विराटनगर जुटमिल क्षेत्रका अतिक्रमण हटाइँदै, ६ सय परिवार विस्थापित हुने

बिहिबार, १७ बैशाख, २०८३
डिजिटल संस्करण

सरकारको निर्देशनअनुसार सरकारी जग्गा अतिक्रमण गरेर बसेकालाई हटाउने तयारी भएपछि विराटनगर जुटमिल र सुनसरी–मोरङको प्रशाखा नहरआसपास बस्दै आएका भूमिहीनमा खैलाबैला मच्चिएको छ । संघीय सरकारको निर्देशनअनुसार जिल्ला प्रशासन कार्यालय, मोरङले विराटनगर जुटमिलको जग्गा र विराटनगर महानगरभित्र रहेको सुनसरी–मोरङ सिँचाइ आयोजनाको प्रशाखा नहरआसपास बस्दै आएकालाई हटाउने तयारी गरेको हो ।

संघीय सरकारको निर्णय कार्यान्वयन गराउन मोरङ प्रशासनले विराटनगरको मिल्स एरियामा रहेको बन्द अवस्थामा रहेको विराटनगर जुटमिलभित्र र बाहिर वर्षौँदेखि बस्दै आएकालाई हटाएर १४ बिघा जमिन खाली गराउने तयारी गरेको छ । जसले गर्दा विराटनगर जुटमिल क्षेत्रको हटताली हाट, दक्षिण गेट, हरिनगरा भट्टालगायत क्षेत्रमा बसोबास गर्दै आएका करिब ६ सय परिवार प्रत्यक्ष विस्थापित हुनेछन् । सँगै जुटमिलअगाडि सडक किनारमा भाडा नतिरी सञ्चालनमा रहेका ३० वटा पसल पनि हटाउने तयारी रहेको विराटनगर जुटमिल सञ्चालक समितिका अध्यक्ष राजेन्द्र कार्कीले बताए । उनका अनुसार जुटमिलको जग्गा अतिक्रमण गर्नेलाई हटाउने प्रक्रिया औपचारिक रूपमा सुरु भइसकेको र एक साततापछि आफैँ नहटे डोजर लगाएर खाली गराइनेछ ।

बन्द अवस्थामा रहेको जुटमिलभित्र र बाहिर पहिले मजदुरका रूपमा काम गर्दै आएकाको परिवार बसोबास गर्दै आएका छन् । तर, जुटमिलभित्र र बाहिर जग्गा र घरटहरा अतिक्रमण गरेर केही व्यक्तिले ठुल्ठुला संरचना बनाउने र साना उद्योगहरूसमेत सञ्चालन गरिरहेका छन् । जुटमिलको एरियामा बस्दै आएकाले भने आफूहरूकै कारण बन्द जुटमिलको सम्पत्ति संरक्षण हुन सकेको भन्दै सरकारले हटाउँदा विकल्प दिनुपर्ने माग गरेका छन् । सरकारले हटाउने निर्णय गरेको सूचना पाएपछि मंगलबारदेखि नै स्थानीयले संघर्षमा उत्रने तयारी थालेका छन् ।

राणाकालीन समय १९९३ मा स्थापना भएको विराटनगर जुट मिल्स नेपालकै जेठो औद्योगिक प्रतिष्ठानमध्ये एक हो । यसको स्थापनासँगै मोरङ–सुनसरी औद्योगिक करिडोरको विकासले गति लिएको थियो । एक समय हजारौँलाई रोजगारी दिएको यो उद्योग ०७० देखि पूर्ण रूपमा बन्द छ । जुटमिलको जमिन, मेसिनरी र संरचनासहित ३० अर्बभन्दा बढीको सम्पत्ति छ । तर उचित सुरक्षासहितको रेखदेखको अभावमा जुटमिलभित्र रहेका धेरै मेसिनरी, पार्टपुर्जा, काठपात र संरचना चोरी भइसकेका छन् । सरकारले बन्द भएको विराटनगर जुटमिल पटक–पटक सञ्चालन गराउन खोजे पनि सकेको छैन । ऐतिहासिक र ठुलो उद्योग विराटनगर जुटमिल स्थापना भएकै कारण विराटनगरको सीमाक्षेत्रमा पर्ने रानी क्षेत्रलाई मिल्स एरिया भन्न थाालिएको थियो । तर, जुटमिललगायत अन्य मिल पनि क्रमशः बन्द हुँदै गएपछि अहिले मिल्स एरियामा चहलपहल देखिन्न ।

सरकारले काठमाडौंलगायत मुख्य सहरमा बसोबास गर्दै आएकालाई हटाउन थालेपछि विराटनगर महानगरमा सरकारी र निजी जग्गामा बासोबास गर्दै आएका हजारौँ सुकुमवासी त्रासमा छन् । विराटनगरका विभिन्न १९ वटा वडामा ऐलानी जमिनमा बसोबास गर्दै आएका करिब ६ हजार घरपरिवार सुकुमवासी सरकारले विनाविकल्प हटाउन लागेको भन्ने भयले त्रासमा परेका हुन् । वर्षौँदेखि बसोबास गर्दै आएका आफूहरूलाई विकल्प दिएर मात्र हटाउनुपर्ने उनीहरूले माग गरेका छन् । विराटनगर महानगरका पूर्वतर्फ सिँघिया, पश्चिमतर्फ केसलिया, सीमाक्षेत्रदेखि बिचबिचमा रहेका खाली ऐलानी जमिन र सिँचाइ नहरको किनारमा सुकुमवासीहरू वर्षौँदेखि बासोबास गर्दै आएका छन् । निजी जमिनमा बस्दै आएका सुकुमवासीको संख्या विराटनगरमा सयौँ छ । 

सुझावित समाचार