रारा गोल्डकपको उपाधि बिर्तामोड युनाइटेड क्लब झापालाई

बुधबार, २३ बैशाख, २०८३
डिजिटल संस्करण

धनकुटाको चौबिसे राजारानीमा सम्पन्न १३औँ संस्करणको रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि बिर्तामोड युनाइटेड क्लब झापाले उचालेको छ।चौबिसेको राजारानी खेलमैदानमा आज सम्पन्न भएको फाइनल खेलमा आयोजक रारा फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा ५–४ गोलअन्तरले पराजित गर्दै बिर्तामोड युनाइटेड क्लबले दोस्रोपटक उपाधि जितेको हो ।

उपाधि जितेसँगै विजेता बनेको बिर्तामोड युनाइटेड क्लबले नगद सात लाख हात पार्न सफल भयो भने उपविजेता आयोजक रारा क्लबले नगद तीन लाख रुपैयाँमा चित्त बुझायो । निर्धारित समय १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। खेलको दोस्रो हाफको ३३औँ मिनेटमा आयोजकका मनिकुमार लामाले पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई अग्रता दिएका थिए।

खेलको अतिरिक्त समयमा अन्त्यतिर बिर्तामोडका प्रशान्त लक्षमले फ्री–किकमार्फत गोल गर्दै खेल बराबरीमा पुर्याएका थिए । पेनाल्टीमा सुटआउटमा बिर्तामोडका सञ्जय लिम्बू, दिवस उराउ, प्रशान्त लक्षम, मौसम सुब्बा र विवेक पौडेलले गोल गरे भने आयोजकको तर्फबाट किरण चेम्जोङ, मनिकुमार लामा, शिशिर लेखी र विशाल भण्डारीले मात्र गोल गरे । दिपेश गुरुङको प्रहार बिर्तामोडका गोलकिपर अभिषेक बरालले रोकका थिए।

खेलको म्याद अफ दी म्याच झापाका प्रशान्त लक्षम घोषित भए। उनले सात हजार रुपैयाँ प्राप्त गरे। खेलको उदीयमान खेलाडी आयोजकका लोकेन्द्र चेम्जोङ घोषित भए । त्यस्तै, झापाका अभिषेक बराल उत्कृष्ट गोलकिपर, प्रतियोगिता अवधिभर चार गोल गर्न सफल झापाका राजेश दाहाल सर्वाधिक गोलकर्ता बन्न सफल भएका छन् । उनीहरूले नगद ११ हजारका दरले पुरस्कार प्राप्त गरे। सर्वाेत्कृष्ट खेलाडी राष्ट्रिय टिमका कप्तान तथा गोलकिपर किरण चेम्जोङ घोषित हुँदै २५ हजार रुपैयाँ प्राप्त गरे ।
    
 

सुझावित समाचार