कृषि, ऊर्जा र पर्यटन : नेपाल समृद्धिको आधार

बिहिबार, १७ बैशाख, २०८३
डिजिटल संस्करण
  • आर्थिक रूपान्तरणतर्फ तीव्र गतिमा अघि बढ्न नेपालले अब कृषि, ऊर्जा र पर्यटन क्षेत्रलाई सुदृढ गर्न सक्नुपर्छ

नेपाल एउटा महत्वपूर्ण मोडमा उभिएको छ । एकातिर सम्भावनाको विशाल ढोका खुलेको छ भने अर्कातिर विगतका कमजोरीले विकासको गति रोकिरहेको अवस्था छ । अब दोषारोपण गर्ने समय होइन, निर्माण गर्ने समय हो । देशको समृद्धि केवल नारामा सीमित रहने कि व्यवहारमा परिणत हुने भन्ने अब हाम्रो सामूहिक सोच, नीति र कार्यान्वयन क्षमतामा निर्भर छ । विशेषगरी कृषि, ऊर्जा र पर्यटन यी तीन आधारस्तम्भलाई सुदृढ गर्न सके नेपाल आर्थिक रूपान्तरणतर्फ तीव्र गतिमा अघि बढ्न सक्छ ।

उत्पादनमुखी अर्थतन्त्रको आधार कृषि : नेपाललाई कृषिप्रधान देश भनिन्छ, तर व्यवहारमा यो पहिचान कमजोर बन्दै गएको छ । केही दशकअघि निर्यात हुने धान, अदुवा, अलैँची, चिया, कफी, जडीबुटीजस्ता उत्पादन आज आयात सूचीमा परेका छन् । खेत बाँझो छ, युवाशक्ति बिदेसिएका छन् र बजार विदेशी उत्पादनले भरिएको छ । यसले स्पष्ट संकेत गर्छ कि हाम्रो अर्थतन्त्र उत्पादनबाट उपभोगतर्फ असन्तुलित रूपमा ढल्किएको छ ।

नेपालको भूगोल, जलवायु र जैविक विविधता कृषि उत्पादनका लागि अत्यन्त उपयुक्त छन् । हिमालदेखि तराईसम्म फरक–फरक हावापानीले विविध बाली उत्पादन गर्न सकिने क्षमता दिन्छ । तर, सम्भावनालाई अवसरमा बदल्न नसक्नु हाम्रो कमजोरी रह्यो । कृषिलाई पेसाभन्दा बाध्यता ठान्ने सोच, युवाको कृषिप्रति उदासीनता र कमजोर नीतिगत कार्यान्वयनले समस्या झनै गहिरो बनायो ।

अब कृषिमा पुनर्जागरण अपरिहार्य छ । यसका लागि पहिलो आवश्यकता भूमिको प्रभावकारी उपयोग हो । हजारौँ हेक्टर बाँझो जमिन उत्पादनमा ल्याउन स्पष्ट नीति आवश्यक छ । दोस्रो, सिँचाइ प्रणालीको विस्तार । वर्षामा निर्भर कृषि टिकाउ हुँदैन । तेस्रो, बजार सुनिश्चितता किसानले उत्पादन गरेपछि उचित मूल्य पाउने ग्यारेन्टी हुनुपर्छ । चौथो, भण्डारण र प्रशोधन उत्पादन खेर जान नदिन आधुनिक प्रविधि आवश्यक छ । पाँचौँ, बिमा र वित्तीय पहुँच कृषि जोखिमयुक्त भएकाले सहुलियत ऋण र बिमा प्रणाली बलियो हुनुपर्छ । युवालाई कृषिमा आकर्षित गर्नु आजको सबैभन्दा ठुलो चुनौती हो । कृषि अब परम्परागत हलो–कोदालोमा सीमित छैन । यो प्रविधिसँग जोडिएको आधुनिक उद्योग हो । ड्रोन, डेटा विश्लेषण, स्मार्ट सिँचाइ, डिजिटल मार्केटिङ र एग्रो–टेकले कृषि क्षेत्रलाई नयाँ आयाम दिएको छ । यदि सरकारले कृषि स्टार्टअपलाई प्रोत्साहन, सहुलियत ऋण, तालिम र बजार पहुँच उपलब्ध गरायो भने युवाहरू आकर्षित हुन सक्छन् ।

निजी क्षेत्रले कृषि मूल्य शृंखला विकासमा महत्वपूर्ण भूमिका खेल्न सक्छ । उत्पादनदेखि प्रशोधन र निर्यातसम्म । स्थानीय तहले कृषि क्लस्टर विकास गर्नुपर्छ भने प्रदेश सरकारले क्षेत्रगत उत्पादनलाई ब्रान्डिङ गर्नुपर्छ । कृषि कलेज र अनुसन्धान संस्थालाई व्यावहारिक नवप्रवर्तनसँग जोड्नुपर्छ । 

हरित विकासको मेरुदण्ड ऊर्जा : ऊर्जा आजको विश्वमा विकासको आधार हो । औद्योगिक विकास, यातायात, सूचना प्रविधि, कृषि उत्पादन र दैनिक जीवन सबै ऊर्जामाथि निर्भर छन् । विश्व अहिले जीवाश्म इन्धनबाट नवीकरणीय ऊर्जातर्फ संक्रमणको चरणमा छ । जलवायु परिवर्तन, ऊर्जा संकट र आपूर्ति अस्थिरताले स्वच्छ ऊर्जाको महत्व बढाएको छ । नेपालका विशाल नदी प्रणालीले जलविद्युत् उत्पादनको अपार सम्भावना दिन्छ । 

हालसम्म नेपालले विद्युत् उत्पादनमा उल्लेखनीय प्रगति गरेको छ । तर, अब लक्ष्य अझ ठुलो छ । ऊर्जा आत्मनिर्भरता मात्र होइन, ऊर्जा निर्यातमार्फत आर्थिक समृद्धि । आगामी दशकमा २८ हजार ५०० मेगावाट उत्पादन गर्ने लक्ष्य र १० हजार मेगावाट निर्यात गर्ने लक्ष्यले नेपाललाई दक्षिण एसियाको हरित ऊर्जा केन्द्र बनाउने सम्भावना राख्छ ।

यसका लागि स्पष्ट ऊर्जा नीति, दीर्घकालीन अन्तरदेशीय सम्झौता, निजी क्षेत्रलाई प्रोत्साहन र स्थिर नियामक वातावरण आवश्यक छ । निजी क्षेत्रले लगानी, प्रविधि र व्यवस्थापनमा योगदान गर्न सक्छ भने अन्तर्राष्ट्रिय साझेदारले पुँजी र अनुभव ल्याउन सक्छन् । ऊर्जा क्षेत्रलाई राष्ट्रिय प्राथमिकतामा राखेर अघि बढ्न सके नेपालले पानीलाई पैसामा बदल्न सक्छ । हरित ऊर्जा नेपालको दीर्घकालीन समृद्धिको आधार बन्न सक्छ ।

समृद्धिको खुला ढोका पर्यटन : नेपाल प्राकृतिक, सांस्कृतिक र आध्यात्मिक सम्पदाले सम्पन्न देश हो । हिमाल, नदी, जंगल, जैविक विविधता, ऐतिहासिक सम्पदा र विविध संस्कृतिले नेपाललाई विश्वमा अद्वितीय बनाएको छ । तर, यति धेरै सम्भावना हुँदाहुँदै पनि अपेक्षित लाभ हासिल गर्न सकिएको छैन ।

पर्यटनलाई अझै संख्यामा मात्र मापन गर्ने प्रवृत्ति छ, जबकि वास्तविक लाभ गुणस्तरमा निर्भर हुन्छ । एक पर्यटकले कति खर्च गर्छ, कति दिन बस्छ र कस्तो अनुभव लिएर फर्किन्छ, यी महत्वपूर्ण हुन्छन् । पर्यटनले बहुआयामिक लाभ दिन्छ । यसले रोजगारी सिर्जना गर्छ, कृषि उत्पादनको माग बढाउँछ, हस्तकला प्रवर्द्धन गर्छ र स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउँछ । विशेषगरी, ग्रामीण पर्यटनले गाउँमै रोजगारी सिर्जना गर्न सक्छ ।

नेपालले पर्यटनलाई रणनीतिक उद्योगका रूपमा विकास गर्नुपर्छ । साहसिक, धार्मिक, सांस्कृतिक, स्वास्थ्य, योग, वन्यजन्तु र कृषि पर्यटनलाई एकीकृत रूपमा अघि बढाउनुपर्छ । होमस्टे, स्थानीय खाना, सांस्कृतिक कार्यक्रममार्फत स्थानीय समुदायलाई प्रत्यक्ष रूपमा पर्यटनसँग जोड्नुपर्छ ।

सरकारले पूर्वाधार विकास, सुरक्षा, स्वास्थ्य सेवा र डिजिटल प्रचारमा ध्यान दिनुपर्छ । निजी क्षेत्रले गुणस्तरीय सेवा, होटेल, यातायात र पर्यटन प्याकेज विकास गर्नुपर्छ । डिजिटल मार्केटिङ, अनलाइन प्लेटफर्म र अन्तर्राष्ट्रिय ब्रान्डिङ अत्यन्त आवश्यक छन् । नेपालले गुणस्तरीय पर्यटन विकास गर्न सक्यो भने पर्यटन वैदेशिक मुद्रा आर्जनको प्रमुख स्रोत बन्न सक्छ ।

(श्रेष्ठ युवा उद्यमी हुन्)

सुझावित समाचार