काठमाडौं उपत्यकामा सुकुमवासी बस्ती खाली गराउँदा विस्थापित भएकालाई तारकेश्वरको इचंगुनारायणस्थित अपार्टमेन्टमा राख्न थालिएको छ । होटेल तथा होल्डिङ सेन्टरमा रहेकामध्ये ४० परिवारका ९३ जनालाई शुक्रबार अपार्टमेन्टमा लगेर राखिएको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले जनाएको छ । यसअघि उनीहरू काठमाडौंका विभिन्न होटेलमा थिए । लामो अवधिसम्म होटेलमा राख्दा खर्च धेरै हुने भएको हुँदा उनीहरूलाई अपार्टमेन्टमा लगेर राखिएको एकीकृत विकास समितिका सूचना अधिकारी उद्धव नेपालले बताए ।
‘होटेलमा खर्च धेरै हुने भयो । त्यसो हुँदा केही सुकुमवासी परिवारलाई अपार्टमेन्टमा लगेर राखिएको छ,’ उनले भने, ‘अन्यको सम्बन्धमा भने माथि नै बुझ्नु होला ।’ सरकारले गत १२ वैशाखदेखि काठमाडौं उपत्यकाभित्रका नदीकिनारमा बसेका सुकुमवासी बस्ती हटाउँदै आएका छ । यसक्रममा पाँच हजारभन्दा धेरै घरपरिवार नदीकिनारबाट विस्थापित भएका छन् । उनीहरूलाई अहिले काठमाडौंका गेस्टहाउस, होटल, होल्डिङ सेन्टरलगायतका ठाउँमा राखिएको छ ।
प्रत्येकको स्क्रिनिङ गरेर आवासको व्यवस्था गरिनेछ । त्यसका लागि प्रत्येक विस्थापितलाई तोकिएको ठाउँमा नाम टिपाउन भनिएको छ । बागमती सभ्यता एकीकृत विकास समितिका अनुसार उनीहरूमध्ये दुई हजार ६१६ परिवारका ११ हजार एकजनाले तोकिएको ठाउँमा नाम टिपाएका छन् । ‘नाम टिपाउने क्रम जारी छ । संख्या अझै बढ्न सक्छ,’ नेपालले भने ।
सरकारले बागमती नदीकिनारस्थित थापाथली, बल्खु, शंखमूल, धोबीखोलास्थित अनामनगर, कपन, विष्णुमती नदीस्थित बलाजुलगायत क्षेत्रमा रहेका सुकुमवासी बस्ती हटाएको छ । बस्तीमा डोजर चलाउँदा विस्थापित भएकामध्ये केही परिवार खुला चौरमा टाँगिएको टेन्टमा छन् ।