बिपी राजमार्गको रोशी खण्ड राति १२ घण्टा बन्द

बुधबार, २३ बैशाख, २०८३
डिजिटल संस्करण

बिपी राजमार्गअन्तर्गत रोशी खण्डमा जोखिम बढेसँगै अनिश्चितकालका लागि राति १२ घण्टा यातायात सञ्चालनमा रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले मंगलबार सूचना जारी गर्दै साँझ ५ देखि भोलिपल्ट बिहान ५ बजेसम्म भकुन्डेबेँसीदेखि खुर्कोटसम्म यातायात सञ्चालनमा रोक लगाएको हो ।

प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले मंगलबार बेलुकादेखि नै बाटो बन्द गर्न थालिएको बताए । उनका अनुसार अब अर्को सूचना जारी नहुँदासम्म साँझ ५ देखि बिहान ५ बजेसम्म दैनिक १२ घण्टा राजमार्ग बन्द गरिनेछ । सोमबार बिचबाटोमा पुगेर एउटा गाडी बिग्रिएपछि अरू गाडी पनि फसेको र गाडी बनाउँदाबनाउँदै रोशी खोलामा बाढी आएको भन्दै उनले त्यो अवस्था फेरि उत्पन्न नहोस् भन्नका लागि यस्तो निर्णय गरिएको उनले बताए । 

‘आजभोलिको मौसम कति वेला पानी पर्छ भन्ने टुंगो नलाग्ने खालको छ । त्यसैले बिपी राजमार्गको रोशी खण्डमा बाढीको जोखिम उच्च छ । कच्ची भएकाले यो सडक यात्राका लागि असुरक्षित छ । त्यही भएर हामीले राति गाडी चलाउन बन्द गरेका हौँ,’ अधिकारीले भने, ‘मौसम विज्ञान विभागले तत्काल पानी पर्दैन भनेपछि वस्तुस्थिति हेरेर मात्रै थप निर्णय गर्छौँ ।’ 

रोशी खोलाको तटीय क्षेत्रमा भारी वर्षाका कारण सोमबार बाढी आई बिपी राजमार्गको अस्थायी डाइभर्सन बगाएपछि राजमार्ग अवरुद्ध हुँदा सयभन्दा बढी सवारीसाधन अलपत्र परेका थिए । ती सवारीसाधनलाई अस्थायी डाइभर्सन बनाएर मंगलबार काठमाडौं पठाइएको छ । बाढीमा फसेका ८९ जनालाई सोमबार राति उद्धार गरिएको थियो ।

०८१ मा आएको बाढीपहिरोले बिपी राजमार्गको चौकीडाँडादेखि नेपालथोकसम्म विभिन्न ठाउँमा सडक बगाएको थियो । बाढीले बगाएको राजमार्ग विभिन्न चार खण्डमा पुनर्निर्माण भइरहेको छ । सडक पुनर्निर्माण भइरहँदा रोशी खोलाको किनारैकिनार भएर बगरमा अस्थायी डाइभर्सन बनाएर यातायात सञ्चालन गरिएको छ । रोशी खोलाको बहाव बढ्नेबित्तिकै डाइभर्सन बगाउने गरेको छ । 

पहिरोले एक्स्काभेटर पुर्दा चालकको मृत्यु
मध्यपहाडी लोकमार्ग बनाउने क्रममा ढुंगासहितको पहिरोले एक्स्काभेटर पुरिँदा चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसर एक्स्काभेटरचालक रौतहटको पौराही गाउँपालिका– ३ का ४१ वर्षीय दिलीप इस्मालीको मृत्यु भएको हो । चौरीदेउराली गाउँपालिका– ७ टाडीगाउँस्थित मध्यपहाडी लोकमार्गको सडकखण्डमा ट्र्याक खन्ने क्रममा माथिबाट ढुंगासहितको ढिस्को खस्दा बा२क २७९२ नम्बरको एक्स्काभेटर पुरिएर चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सुझावित समाचार