- तृणमूल कंग्रेसले यसपटक विधान सभा चुनाव भाजपाविरुद्ध मात्र होइन, केन्द्र सरकारको नियन्त्रणमा रहेका संयन्त्रविरुद्धसमेत लड्नुपर्यो
भर्खरै सम्पन्न पश्चिम बंगाल विधान सभा चुनाव केवल तृणमूल कंग्रेस र भारतीय जनता पार्टी (भाजपा)बिचको प्रतिस्पर्धाका रूपमा व्याख्या गर्नु मात्र पर्याप्त हुँदैन । यसपटक तृणमूल कंग्रेसले एकैसाथ राजनीतिक प्रतिद्वन्द्वीका अतिरिक्त त्यस प्रतिद्वन्द्वीको नियन्त्रणमा रहेका भारतको केन्द्रीय राज्यका संयन्त्रविरुद्धसमेत लड्नुपर्यो । निर्वाचन आयोग, केन्द्रीय अनुसन्धान एजेन्सीहरू, केन्द्रीय सशस्त्र बलदेखि न्यायपालिकासम्मको संयुक्त भारले यसपटकको चुनावलाई आपत्कालपछिकै देशको सबैभन्दा हस्तक्षेपकारी चुनाव बनाइदियो ।
एसआइआर : मताधिकारविमुख गर्ने नियोजित
प्रपञ्च : यस हस्तक्षेपको सबैभन्दा बलियो हस्तक्षेपको औजार मतदाता सूचीको संशोधन अर्थात् ‘स्पेसल इन्टेन्सिभ रिभिजन (एसआइआर)’का रूपमा आयो । एसआइआरले राज्यमा मतदाता सूचीमा रहेका लगभग ९० लाख नाम हटायो, जुन कुल मतदाताको १२ प्रतिशत हो । तीमध्ये ६० लाखभन्दा बढीलाई बसाइँ सरेर अन्तै गएको वा मृतकका रूपमा वर्गीकृत गरियो । कुल २७ लाखको स्थितिमाथि प्रश्न उठेपछि न्यायाधीकरणमा विचाराधीन थियो ।
सूचीबाट हटाइएकामध्ये लगभग ६५ प्रतिशत मुस्लिम थिए । त्यस्तै, मटुआ समुदायका दलित (नमशुद्र) हिन्दु पनि उल्लेखनीय रूपमा प्रभावित भए । विपन्न वर्गका महिला अर्को लक्षित समूह रहे । यी तिनै त्रिणमूल कंग्रेसका मताधार मानिने समूह हुन् ।
एसआइआरलाई निर्वाचन आयोगले नियमित ‘शुद्धीकरण’का रूपमा प्रस्तुत गर्यो । तर, यसलाई पश्चिम बंगालमा अन्यत्रभन्दा विशेष मामिलाका रूपमा व्यवहार गरिएको देखियो । भाजपाको सरकार रहेको झन् धेरै मतदाता भएको उत्तर प्रदेशमा जम्मा चारजना पर्यवेक्षक तैनाथ गरिँदा बंगालमा ३० जना खटाइएका थिए । त्यस्तै, एसआइआर चलिरहँदा राज्यका झन्डै ९५ प्रतिशत अधिकारीलाई अन्यत्र स्थानान्तरण गरिनुले पनि प्रश्न उठ्छ । यस्तो कृत्यको प्रशासनिक रूपमा नभई र राजनीतिक रूपमा मात्र व्याख्या गर्न सकिन्छ । त्यसबाहेक बलियो कारणविनै थुप्रै मतदाताको नाम सूचीबाट हटाएको पाइएको छ । आफू मत दिन योग्य भएको प्रमाणित गर्ने बोझ मतदाताको काँधमा सारिएको छ ।
अपिल संयन्त्र आफैँमा भद्दा मजाकका रूपमा कार्यान्वयन भयो । २७ लाख प्रश्न उठेका नाममध्ये पहिलो चरणको चुनावअघि जम्मा १३९ मतदाताको मात्र सुनुवाइ भएको थियो । दोस्रो चरणअगाडि थप एक हजार ४७४ जनाको सुनुवाइ भएको तथ्यांक छ । सुनुवाइ भएका यी सबै मतदाताको नाम गल्तीले हटाइएको निष्कर्ष निस्कियो । बाँकी २७ लाखको विशाल संख्यामा कतिले यस्तो नियति भोगे होलान् ? त्यसबाहेक एसआइआरमा बढी नाम हटाइएका क्षेत्रमा सन् २०२१ मा भाजपाले सानो मतान्तरले हारेका क्षेत्र उल्लेखनीय छन् । ती क्षेत्रमा सूचीबाट नाम हटाइएका मतदाताको संख्या विगतमा जितहार निर्णय भएको मतान्तरणभन्दा उलेख्य बढी छ ।
बाह्य सुरक्षा बलको तैनाथी : निर्वाचन आयोगले यसपटक चुनावमा पश्चिम बंगालभरि केन्द्रीय सशस्त्र प्रहरी बलका दुई हजार ४०७ कम्पनीका लगभग २.४ लाख सैनिक तैनाथ गरेको थियो । यो संख्या दुई वर्षअघि आमनिर्वाचनका क्रममा बंगालमा खटाइएका ९२ हजार सैनिकको संख्याभन्दा लगभग तीनगुणा बढी हो । निर्वाचन आयोगले देशका सबै पाँच प्रमुख अर्धसैनिक बलहरू– केन्द्रीय रिजर्भ प्रहरी बल (सिआरपिएफ), सीमा सुरक्षा बल (बिएसएफ), केन्द्रीय औद्योगिक सुरक्षा बल (सिआइएसएफ), सशस्त्र सीमा बल (एसएसबी) र इन्डो–तिब्बती सीमा प्रहरी (आइटिबिपी)लाई राज्यमा ल्याएको थियो । सशस्त्र विद्रोह नभएको राज्यमा यति ठुलो संख्यामा सुरक्षाकर्मीको उपस्थिति बिरलै गरिन्छ । बाहिरबाट यति धेरै सैन्य बल भित्र्याइँदा राज्यको आफ्नो प्रहरी बल भने झन्डै निष्क्रियजस्तै भएको थियो ।
उता भाजपाले चुनावी अभियानलाई मुख्यतः राज्यमा छिमेकी बंगालदेशबाट व्यापक घुसपैठ भएको मुद्दामा केन्द्रित गर्यो । तिनले पश्चिम बंगालको जनसांख्यिकीय बनोट नै बदलेको र स्थानीयले पाउनुपर्ने जागिर हत्याएको कुरा चर्को रूपमा उठाइयो । खासमा यस अभियानको खास निसाना मुस्लिम धर्मावलम्बीमाथि थियो भनेर कसैले नबुझ्ने कुरा थिएन । जब केन्द्रमा शासन गरिरहेको दलले नै यसरी देशको कुनै विशिष्ट जातीय र धार्मिक पूर्वाग्रहमा आधारित चुनावी अभियान चलाउँछ र त्यसमा राज्य संयन्त्र प्रयोग गर्छ भने यस्तो अभ्यासलाई जनाउन एक विश्लेषणात्मक शब्द छ, फासीवाद ।
आवश्यक समयमा न्यायपालिकाको परित्याग
पहिले, भारतको सर्वोच्च अदालत आफैँले त्रुटिपूर्ण भएको स्वीकार गरेको एसआइआर प्रक्रिया रोक्न अस्वीकार गर्यो । त्यसपछि सूचीबाट नाम मेटिएका पीडितका गुनासो सम्बोधन गर्न एउटा न्यायाधीकरण खडा गरियो, जो लाखौँ मुद्दाको भारमा उठ्न नसक्ने गरी थिचिएको थियो । र, अदालतले लामो समय लाग्ने विचाराधीन मुद्दा भएका मतदातालाई अन्तरिम मतदान अधिकार दिन अस्वीकार गर्यो । घुमाउरो रूपमा सर्वोच्च अदालतले केन्द्रकै प्रयासलाई अनुमोदन गरिदियो ।
यत्रो हर्कतका बाबजुद पश्चिम बंगालमा भाजपाले नै जित्छ भन्ने पक्का छैन । तथापि, राज्यसत्तामा रहेको फासीवादी पार्टीलाई आफ्ना मुद्दा कार्यान्वयन गर्न चुनाव नै जित्नुपर्ने अवस्था नहुन सक्छ । वास्तवमा, पश्चिम बंगालको चुनाव भारतमा संघीयतामाथि बढ्दो आक्रमणको पछिल्लो कडी हुन सक्छ । अब केन्द्र सरकारले बल प्रयोग गरेर चुनाव जित्न नसक्दा राज्य सरकारलाई नै अप्रासंगिक बनाउने दिशामा काम गरिरहेको हुन सक्छ । यस्तोमा सन् २०२६ मा पश्चिम बंगालमा जे भइरहेको छ, त्यो सम्पूर्ण देशमा पछि अपनाउन सकिने अभ्यासको रिहर्सल हुन सक्छ । यस्तो नयाँ व्यवस्थाले राज्यमा चुनाव जसले जिते पनि नियन्त्रण प्रणाली भने केन्द्रमा सर्दै जान सक्छ ।
(सन्तनु समाज, राजनीति र कलामाथि टिप्पणी गर्छन्)
द वायरबाट