नेपाल महिला रेस्लिङ फाउन्डेसनले मनाङको तिलिचो तालमा आयोजना गरेको रेस्लिङ खेललाई वर्ल्ड बुक अफ रेकर्ड लन्डनमा समावेश गरेको छ । चार हजार नौ सय १९ मिटर उचाइमा अवस्थित ‘हाइएस्ट अल्टिच्युट लेक’ तिलिचोमा गत वर्षको २६ नोभेम्बरमा रेस्लिङ प्रतियोगिता भएको थियो ।
रेस्लिङमा नेपालबाट भगवती खड्का र अस्मिता सुनारले अमेरिकी रेस्लर क्यामिल लिगनसँग प्रतिस्पर्धा गरेका थिए । भगवती र अस्मिता विजयी भएका थिए । सोही खेल वर्ल्ड बुक अफ रेकर्डमा समावेश गरिएको हो । पूर्वउपसभामुख इन्दिरा रानाले भगवती र अस्मितालाई वर्ल्ड बुक अफ रेकर्डमा समावेश भएको प्रमाणपत्र प्रदान गरेकी छिन् ।
नेपाल महिला रेस्लिङ फाउन्डेसनमा भगवती अध्यक्ष र अस्मिता कोषाध्यक्षको जिम्मेवारीमा पनि छन् । फाउन्डेसनले यसअघि विश्वकै अग्लो स्थानमा रेस्लिङ खेलेर कीर्तिमान कायम गर्ने उद्देश्यले सोलुखुम्बुको खुम्बु गाउँपालिकास्थित पाँच हजार ६ सय ३३ मिटरको उचाइमा रहेको कालापत्थर मैत्रीपूर्ण रेस्लिङ पनि आयोजना गरेको थियो । एभरेष्ट दिवसका अवसरमा आयोजित मैत्रीपूर्ण रेस्लिङमा भगवतीले अमेरिकी रेस्लर डानियल मोरिसनलाई पराजित गरेकी थिइन् ।