साक्षीभाव : जागरुकता सूत्र

शनिबार, १९ बैशाख, २०८३
डिजिटल संस्करण

सामान्यतया कुनै घटना वा काम कुरा देख्ने व्यक्तिलाई साक्षी भन्ने बुझिन्छ । त्यस्तो घटना वा काम कुराले मर्का परेको व्यक्तिले पार्नेउपर अड्डामा मुद्दा हाल्ने र न्यायाधीशले फैसला गर्दा साक्षीको भनाइलाई आधार लिइन्छ । प्रमाण ऐन २०३१ को दफा ८ मा साक्षीको भनाइ प्रमाण लिइने र दफा ४९ मा साक्षीले देखे–जानेको कुरा मात्र भन्नुपर्ने प्रावधान छ । गाउँ समाजमा न्याय गर्न पनि साक्षीलाई महत्व दिइन्छ । यो साक्षी बाहिरी जगत्को हो । प्रस्तुत लेखमा चर्चा गर्न खोजिएको साक्षीभाव भित्री जगत्को र सिंगो जीवनलाई सार्थक बनाउने जागरुकता हो ।

मनुष्य जीवनको अस्तित्वसँग सीधा जोडिएको विषय हो, साक्षीभाव । यो अस्तित्व दुईखाले छ । एक हो स्थूल शरीर, अर्को हो सूक्ष्म आत्मा ।  अज्ञानीले शरीरको अस्तित्व मात्र जानेको हुन्छ भने जागरुक ज्ञानीले दुवै जान्दछ । भावना, भय र इच्छामा अल्झिनेले साक्षीभाव चिन्दैन र आत्मज्ञानको लाभबाट वञ्चित रहन्छ ।

बिहान उठ्नुअघि नै भूत र भविष्यका पछुतो र चिन्ताका विचार मनमा उठ्छन् । ठिक कि बेठिक भन्ने निर्णयमा पुग्छौँ । त्यो निर्णयले विचारलाई हेर्न रोक्छ । उठेपछि मोबाइल हेरिन्छ । कसैको म्यासेज नआएमा किन आएन म एक्लिएँ कि भन्ने विचार चल्छ । आएको रहेछ भने त्यसैलाई अहंकारले विचार बनाएर घेरिन्छौँ । कसैको म्यासेज इज्जतमा धक्का पुग्नेखाले रहेछ भने जवाफमा कि तत्काल उसमाथि रिस पोख्दै प्रतिक्रिया जनाउँछौँ या म असल मान्छे हुँ भन्दै आफूभित्र उठेको रिस दबाउछौँ वा अनाहकमा किन बेइज्जत गर्यो मलाई, यसलाई सबक सिकाउनुपर्छ भन्ने विश्लेषण गर्दै कहानी खडा गर्छौं । जुन तरिका अपनाए पनि यसले अशान्ति निम्त्याउँदै तनावमा पार्छ । तत्कालको प्रतिक्रियाले झगडा सुरु गराउँछ । दबाइएको रिस भित्रभित्रै शक्तिशाली बन्दै अरू कसैमाथि पोखिन्छ या आफैँलाई बिमारी बनाउँछ । खडा गरेको कहानीले पनि आफूलाई रिसको बन्धनमा पारी बेचैन बनाइरहन्छ । साक्षीभावले चौथो तरिका दिन्छ, त्यो हो जागरुकता ।

जागरुकता प्रयासबाट आउँदैन, यो हाम्रो स्वभाव हो, अवलोकन गर्दै जाँदा बिस्तारै आउँछ । कोठाभित्र ध्यानमा बस्दा बाहिरको चराचुरुंगी, गाडी वा हावाको आवाज सुन्दै जाँदा केवल सुनिन्छ मात्र, सुन्नेवाला हराउँदै जान्छ र ध्यानमा डुबिन्छ । राम्रो दृश्य अवलोकन गर्दा पनि देख्नेवाला हराउँछ, दृश्य मात्र देखिन्छ । किनकि, अवलोकन र ध्यान पनि हाम्रो स्वभाव हो, कर्म होइन । कर्म नभएको हुँदा कर्ता पनि हुँदैन । सुन्ने वा देख्नेवाला कर्ता हराए पनि आवाज वा दृश्य त सुनिएकै–देखिएकै हुन्छ । यो सुनाइ र देखाइले सुन्ने र देख्नेवाला साक्षी अलग्गै हुँदोरहेछ भन्ने बोध हुन्छ । यसबाट कर्ता दाबी गर्ने अहंकार झुटो रहेछ, कर्म प्रकृतिले 

आफ्ना त्रिगुण सत्व, रज र तमद्वारा शरीरमार्फत गराउँदो रहेछ हामी मानिस केवल साक्षी मात्र रहेछौँ भन्ने रहस्य बुझिन्छ । भागवत गीता अध्याय ३ श्लोक २७ – प्रकृतेः क्रियमाणानि गुणैः कर्माणि सर्वशः । अहंकारविमूढात्मा कर्ताहमिति मन्यते ।। अर्थात् सम्पूर्ण कर्म प्रकृतिको गुणद्वारा गरिन्छन् । अहंकारले मोहित भएको व्यक्ति म नै कर्ता हुँ भन्ने सम्झने मात्र हो भनेको छ ।

हुन पनि साक्षीभावमा रहँदा स्मृतिको रूपमा रहेका विगतका याद विस्मृत हुँदै जागरुकता आउँछ । स्मृतिको सहारामा कर्ताको दाबी गर्ने अहंकार हट्छ । अहंकारको कारणले हुने प्रतिक्रियाजनक कार्य हुन पाउँदैनन् । बाहिरी जगत् कारण–कार्यको नियममा चलेको हुन्छ । जागरुकता बाँकी रहन्छ । जागरुकता भित्री जगत् हो, जहाँ कारण–कार्यको नियम नचल्ने हुँदा गुमाउने वा प्राप्त गर्ने कुरा केही हुँदैनन् । एक खाली र खुलापन महसुस हुन्छ । बाहिरी जगत्मा खाली हुनु भनेको धन–सम्पत्तिको अभाव भन्ने बुझिन्छ । अध्यात्ममा खालीपन महसुस गर्न सक्नु ठुलो उपलब्धि हो । ज्ञानको काम पनि अनावश्यक मनोविकारले (राग, द्वेष मोह, आसक्ति, ईर्ष्याका भाव र स्मृति) भरिएको मानिसको मस्तिष्क खाली गर्ने हो । गीता अध्याय ३ श्लोक २८ मा – तत्ववित्तु महाबाहो गुणकर्मविभागयोः । गुणा गुणेषु वर्तन्त इति मत्वा न सज्जते ।। अर्थात् गुण र कर्मको विभागको सत्य (तत्व) लाई जान्ने ज्ञानी कर्ममा आसक्त हुँदैन भनेर प्रस्ट पारेको छ । त्यसैले, साक्षीभावलाई आत्मज्ञानको द्वार भनिन्छ ।

के हो साक्षीभाव ?
भजन गवैया लाखोटियाको भजन ‘न लेना न देना मगन रहेना’ले व्यक्त गरेको मर्म हो, साक्षीभाव । वेदान्त, उपनिषद्, अष्टावक्र गीता, भागवत गीता, बौद्ध दर्शन, ऋषि बुद्धलगायत विभिन्न दार्शनिकले विभिन्न कोणबाट साक्षीभावको वर्णन गरेका छन् । कुरा उत्तर वा दक्षिण दिशाबाट आए पनि मनुष्यको अपूर्णताको दुःख हटाउन जागरुकता आउनुपर्छ भन्नेमा समानता छ । भारतीय आध्यात्मिक गुरु आचार्य प्रशान्तले निर्लिप्तता र असम्बद्धता नै साक्षीत्व हो भन्दै तर्क दिन्छन् कि– शरीर अन्न, रगत र अंगहरूलगायतसँग आबद्ध हुन्छ, साक्षी कुनै पनि कुरासँग आबद्ध रहँदैन । खाली आकाश, जसले न सुन्छ न देख्छ । साक्षी द्रष्टा पनि होइन, किनकि देख्ने बाहिरी इन्द्रिय हो, भित्रको साक्षीले देख्दैन भन्दै आजकल साक्षी द्रष्टा हो भन्दै देख्ने अभ्यास गराएर मूर्ख बनाइएको छ बजारमा, मूर्ख बन्नुहुँदैन भनेर सचेत गराउँछन् उनी ।

साक्षीभाव निर्विकल्प जागरुकता हो भन्छन् दार्शनिक जिद्दु कृष्णमूर्ति (दक्षिण भारतको सामान्य परिवारमा जन्मेका, विश्वगुरु बन्ने सम्भावना देखेर अमेरिकन थियोसोफिकल सोसाइटीले प्रशिक्षित गरी विश्वगुरुको सिंहासनमा राख्न लागेको अवस्थामा त्यो परित्याग गर्दै मानिसको समझ नै उसको गुरु हो, कुनै बाहिरी गुरु वा पुस्तकको अर्थ छैन भन्दै सामान्य जीवन बिताउदै ठुलो दार्शनिक बनेका) । भगवान् बुद्धले भगवान् स्वयं मनुष्यभित्र छ, बाहिर छैन भनेर साक्षीभावको ध्यान गरी चार आर्य सत्य पत्ता लगाए । आचार्य सत्यनारायण गोयन्काको भिडियोमार्फत गराइने विपश्यना ध्यानमा साक्षीभावलाई केन्द्रमा राखिन्छ । 

साक्षीभावका लागि तीन सर्त पूरा गर्नुपर्छ । पहिलो सर्त हो, कुनै पनि प्रकारको प्रयास नगर्ने । मुठी खुकुलो राखे पानी अडिन्छ, कोसिस गरेर मुठी कसे बाहिर निस्किएजस्तै शान्त हुने प्रयास गरे शान्त हुने चाहनाले झन् अशान्त बनाउँछ । शान्ति हाम्रो स्वभाव हो, केही नगरीकन रोकिएर हेरे शान्ति बोध हुन्छ । अनुभवको मूल्यांकन नगर्ने हो दोस्रो सर्त । सही वा गलत, राम्रो वा नराम्रो, मन पर्ने वा नपर्ने चुनाव गर्ने द्वेतको चक्करमा फसेर जीवन संघर्षमय बनेको हो भन्छन् कृष्णमूर्ति । सन्त कविरले दोहा नै बनाए– चल्ती चक्की देखकर, दिदा कबिरा रोय । दो पाटन के बिच मे साबुत बचा न कोय ।। दोहाको सन्देश– अहं (जीव) र प्रकृति (जगत्) जाँताका दुई पाटाको रूपमा र गहुँ पिस्दा गहुँको दाना लुप्त भएझैँ साक्षीभाव लुप्त गराइदिँदा जीवन दुःखमा बितेको छ भन्ने हो । तेस्रो सर्त हो अनुभव नपक्रिने केवल इमानदारीपूर्वक जस्ताको त्यस्तै हेर्ने, नभाग्ने हो । गीता अध्याय ६ श्लोक ४७ मा’ योगिनामपि सर्वेषां मद्गतेनान्तरात्मना । श्रद्धावान्भजते यो मां स मे युक्ततमो मतः ।। अर्थात् योगीहरूमा पनि जो ममा (कृष्ण अर्थात् आत्मा) युक्त हुँदै एकत्वभावले मलाई भज्दछ, उही सर्वश्रेष्ठ योगी कहलिन्छ भनिएको छ । यो श्लोकको सन्देश– साक्षीभावले सबै मनोविकारबाट मुक्त राख्छ भन्ने हो । किनकि, साक्षीभावले अवलोकन गर्दा मनमा उठ्ने विचार र भावना आफैँ आए गएको,  शरीरमा सासको गति, मुटुको धड्कन र तातो चिसो बढ्ने घट्ने गरेको कुरा साक्षीले स्थिर र शान्त भएर हेरिरहेको महसुस हुन्छ । कर्म गर्ने शरीर तथा विचार र भावना उत्पन्न गर्ने मनभन्दा आफू भिन्न दूरीमा रहेको बोध हुन्छ । यो बोध हुनुअघि आफूलाई विचार र भावनासँग जोडेर तिनैअनुसार चलेर दुःखसुखको गोलचक्करमा फसिने गरिएकोमा अब रिस उठे यो त विचार हो यो आफैँ आयो आफैँ जान्छ, रोक्नु वा प्रतिक्रिया गर्नुहुन्न भनेर शान्तपूर्वक हेरिन्छ, प्रभावित भइँदैन । खुसीका विचार र भावना आए पनि महसुस मात्र गरिन्छ, खुट्टै भाँचिने गरी नाचेर पुनः दुःख निम्त्याइँदैन ।

अष्टावक्र गीता पहिलो अध्याय पाँचौँ श्लोक– न त्वं विप्रादिको वर्णो नाश्रमी नाक्षगोचरः । असंगोसि निराकारो विश्वसाक्षी सुखी भव ।। अर्थात्, तिमी कुनै जाति र वर्णाश्रमधर्मी होइनौ । आँखा आदि इन्द्रियका विषय पनि होइनौ । आफूले आफूलाई चराचर विश्वजगत्को साक्षी मात्र हुँ भन्ने चिनेर महसुस गरेपछि सुखी हुन्छौ भनिएको छ ।

दिने परिणाम
शरीर, मन र मनमा उठ्ने विचार र भावना अलग हुन्, म तिनीहरूलाई निरन्तर देखिरहने साक्षी हुँ भन्ने बोध हुन्छ । विचार र भावना नै आफू हुँ भन्ने ठानी तत्काल प्रतिक्रिया जनाउने गरिएकोमा अलग भएको जानी प्रतिक्रिया गर्न छाडेर विचार र भावना अवलोकन गर्ने क्षमता बढाउँछ । जीवन बोझिल र एक्लोपन डरलाग्दो हुने गरेकामा हल्का र आनन्द महसुस हुन्छ । सोचाइको संख्या कम गति सुस्त हुँदै विचार र भावना पक्रेर बगिँदैन । अरूको मूल्यांकन गर्न छाड्दै उनीहरूभित्र पनि विचार र भावनाको चर्को स्वर छ भन्ने जानेर करुणा जाग्छ । भूत र भविष्यका कुरामा डुबेर वर्तमानमा खाँदै गरेको खानाको स्वादसम्म थाहा नपाउने तहको बेहोसी हटेर वर्तमानमा रहन सक्ने जागरुकताको क्षमता विकसित भई जीवन जीवन्त बन्छ । भित्र खालीपन महसुस हुन्छ, जसले स्पष्टता जन्मिँदै बोझ उत्रेको महसुस गराउँदा परमानन्दमा स्थित भइन्छ ।

भावनासँग पूरै उपस्थित भए मात्र साक्षी बन्न सम्भव हुन्छ । नदी वा समुद्रको किनारमा बसेर पानीको बहाव वा छालहरू पूरापूर हेर्दै महसुस गरेजस्तै हो, साक्षीभाव । साक्षीभाव कुनै टेक्निक वा अभ्यास होइन, हरपल गर्नुपर्ने एक जीवित प्रक्रिया र हाम्रो स्वभाव हो । साक्षीभावको सही अर्थ नबुझेकाले साक्षी बन्नु भनेको विचार र भावनासँग टाढै रहेर रोक्ने हो भन्ने ठानी नदी वा र समुद्रमा पसेर बहाव वा छाल रोक्न भिडेजस्तै अनर्थ गर्ने गरेकाले साक्षीभावले विचार र भावना समाप्त हुन्छ भन्ने भ्रम छ समाजमा । केही महसुस नहुनु शान्ति होइन, सबै महसुस गरेर पनि त्यसमा नटास्सिनु हो शान्ति । हामी भावना हेर्न डराउँछौँ । झन् कमजोर भइन्छ कि भनेर भावनादेखि भाग्छौँ । भाग्दा खत्तम हुँदैन भावना, झन् लम्बिन्छ, देखे हराउँछ । ट्राफिकमा फस्दा वा नेट स्लो हुँदा चिडचिडाहट भाव उत्पन्न हुन्छ । यही घटनासँग अहंकार जोडिएर कहानी बनाउँछ र तनावमा पार्छ । नत्र, घटना मात्रले खास केही हुँदैन । अहंकारले किन गर्यो वा भयो भन्ने कहानी बनाउँदै एकपछि अर्को विचार उत्पन्न गराउँदा समस्या हुने हो । समस्या आइपरे पनि त्यसमा नजोडिए समाधान हुन्छ । समस्यासँग जोडिइरहँदा संकट बन्छ । साक्षीभावमा टिकिरहे हरपल जागरुक राखेर विचार र भावनामा आसक्त हुन रोक्छ । दुःखको कारण आसक्ति हटेपछि दश दुःखी हुने कार्य हुँदैन र जीवन आनन्दमय बन्छ ।

See More On

सुझावित समाचार