सल्यानका सामुदायिक विद्यालयमा विद्यार्थी संख्या घट्दो, सञ्चालनमा चुनौती

शुक्रबार, १८ बैशाख, २०८३
डिजिटल संस्करण

सल्यानका सामुदायिक विद्यालयहरूमा प्रत्येक वर्ष विद्यार्थी संख्या घट्दै गएको पाइएको छ । विद्यार्थी संख्या घट्दै जाँदा केही पालिकाले कक्षा तह घटाउन थालेका छन् भने केहीले समायोजन प्रक्रिया अघि बढाएका छन् । 

निजी विद्यालयतर्फ आकर्षण बढ्नु, बसाइँसराइको क्रम तीव्र हुनु तथा जन्मदर घट्नुजस्ता कारणले सामुदायिक विद्यालयमा विद्यार्थी संख्या निरन्तर ओरालो लागिरहेको छ । यसले विद्यालयको भौतिक संरचना, शिक्षक दरबन्दी र शैक्षिक गुणस्तरमै असर पार्न थालेको छ ।

विद्यार्थी संख्या कम भएसँगै स्थानीय तहले विद्यालय समायोजन तथा तह घटाउन थालेका छन् । कुमाख गाउँपालिका गाउँ शिक्षा समितिको निर्णयका आधारमा २० वटा विद्यालयको समायोजन तथा तह घटुवा र शिक्षक दरबन्दी मिलान गरेको प्रमुख प्रशासकीय अधिकृत भूपाल खड्काले जानकारी दिए । कतिपय विद्यालयलाई कक्षा १–३ सम्म सीमित गरिएको छ भने केहीलाई बालविकास केन्द्रमा रूपान्तरण गरिएको छ ।

साथै केही विद्यालयलाई नजिकका अन्य विद्यालयमा समायोजन गरिएको पनि जनाइएको छ । गाउँपालिकाले कक्षा १–३ सम्म सञ्चालन भएका ६ वटा विद्यालयलाई बालविकासमा रूपान्तरण गरेको छ भने १–५ सम्म सञ्चालन भएका सात विद्यालयलाई १–३ मा झारेको छ । कक्षा १–८ सम्म पठनपाठन हुँदै आएका चार विद्यालयलाई १–५ मा झारिएको छ भने कक्षा १० सम्म रहेको एक विद्यालयलाई कक्षा ८ सम्म सीमित गरिएको छ । यसैगरी १–५ सम्मको एक विद्यालय र बालविकास सञ्चालन भएको अर्को एक विद्यालयलाई नजिकका विद्यालयमा समायोजन गरिएको छ ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ (ज) तथा विद्यालय समायोजन एवं एकीकरण कार्यान्वयन कार्यविधि, २०८० अनुसार पालिकाभित्रका विभिन्न सामुदायिक विद्यालयहरूको तह घटुवा, समायोजन र शिक्षक दरबन्दी पुनः व्यवस्थापन गरिएको गाउँपालिकाले जनाएको छ । सोही व्यवस्थाअनुसार शिक्षक दरबन्दी मिलानअन्तर्गत विभिन्न विद्यालयमा कार्यरत २४ जना शिक्षक तथा कार्यालय सहयोगीहरूलाई आवश्यकता र दरबन्दीका आधारमा अन्य विद्यालयमा सरुवा गरिएको छ । समायोजन तथा तह घटुवा गरिएका विद्यालयहरूले कायम गरिएको तहसम्म मात्र विद्यार्थी भर्ना लिनुपर्ने व्यवस्था गरिएको छ । 

शिक्षा विकास तथा समन्वय इकाइ सल्यानले शैक्षिक सत्र २०८२ को सार्वजनिक गरेको तथ्यांकअनुसार सल्यानमा रहेका कुल ४३२ विद्यालयमध्ये १७६ विद्यालयमा ५० भन्दा कम विद्यार्थी रहेका छन् ।

त्यस्तै, १०० भन्दा कम विद्यार्थी भएका विद्यालयको संख्या अझ बढी देखिएको छ । जिल्लाका २६६ विद्यालयमा १०० भन्दा कम विद्यार्थी अध्ययनरत रहेका छन् । स्थानीय तहगत विवरण हेर्दा सबैभन्दा धेरै विद्यालय भएको बागचौर नगरपालिकामा ६८ विद्यालयमध्ये ५० भन्दा कम विद्यार्थी रहेका विद्यालय ३० र १०० भन्दा कम विद्यार्थी भएका विद्यालय ३९ रहेका छन् । यस्तै जम्मा ६५ विद्यालय रहेको बनगाड कुपिन्डे नगरपालिकामा २४ विद्यालयमा ५० भन्दा कम र ३९ विद्यालयमा १०० भन्दा कम विद्यार्थी छन् । शारदा नगरपालिकामा ५६ विद्यालयमध्ये २७ विद्यालयमा ५० भन्दा कम विद्यार्थी रहेका छन् भने ४० विद्यालयमा १०० भन्दा कम विद्यार्थी छन् ।

कपुरकोट गाउँपालिकामा २३ विद्यालयमध्ये सात विद्यालयमा ५० भन्दा कम विद्यार्थी छन् भने १०० भन्दा कम विद्यार्थी भएका विद्यालय ११ छन् । कालीमाटी गाउँपालिकामा ५१ विद्यालयमध्ये २८ विद्यालयमा ५० भन्दा कम र ३४ विद्यालयमा १०० भन्दा कम विद्यार्थी छन् ।

त्रिवेणी गाउँपालिकामा २८ मध्ये ११ विद्यालय, छत्रेश्वरीमा ४० मध्ये २० विद्यालय, सिद्धकुमाखमा २३ मध्ये १० विद्यालय, कुमाखमा ४७ मध्ये १४ विद्यालय र दार्मा गाउँपालिकामा ३१ मध्ये ५ विद्यालयमा ५० भन्दा कम विद्यार्थी रहेका छन् ।

जिल्लाको ग्रामीण तथा दुर्गम क्षेत्रमा विद्यार्थी संख्या झनै कम देखिएको छ भने कतिपय स्थानमा विद्यालय संख्या धेरै भए पनि विद्यार्थी संख्या कम हुँदा शैक्षिक गुणस्तर र स्रोत व्यवस्थापनमा चुनौती देखिएको छ । 

सुझावित समाचार