*नेप्सेका अध्यक्ष हेमन्त बस्यालले दिए राजीनामा

मंगलबार, १५ बैशाख, २०८३
डिजिटल संस्करण

सरकारी स्वामित्वको नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अध्यक्ष हेमन्त बस्यालले राजीनामा दिएका छन् । उनले सोमबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई राजीनामा बुझाएका हुन् । मन्त्रालयका एक उच्च अधिकारीले नेप्सेका अध्यक्षको राजीनामा प्राप्त भई स्वीकृति पनि भइसकेको बताए ।

२० भदौ ०८२ को मन्त्रिपरिषद्ले बस्याललाई अध्यक्षमा नियुक्ति गरेको थियो । यद्यपि, उनी जेन–जी आन्दोलनपछि अन्तरिम सरकार बनेपछि पदभार ग्रहण गरेका थिए । २१ फागुन चुनावसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को एकल बहुमतको सरकार बनेको छ । रास्वपाले राजनीतिक नियुक्ति लिएकालाई राजीनामा दिन आग्रह पनि गर्दै आएको थियो । सोहीअनुसार नेप्सेका अध्यक्षले राजीनामा दिएको स्रोतको भनाइ छ । यसअघि नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले राजीनामा दिएका थिए ।

नयाँ पत्रिकासँगको कुराकानीमा बस्यालले राजीनामा दिएको बताए । ‘अहिले मुलुकमा झन्डै दुईतिहाइ बहुमतको सरकार छ । नयाँ सरकार बनेपछि राजनीतिक नियुक्ति भएकाले मार्गप्रशस्त गर्नुपर्ने भन्ने विषयमा पनि कुरा आए, त्यसपछि म राजीनामा गर्ने मनसायमै थिएँ,’ उनले भने, ‘राजनीतिक नियुक्ति भए पनि म व्यावसायिक व्यक्ति हुँ । मुलुकको बदलिँदो परिवेशलाई लक्षित गर्दै व्यावसायिक आचरणअनुसार नै राजीनामा दिएको हुँ ।’ 

*(अर्थमन्त्रालयका उच्च अधिकारीले अध्यक्ष र सिईओ दुबैले राजीनामा गरेकाे सूचना दिएकाे भएपनि सिईओले भने हालसम्म राजीनामा नबुझाएकाले यस अघिको शीर्षक अन्यथा हुन गएकोमा क्षमायाचना सहित सच्याएका छौ- सम्पादक)

See More On

सुझावित समाचार