व्यवसायीहरूले एमआरपी कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउँदै भैरहवा भन्सारबाट सामान छुटाउन थालेका छन् । विदेशबाट आयात गरिने तयारी वस्तुमा भन्सार विन्दुमै अनिवार्य अधिकतम खुद्रा मूल्य (एमआरपी) कार्यान्वयन गर्न दबाब बढेपछि भैरहवा नाकाबाट हुँदै आएको आयात केही दिन प्रभावित भएको थियो ।
सरकारले सार्वजनिक सूचना जारी गर्नुपूर्व भारत तथा तेस्रो मुलुकबाट आयात गरिएका सामानहरूमा एमआरपी कार्यान्वयनमा जटिलता देखिएकोले केही दिन प्रभावित बनेको नेपाल भन्सार एजेन्ट संघ, सिद्धार्थनगरका अध्यक्ष मधुप्रसाद पन्थीले बताए ।
‘जापान, चीनलगायतका मुलुकबाट आयात गरिएका सामान भन्सार नाकामै आउन महिनौँ लाग्छ । तर, एमआरपी लागू छोटो सूचनाका आधारमा भयो,’ पन्थीले भने, ‘जसले गर्दा टाढाबाट आयात गरिएका सामानहरूमा कार्यान्वयन गर्न जटिलता भयो ।’ उनले भारतका टाढाबाट आउने सामान पनि एमआरपी कार्यान्वयन हुनुअघि नै लोड भएर नेपालतर्फ आएकाले समस्या भएको सुनाए । सरकारले १५ वैशाखदेखि भन्सार विन्दुमै एमआरपी कार्यान्वयन सुरु गरेको थियो । चैत ३० मा वाणिज्य विभागले सूचना जारी गर्दै उक्त नियम लागू गर्ने जनाएको थियो ।
वाणिज्य विभागको पत्रपछि भन्सार कार्यालयले मुख्य विन्दुमै अनिवार्य एमआरपी कार्यान्वयन गर्न खोज्दा पछिल्लो एक साता पेट्रोलियम पदार्थ, औद्योगिक कच्चा पदार्थ र तरकारी तथा फलफूलबाहेक अन्य वस्तु तथा सामानको भन्सार जाँचपास न्यून भइरहेको छ । नजिकका भारतीय बजारबाट आयात गरिएका तयारी सामानहरू जाँचपास भए पनि तेस्रो मुलुक र भारतकै टाढाबाट आयात गरिएका वस्तुको जाँचपास प्रभावित भएको भन्सारले जनाएको छ ।
व्यवसायीले छोटो अवधि दिएको भन्दै असन्तुष्टि जनाएका थिए । सिद्धार्थनगर उद्याेग वाणिज्य संघका अध्यक्ष नेत्र आचार्यले तत्कालका लागि भैरहवा भन्सारमा एआरपी कार्यान्वयन गर्दछौँ भन्ने प्रतिबद्धता जनाएर सामान छुटाएको अवस्था छ । व्यवसायीहरूले गोदाममा लगेर लगानीको हिसाब जोडेर एमआरपी लगाएर सामान बजारमा पठाउने अध्यक्ष आचार्यले बताए । अहिलेको अवस्थामा डलरको भाउ, पेट्राेलियम पदार्थको भाउ, ढुवानी भाडा सबै जोडेर व्यवसायीले एमआरपी लागू गर्ने उनले बताए ।