लगातार परेको असिनापानी र बाढीले सल्यानमा कृषि बाली, फलफूल खेती र पूर्वाधारमा ठुलो क्षति पुर्याएको छ। विशेषगरी शारदा नदी र विभिन्न खहरे खोलामा आएको बाढीले बागचौर नगरपालिका र छत्रेश्वरी गाउँपालिकाका विभिन्न वडामा व्यापक असर पारेको हो।
बाढीका कारण बागचौर नगरपालिका ६, ७, ८, ९, १० तथा छत्रेश्वरी गाउँपालिका १ र २ का वडामा लगाइएका फलफूल, हिउँदेबाली र विकास योजनामा क्षति पुगेको स्थानीय तहले जनाएका छन्।
प्रारम्भिक विवरणअनुसार दुई दर्जनभन्दा बढी सडक, खानेपानी, सिँचाइ कुलो तथा तटबन्ध संरचना क्षतिग्रस्त भएका छन्। साथै करिब एक सय रोपनीभन्दा बढी क्षेत्रफलमा लगाइएको पाकेको गहुँ, तरकारी, सुन्तला, किवी, टिमुरलगायतका बाली नष्ट भएका छन्।
बागचौर नगरपालिका– ७ दहगाउँका कृषक दिपेश डिसीका अनुसार चारपटकसम्म परेको असिनापानीले मात्रै करिब ११ लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ। उनका अनुसार चार सयभन्दा बढी सुन्तला बोट, १५० किवी बोट तथा ६ रोपनीमा लगाइएको आलुलगायतका बाली पूर्ण रूपमा नष्ट भएका छन्।
त्यस्तै, बागचौर नगरपालिका– ६ का वडाध्यक्ष ज्ञानबहादुर वलीले बाढी र असिनाले धेरै किसानको मुख्य आम्दानी स्रोतमा गम्भीर असर परेको बताए। उनका अनुसार गत वर्ष ५० लाख रुपैयाँको लागतमा निर्माण गरिएको हिमचौर खानेपानी योजनामा पनि क्षति पुगेपछि करिब १२० घरपरिवार प्रभावित भएका छन्।
यस्तै बागचौर नगरपालिका– ९ का वडाध्यक्ष यज्ञबहादुर डाँगीका अनुसार वडाभित्रका करिब तीन दर्जन नयाँ तथा पुराना सडक र खानेपानी योजनामा क्षति पुगेको छ। उनले सुन्तला उत्पादनका लागि प्रसिद्ध यस क्षेत्रमा करोडौँ रुपैयाँबराबरको उत्पादन नष्ट भएको बताए।
बागचौर नगरपालिका कृषि विकास शाखा प्रमुख घनश्याम केसीका अनुसार नगरपालिकामा मात्र ठुलो क्षति भएको छ भने अन्य पालिकामा सामान्य क्षति देखिएको छ। उनका अनुसार क्षतिको विस्तृत विवरण संकलन भइरहेको छ। यसअघि असिनापानीबाट प्रभावित २०२ किसानको क्षतिपूर्तिका लागि विवरण सम्बन्धित निकायमा पठाइसकिएको र थप क्षतिको विवरण संकलन कार्य जारी रहेको उनले बताए।
यसैबिच, शनिबार शारदा नदीमा आएको बाढीले खोलाकिनारमा गहुँ लोड गरिरहेको एक ट्याक्टर बगाउनुका साथै एक शवसमेत बगाएको स्थानीयले बताएका छन्।