प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा सिफारिस
संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा सर्वोच्च अदालतका न्यायाधीश डा. मनोजकुमार शर्माको नाम सिफारिस गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बिहीबार बसेको बैठकले ३३औँ प्रधानन्यायाधीशमा चौथो वरीयतामा रहेका डा. शर्मालाई सिफारिस गरेको हो।
तत्कालीन प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत ६५ वर्षे उमेरहदका कारण १८ चैतमा अवकाश भएका थिए। न्यायपरिषद्ले सिफारिस गरेकामध्येबाट शर्माको नाममा प्रधानमन्त्री बालेन्द्र शाह, कानुनमन्त्री सोविता गौतम, सभामुख डोलप्रसाद अर्याल र उपसभामुख रुबीकुमारी ठाकुर सहमत भएका हुन्।
परिषद्ले २६ फागुनमा वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीशहरू कुमार रेग्मी, हरि फुँयाल, डा. शर्मा, डा. नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको नाम सिफारिस गरेको थियो।
डा. शर्मा संसदीय सुनुवाइ समितिबाट अनुमोदित भएपछि प्रधानन्यायाधीश नियुक्त हुनेछन्।
पूर्वअर्थमन्त्री ज्ञानेन्द्र कार्कीसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। पोखरा विमानस्थलको अनियमिततामा उनीसहित तत्कालीन सचिवलगायतविरुद्ध मुद्दा दायर भएको हो।
तीन अर्ब ६२ करोड पाँच लाख बिगो कायम गरी मुद्दा दायर भएको हो।
आयोगले तत्कालीन अर्थसचिव शंकर अधिकारी, तत्कालीन पर्यटनसचिव महेश्वर न्यौपोने, पूर्वसचिव केवल भण्डारी, सुरेश आचार्य, नागरिक उड्डन प्राधिकरणका पूर्वमहानिर्देशक संजीव गौतम, प्रदीप अधिकारीलगायतविरुद्ध मुद्दा दायर गरेको हो। पोखरा विमानस्थलको निर्माणमा चिनियाँ कम्पनीलाई नियमविपरीत कर छुट दिने निर्णय गरेर नीतिगत भ्रष्टाचार गरेको अभियोग अख्तियारको छ।
स्विटजरल्यान्डबाट जगदीश खरेलले भने– ममाथि मिडिया ट्रायल भयो, कानुनी उपचार खोज्छु
प्रतिनिधिसभाका सांसद जगदीश खरेलले आफूमाथि मिडिया ट्रायल भएको बताएका छन् । बिहीबार सामाजिक सञ्जालमार्फत उनले आफू स्विटजरल्यान्डमा रहेको र केही सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा आफ्नो नाम जोडेर नियोजित रूपमा ‘फेक न्युज’ फैलाइएको आरोप लगाए।
निषेधित क्षेत्रमा विनाअनुमति चिनियाँ पर्यटक लैजाने ट्रेकिङ कम्पनीलाई ५० हजार जरिवाना
निषेधित क्षेत्रमा अनुमतिविना दुई चिनियाँ पर्यटकलाई लैजाने ट्रेकिङ कम्पनीलाई अध्यागमन विभागले कारबाही गरेको छ। स्नोई होइजन ट्रेक्स एन्ड एक्सिपिडिन कम्पनीलाई विभागले ५० हजार रुपैयाँ जरिवाना तिराएको हो।
सो कम्पनीले दुई चिनियाँ पर्यटकलाई विनाअनुमति संखुवासभाको भोटेखोला क्षेत्रमा पदयात्रामा लगेको थियो। अनुमतिपत्र नभएपछि सुरक्षाकर्मीले २२ वैशाखमा नियन्त्रणमा लिएको थियो। नियन्त्रणमा लिएपछि मात्र उनीहरूले अनुमतिपत्र लिएको देखिएपछि त्यो विभागले रद्द गरेको छ। साथै, साइडलाई पनि कारबाहीका लागि पर्यटन विभागमा पत्राचार गरिएको विभागका निर्देशक टीकाराम ढकालले बताए।
अनु हत्या प्रकरणमा निभाको बयान– म आफैँ महिला हुँ, सानैदेखि महिलाप्रति आकर्षण थियो
दाङको बबई गाउँपालिका– ४, चितलगैरा सामुदायिकस्थित वनमा मृत भेटिएकी सोही ठाउँकी १४ वर्षीया किशोरी अनु खत्री मृत्यु प्रकरणमा धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका– ८ निवासी २७ वर्षीया नवीन भनिने निभा साहलाई पक्राउ गरी अनुसन्धान गरिएको छ ।
उनीविरुद्धको अनुसन्धान सकेर हाल अदालतमा मुद्दा चलिरहेको छ । सरकारी वकिल कार्यालय दाङले १५ वैशाखमा अदालतमा मुद्दा पेस गरेको थियो । त्यस क्रममा निभाले प्रहरीसँग आफू महिला भएको बयान दिएकी छिन् । ‘म महिला हुँ, म सानो उमेरदेखि महिलाप्रति आकर्षण हुन्थ्यो,’ उनको बयान छ, ‘त्यसैले म यौन तथा लैंगिक अल्पसंख्यक समुदाय‘एलजिबिटिक्यू’मा समेत आबद्ध थिए।’
भ्रष्टाचार मुद्दा दायर भएसँगै गण्डकी प्रदेशका प्रमुख सचिव निलम्बित
गण्डकी प्रदेशका प्रमुख सचिव डन्डुराज घिमिरेविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। पोखरा विमानस्थल निर्माणमा कर छुटसम्बन्धि अनियमिततामा उनीसहित १३ जनाविरुद्ध बिहीबारअख्तियार दुरुपयोग अनुसनधान आयोगले बिशेष अदालतमा मुद्दा दायर गरेको हो।
मुद्दा दायर भएसँगै घिमिरे निलम्बनमा परेका छन्। पर्यटन मन्त्रालयमा सहसचिवका रुपमा काम गरेका बेला उनी करछुटसम्बन्धि अनियमिततामा संलग्न भएको अख्तियारको दाबी छ।
लुटेराको बहादुरीसाथ प्रतिकार गर्ने महिला आइजिपीबाट सम्मानित
प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नैना एन्ड ईशान ज्वेलर्समा लुटपाट गर्न आएका व्यक्तिहरूविरुद्ध प्रदर्शन गरेको साहसिक कार्यको कदर गर्दै ज्वेलर्समा कार्यरत काठमाडौं महानगरपालिका– २२ वटु बस्ने सञ्जिता शाक्यलाई सम्मान गरेका छन् । नेपाल प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित विशेष कार्यक्रमबिच प्रहरी महानिरीक्षक कार्कीले उहाँलाई कदरपत्र प्रदान गरी सम्मान गरेका हुन्।
वीर अस्पतालको निमित्त निर्देशकमा डा. प्रभा कोइराला
स्वास्थ्य मन्त्रालयले वीर अस्पतालको निमित्त निर्देशकको जिम्मेवारी प्राडा प्रभा कोइरालालाई दिएको छ। यसअघि निर्देशक रहेका दिलीप शर्माले राजीनामा दिएसँगै कोइरालालाई जिम्मेवारी दिइएको मन्त्रालयले जनाएको छ।
नेप्से ७ अंकले बढ्दा कारोबार रकम तीन अर्बभन्दा कम
बिहीबार नेप्से परिसूचक सामान्य अंकले बढ्दा कारोबार रकम भने तीन अर्बभन्दा तल झरेको छ। नेप्से ६.९४ अंकले बढेर दुई हजार ७१८.१६ विन्दुमा कायम भएको हो।
आज ३३४ कम्पनीको ६६ लाख ८४ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा दुई अर्ब ९३ करोड १९ लाख ६८ हजार रुपैयाँबराबरको कारोबार भएको छ। बुधबार तीन अर्ब १९ करोडको सेयर कारोबार भएको थियो।
अभ्यास खेलमा स्कटल्यान्डविरुद्ध नेपाल ‘ए’ विजयी
पहिलो अभ्यास एकदिवसीय खेलमा नेपाल ‘ए’ले स्कटल्यान्डमाथि ४५ रनको जित निकालेको छ। २७८ रनको लक्ष्य पछ्याएको स्कटल्यान्डले ४८.२ ओभरमा अलआउट हुँदा मात्र २३२ रन जोड्न सक्यो।
जवाफी ब्याटिङ गरेको स्कटल्यान्डका लागि फिन्ले म्याक्रेथले अर्धशतक बनाए। उनले ७३ बलमा ५२ रन जोड्दा ज्याक जार्भिस ४५, मार्क वाट ३७, मेथ्यु क्रस २२ र ब्राडन मेकमुलन २१ रन जोडेर पेभेलियन फर्किए।