मौसमविद्ले १८ जेठदेखि १४ असोजसम्म निकै कम पानी पर्ने प्रक्षेपण गर्नुले कृषि उत्पादनमा कस्तो असर पर्न सक्छ ?
मनसुनको समयमा कम पानी पर्ने प्रक्षेपण गरिनुले खेतीपातीमा असर त पर्ने नै भयो । धानबाली लगाउने समयमा कम पानी परेपछि राष्ट्रिय अर्थतन्त्रमै नकारात्मक असर पर्न सक्छ । तर, यसबाट जोगिनका लागि गर्नुपर्ने पूर्वतयारीको अवस्था भने लथालिंग छ । तीनै तहका सरकार यसबाट निम्तिन सक्ने सम्भावित दुष्परिणामप्रति बेखबरजस्तै देखिन्छन् । यसबारे किसानलाई सुसूचित गराउने कार्यमा पनि तीनै तहका सरकारको खासै ध्यान गएको देखिन्न ।
नार्कले सिफारिस गरेका खडेरी सहन सक्ने धानका बिउ किसानसम्म कसरी पुर्याउन सकिएला ?
हाम्रा सरकारी संरचना निकम्मा छन् । माथि अनुसन्धान भएको विषय तल किसानसम्म पुग्दैपुग्दैन । पहिले जिल्ला कृषि विकास कार्यालय र कृषि सेवा केन्द्रले गाउँगाउँका कृषक समूहलाई संगठित गरी आवश्यक बिउबिजन, मलखाद तथा प्राविधिक सहयोग पुर्याउने गर्थे । तर, देश संघीयतामा गइसकेपछि यो ‘मेकानिज्म’ भत्किएको छ । निजी क्षेत्र नाफा बढी हुने ठाउँमा मात्र जान्छ । जसले गर्दा किसान बढी फल्ने नाममा वर्णशंकर या नपुंसक बिउमा भर पर्ने अवस्था आउन सक्छ । देशका ७५३ कृषि शाखाले मध्यस्थता गरिदिए मात्र पनि किसानलाई सम्भावित संकटबाट जोगाउन सकिन्छ ।
सम्भावित सुक्खासँग जुध्न तीनै तहका सरकार र किसानले केकस्तो तयारी गर्नुपर्ला ?
अहिले हरेक किसानको हातमा प्रविधि पुगेको समयमा उनीहरूले सम्भावित सुक्खाबारे सूचना पाएकै हुन्छन् । यस्तोमा उनीहरू स्वयंले पनि यसबाट जोगिने उपायबारे सोधखोज गर्नुपर्ने हुन्छ । राज्यले पनि सम्भावित उपायबारे किसानलाई जानकारी गराउनुपर्छ । अहिले धानको बिउ राख्ने समय भइरहेको हुनाले किसानलाई सुक्खा सहने जातका बिउबिजन उपलब्ध गराउने कार्यमा स्थानीय सरकारको विशेष ध्यान जानु जरुरी छ ।