बर्दियामा लघु घर बिमा प्रभावकारी बन्दै

सोमबार, २१ बैशाख, २०८३
डिजिटल संस्करण

बर्दियामा लघु घर बिमा प्रभावकारी बन्दै गएको छ । बर्दियाको मधुवन नगरपालिकामा लघु घर बिमा कार्यालय प्रभावकारी बन्दै गएको हो । 

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण तथा सहअस्तित्वका लागि  बर्दिया २९ पुस ०७९ बाट लघु घर बिमा कार्यक्रम सञ्चालन भएको थियो । तराई भू–परिधि कार्यक्रमको सहयोगमा  मधुवन नगरपालिकामा चार हजार ६८२ घरधुरीको लघु घर बिमा गरिएको खाता सामुदायिक वन समन्वय समितिका अध्यक्ष हरि गुरुङले बताए ।

 उनले भने, ‘मधुवन नगरपालिका वडा नं. १, २, ३, ४ र ५ मा पर्ने पक्की घरबाहेक सम्पूर्ण घरको बिमा गरिएको छ । विशेषगरी खाता करिडोरमा हात्ती आवतजावत गर्दा हात्तीले घर भत्काइदिएर हुने क्षतिको जोखिम न्यूनीकरणका लागि पनि लघु घर बिमा गरिएको हो । दैवीप्रकोप र वन्यजन्तुको आक्रमणबाट घरको क्षति भएका परिवारले राहतसमेत पाएका छन् ।’ 

लघु घर बिमा गरेको घरमा  प्राकृतिक विपत् र वन्यजन्तुको आक्रमणबाट क्षति भएमा घरको क्षतिको मूल्यांकन गरी एक लाख ५० हजार रुपैयाँसम्म बिमा रकम दिने गरिएको शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड शाखा कार्यालय गुलरियाका प्रमुख डुण्डीराज रिजालले बताए ।

लघु घर बिमा कार्यक्रमअन्तर्गत सन् २०२४/२०२५  मा क्षति भएका आठ घरधुरीले एक लाख ८४  हजार ५६ रुपैयाँ पाएका छन्। त्यसैगरी सन् २०२३/२०२४ मा क्षति भएमा सात घरधुरीलाई एक लाख तीन हजार ४९२ रुपैयाँ दिइएको छ भने सन् २०२२/२०२३ मा क्षति भएका १० घरधुरीले तीन लाख ५६ हजार ३९० रुपैयाँ  दिइएको  शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड शाखा कार्यालय गुलरियाले जनाएको छ ।

घर बिमा गर्दा प्रतिघरधुरी ७५ रुपैयाँ बिमा कम्पनीलाई दिनुपर्छ भने बिमालेखमा र२० रुपैयाँको टिकट टाँस्नुपर्ने हुन्छ । यसरी गरेको बिमाको अवधि एक वर्ष हुन्छ । बिमा गरेको अवधिमा कुनै घरको क्षति भएमा घरधनीलाई राहत दिने गरिन्छ ।

सुझावित समाचार