मधेश सरकारलाई दिएको समर्थन फिर्ता लियो जनमतले

सोमबार, २१ बैशाख, २०८३
डिजिटल संस्करण

जनमत पार्टीले कांग्रेस नेता कृष्णप्रसाद यादव नेतृत्वको मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । यादव गत वर्ष १९ मंसिरमा मुख्यमन्बी बनेका थिए ।

जनमतले सरकारलाई दिएको समर्थन फिर्ता लिएको भनी प्रमुख सचेतक चन्दनकुमार सिंहको हस्ताक्षरसहितको पत्र सोमबार प्रदेश प्रमुखको कार्यालयमा पुगेको हो । प्रदेश प्रमुखको कार्यालयका सचिव नारायणप्रसाद दाहालले पत्र कार्यालय समयपछि प्राप्त भएको पुष्टि गरे । 

प्रमुख सचेतक चन्दनकुमार सिंहले समर्थन फिर्ता लिएको पुष्टि गरे । संसदीय दलका नेता तथा अर्थमन्त्री महेश यादवले भने यस विषयमा आफू अनभिज्ञ रहेको प्रतिक्रिया दिए । सचेतक सिंहले पार्टी अध्यक्ष डा. सिके राउतसँग सल्लाह गरी समर्थन फिर्ता लिएको दाबी गरेका छन् । मधेश प्रदेश सभामा जनमतका १२ सांसद छन् । यो दलबाट महेश यादव अर्थ र वसन्त कुसवाहा खेलकुदमन्त्री छन् । 

मधेश प्रदेशमा कायम १०४ जना प्रदेश सभा सदस्यमध्ये ७७ जनाको समर्थनमा यादव गत गत वर्ष १९ मंसिरमा मुख्यमन्त्री बनेका थिए । १२ सिटको जनमतले समर्थन फिर्ता लिए पनि कांग्रेस नेतृत्वको सरकारालाई जसपा,  लोसपा, माओवादी र एकीकृत समाजवादीको समर्थन कायमै छ । हालको अंकगणितअनुसार यादव नेतृत्वको सरकारसँग बहुमत छ । तर, सहयात्री दलले समर्थन फिर्ता लिएकाले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ ।

सुझावित समाचार