दक्षिण तथा मध्य एसियाका लागि संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत सर्जियो गोरले परराष्ट्रमन्त्री शिशिर खनाल र अर्थमन्त्री स्वर्णिम वाग्लेसँग भेटवार्ता गरेका छन् । तीनदिने नेपाल भ्रमणका क्रममा बिहीबार काठमाडौं आइपुगेका गोरले शुक्रबार मन्त्री खनाल र वाग्लेसँग अलग–अलग शिष्टाचार भेट गरेका हुन् ।
सरकारका अनुसार भेटवार्ता दुई देशबिचको सम्बन्ध थप प्रगाढ बनाउने तथा आर्थिक र व्यापारिक सहकार्य मजबुत बनाउने विषयमा केन्द्रित थियो । दुवै भेटमा विशेष दूत गोरसँगै अमेरिकी अधिकारीहरू पनि सहभागी थिए ।
‘दक्षिण तथा मध्य एसियाका लागि संयुक्त राज्य अमेरिकाका विशेष दूत सर्जियो गोरसँग आज (शुक्रबार) परराष्ट्र मन्त्रालयमा भेट भएको छ । भेटमा नेपाल–अमेरिका सम्बन्ध, लगानी तथा व्यापार प्रवर्द्धन विषयमा छलफल भएको छ,’ परराष्ट्र मन्त्रालयको विज्ञप्तिमा छ ।
त्यस्तै, अर्थमन्त्री वाग्लेले भेटमा नेपाल–अमेरिकाबिचको आर्थिक साझेदारी र विकास सहायताका विविध विषयमा छलफल भएको जानकारी गराएका छन् । अर्थमन्त्री वाग्लेसँग विशेष दूत गोरको टोलीले २० मिनेट कुराकानी गरेको थियो । भेट सकिएपछि गोरसहितको टोलीले हनुमानढोका दरबार स्क्वायरपरिसरको भ्रमण गरेको थियो । टोली होटेल द्वारिकाजमा बसेको छ । विशेष दूत गोरले प्रधानमन्त्री बालेन्द्र शाहसँग भने भेटवार्ता गरेनन् । भेटवार्ताका लागि अनुरोध गरे पनि समय तय नभएको बताइएको छ । प्रधानमन्त्रीका प्रेसविज्ञ दीपा दाहालले प्रधानमन्त्रीसँग अमेरिकी विशेष दूत गोरको भेटवार्ताको समय तय नभएको बताइन् ।
मध्य तथा दक्षिण एसियाका लागि राष्ट्रपतिका विशेष दूत गोर ६ सदस्यीय टोलीको नेतृत्व गर्दै नयाँदिल्लीबाट नेपाल वायुसेवाको उडानबाट काठमाडौं आएका हुन् । यसअघि मध्य तथा दक्षिण एसियाका लागि सहायक विदेशमन्त्री समीर पल कपुर तीनदिने भ्रमण गरेर फर्केका थिए । प्रधानमन्त्री शाहले उनीसँग पनि भेट गरेका थिएनन् ।