इन्टर मिलान २१औँपटक इटालियन सिरी ‘ए’ च्याम्पियन

मंगलबार, २२ बैशाख, २०८३
डिजिटल संस्करण
  • तीन खेलअघि इन्टर मिलानले उपाधि जित्दा साबिक विजेता नेपोलीसँग शीर्ष स्थानमा १२ अंकको लियो अग्रता

इन्टर मिलान २१औँपटक सिरिए ‘ए’ लिग च्याम्पियन बनेको छ । इन्टर मिलानले तीन खेलअगाडि उपाधि हात पारेको छ । उपाधि हात पार्ने क्रममा आइतबार राति इन्टर मिलानले पार्मालाई २–० ले हरायो । च्याम्पियन बन्न इन्टर मिलानलाई एक अंकको आवश्यकता थियो । घरेलु मैदान सान सिरोमा विपक्षी पार्मालाई हराउँदै सानदार ढंगले उपाधि जित्यो । इन्टर मिलानको जितमा मार्कस थुराम र हेनरिक मखितार्यानले एक–एक गोल गरेका थिए । इन्टर मिलानले साबिक विजेता नोपोलीभन्दा १२ अंकको स्पष्ट अग्रता बनाएको छ ।

फ्रान्सेली स्ट्राइकर मार्कसमले पहिलो हाफको इन्जुरी समयमा इन्टर मिलानलाई १–० को अग्रता दिलाए । खेलको ८०औँ मिनेटमा वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका लाउटारो मार्टिनेजको पासमा मखितार्यानले इन्टर मिलानलाई २–० को जित दिलाए । खेल सकिएपछि मैदानमा निला र सुनौला रिबनहरू उडाइएको थियो । इन्टर मिलानका प्रशिक्षक क्रिस्टियन चिभुका लागि प्रशिक्षकका रूपमा यो पहिलो महत्वपूर्ण उपाधि हो । एक खेलाडीका रूपमा उनले इन्टर मिलानबाटै तीनपटक सिरी ‘ए’ लिग जितेका थिए । सिरी ‘ए’ लिगको १२औँ स्थानमा रहेको पार्माविरुद्ध इन्टर मिलानले पूरै खेल नियन्त्रणमा राखेको थियो । उसले खेलमा ५९ प्रतिशत बल पोसेसन बनाएको थियो । इन्टर मिलानले विपक्षीको पोस्टमा १२ पटक आक्रमण गर्यो । पछिल्ला ६ खेलमा मात्र १९ गोल गरेको इन्टर मिलानले ३५ मध्ये २६ खेलमा जित निकालेको छ ।

म्यानचेस्टर युनाइटेड च्याम्पियन्स लिगमा
म्यानचेस्टर युनाइेटडले सोमबार राति रोमाञ्चक प्रतिस्पर्धामा लिभरपुललाई ३–२ ले निराश बनाएको छ । जितसँगै युनाइटेड दुई वर्षपछि युरोपको प्रतिष्ठित फुटबल प्रतियोगिता च्याम्पियन्स लिगमा छनोट भएको छ । युनाइटेडका लागि युवा खेलाडी कोबी मैनुले खेलको ७७औँ मिनेटमा निर्णायक गोल गरेका थिए । उनले तीन दिनअघि मात्र युनाइटेडसँग पाँच वर्षको नयाँ सम्झौता गरेका थिए ।

खेलको पहिलो हाफमै युनाइटेडले लिभरपुलविरुद्ध २–० को अग्रता लिएको थियो । युनाइटेडका लागि म्याथ्युस कुन्हा र बेन्जामिन सेस्कोले गोल गरेका थिए । दोस्रो हाफमा लिभरपुलले आक्रामक खेल प्रस्तुत गर्दै २–२ को बराबरी गोल फर्काएको थियो । लिभरपुललाई डोमिनिक सोबोस्लाई र कोडी गाक्पोले गोल गर्दै बराबरीमा ल्याएका हुन् । दुवैले युनाइटेडका गल्तीमा गोल गरेका थिए ।

युनाइटेडलाई कार्यवाहक प्रशिक्षक माइकल क्यारिकले प्रशिक्षण दिइरहेका छन् । उनको प्रशिक्षणमा युनाइेटडले महत्वपूर्ण जित निकाल्यो । सन् २०१५–१६ को सिजनपछि युनाइटेडले दुवै लेगमा लिभरपुललाई एकै सिजनमा हराएको हो ।

टोटनह्यामले भिल्लालाई हरायो
इंग्लिस प्रिमियर लिगमा टोटनह्यामले एस्टन भिल्लालाई २–१ ले हराएको छ । जितसँगै टोटनह्याम रेलिगेसन क्षेत्रबाट बाहिरिएको छ । खेलको १२औँ मिनेटमा कोनर गालाघरले उत्कृष्ट गोलमा टोटनह्यामले १–० को अग्रता लिएको थियो । उनले पोस्टभन्दा २५ यार्ड टाढाबाट सीधै गोल गरेका थिए । खेलको २५औँ मिनेटमा टोटनह्यामले रिचार्लिसनको हेडिङ गोलमा २–० को अग्रता बनायो । दोस्रो हाफमा टोटनह्यामले खेलमा बलियो पकड बनाउन सकेन । टोटनह्यामले दुई गोल रक्षा गर्ने रणनीतिका साथ प्रतिस्पर्धा गरेको थियो । जसका कारण एस्टोन भिल्लाले विपक्षीमाथि दबाब बनायो । खेलको अन्तिमतिर एस्टान भिल्लाले २–१ का लागि गोल फर्कायो । जितसँगै टोटनह्याम १७औँ स्थानमा उक्लिएको छ । टोटनह्यामले रेलिगेसन जोनमा रहेको वेस्ट ह्याम युनाइटेडमाथि एक अंकको दूरी बढाएको छ । वेस्ट ह्याम अघिल्लो खेलमा ब्रेन्टफोर्डसँग ३–० ले पराजित भएको थियो । 

See More On

सुझावित समाचार