सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारको कामको गतिसँग तालमेल मिलाउन अध्यादेश ल्याइएको बताएका छन्।
बुधबार सिंहदरबारमा पत्रकारहरूसँग कुरा गर्दै सभापति लामिछानेले अध्यादेशको नियतमा शंका नगर्न आग्रह गरे। यसअघिका सरकारले जस्तो पार्टी फुटाउने, नागरिकलाई दुःख दिने, आफ्नालाई बचाएर अर्कालाई फसाउने गलत मनसाय नभएको उनको भनाइ छ।
राजनीतिक नियुक्तिमा प्रश्न उठेपछि त्यसलाई सम्बोधन गर्न जनताले रास्वपालाई म्यान्डेट दिएको प्रस्ट पार्दै सभापति लामिछानेले भने, ‘त्यसलाई हटाऊ, फेर भनेर हामीले म्यान्डेट पाएको होइन र? जुन चिजलाई कुर्नुभन्दा छिटो गर्नु वान्छनीय हुन्छ, त्यस्ता कुरालाई अध्यादेशमार्फत सरकारले ल्याएको हो।’
अदालतको पूर्णपाठ नआउँदा संवैधानिक परिषदमा समेत रिक्तताको अवस्था भएको उल्लेख गर्दै उनले भने, ‘अब यो रिक्तता राखिरहँदा कैयौँ संवैधानिक निकायमा पदपूर्ति गर्नुपर्ने अवस्था छ। हामी जुन स्पिडमा काम गरिरहेका छौँ, त्यो स्पिडलाई त म्याच गर्नुपर्ला।’