संविधानको धारा १२९ मा प्रधानन्यायाधीशको योग्यता तोकिएको छ । जहाँ सर्वोच्च अदालतको न्यायाधीश पदमा कम्तीमा तीन वर्ष काम गरेको व्यक्ति प्रधानन्यायाधीशको पदमा नियुक्ति हुन योग्य हुने भनिएको छ । वरिष्ठ न्यायाधीशलाई नै प्रधानन्यायाधीश बनाउनुपर्ने संवैधानिक बाध्यता छैन ।
न्यायपरिषदबाट सिफारिस भएका ६ जना नै प्रधानन्यायाधीश बन्न योग्य छन् र जसलाई बनाए पनि संविधानले रोक्दैन । यद्यपि, सर्वोच्च अदालतमा वरिष्ठतम न्यायाधीशलाई प्रधानन्यायाधीश बनाउने परम्परा रहिआएको छ । अहिलेको संवैधानिक परिषद्ले संवैधानिक व्यवस्थाअनुसार ६ मध्ये जोकोहीलाई प्रधानन्यायाधीश बनाउँछ कि वरिष्ठतम न्यायाधीशलाई भन्ने आमचासोको विषय बनेको छ । प्रधानन्यायाधीशको पदावधि ६ वर्षको छ भने उमेरहद ६५ वर्ष रहेको छ ।
न्यायपरिषद्का अनुसार वरिष्ठतम न्यायाधीश मल्लको ३० कात्तिक ०८५, रेग्मी २१ भदौ ०८८, फुयाँल १९ असोज ०९२, शर्मा ५ असार ०९२, सुवेदी ७ असार ०९३ र श्रेष्ठको १३ भदौ ०८३ सम्म सेवाअवधि छ । वरिष्ठतम न्यायाधीश मल्ल प्रधानन्यायाधीश भए झन्डै साढे तीन वर्ष सर्वोच्च हाँक्नेछिन् । ६ नम्बरमा रहेका श्रेष्ठ प्रधानन्यायाधीश भए उमेरहदका कारण जम्मा पाँच महिना प्रधानन्यायाधीश हुनेछन् ।