सीमा क्षेत्रका स्थानीयकाे प्रमुख आयस्रोत भनेकै झाेलेपाेके व्यापार हाे । भाैगाेलिक कारण यहाँ खेतीपाती हुँदैन।

नयाँ सरकारले नयाँ नियम लागू गरेसँगै झाेलेपाेके व्यापार ठप्प भएकाे हाे । तातोपानी भन्सारका अधिकृत रमेशबहादुर शाहका अनुसार क्वारेन्टाइन नभएका सामान ल्याउन राेकेकाे हाे । ‘प्लान्ट र खाद्य क्वारेन्टाइनले अनुमति नदिएका सामान ल्याउन राेकिएकाे हाे,’ शाहले भने, ‘भ्याटमा दर्ता भएका व्यावसायिक फर्मलाई मात्रै नेपाल सरकारकाे नियममा क्वारेन्टाइन अनुमति छ ।’ उनले थप स्पष्ट पार्दै भने,  ‘खाद्य पदार्थजन्य सामग्रीबाहेक अन्य घरायसी सामान पाँच हजारबराबर मूल्यसम्म यात्रुशाखामा भन्सार गरेर आयात भइरहेकाे छ ।’ उनले त्यसाे भने  पनि एक  महिनादेखि नाकाबाट कुनै पनि सामग्री ल्याउन दिएको छैन ।

सीमावर्ती स्थानीयकाे राेजीराेटीलाई मध्यनजर गरेर चिनियाँ क्षेत्रमा खुद्रा पसल सञ्चालनमा छन् । जहाँ घरायसी सामग्री  खाद्य, तरल, विद्युतीय र खुद्रा सरसामान राखिएको छ । नयाँ सरकारले क्वारेन्टाइनविना सामग्री ल्याउन राेक लगाएपछि चिनियाँ क्षेत्रमा रहेका खुद्रा पसल धमाधम विस्थापित हुन थालेका छन् ।

चिनियाँ बजारमा काम गर्ने नेपाली पनि घर फर्केका छन् । नयाँ नियम लागू हुनुअघि पाँच हजार मूल्यबराबरको सामान भन्सार गरेर ल्याउने प्रचलन थियाे । ‘नयाँ सरकार बनेपछि नाकाबाट कुनै पनि सामान ल्याउन दिएको छैन,’ स्थानीय झाेलेपाेके व्यापारी पेमा तामाङले भनिन् । सरकारी नियमले हातमुख जाेड्ने माध्यममाथि हमला गरेकाे उनले बताइन् ।

झाेलेपाेके व्यापार ठप्प भएपछि लिपिङ, काेदारी र तातोपानीका खुद्रा पसल धमाधम हट्न थालेका छन् । ‘तल भाेटेकाेशी नदीमाथि चट्टाने भिर छ । यहाँ खेतीपाती छैन । हामीले कसरी गुजारा गर्ने ? बालबच्चा कसरी पढाउने ?’ उनले प्रश्न गरिन् । झाेलेपाेके व्यापारीले चिनियाँ पसलबाट खरिद गरेर ल्याएको धेरै सामग्री यात्रुशाखामा राेकिएकाे र ती सामान कुहिने अवस्थामा पुगेकाे छ । खाद्य र प्लान्ट क्वारेन्टाइन गरेर सामान ल्याउन पाउनुपर्ने साना तथा स्थानीय झाेलेपाेके व्यापारीकाे माग छ । ठुला व्यापारिक फर्मलाई मात्रै क्वारेन्टाइन अनुमति दिँदा स्थानीय साना व्यापारीकाे राेजीराेटी गुम्छ ।

सुझावित समाचार