काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले सुकुमवासी बस्ती हटाएर खाली गराइएको सार्वजनिक जग्गाको संरक्षणका लागि काम थाल्न निर्देशन दिएकी छिन् ।
थापाथलीस्थित बागमती नदीकिनारामा शनिबार खाली गराइएको स्थानको निरीक्षण गर्दै उनले आइतबार प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई अहिले तथा यसपछि खाली गराइने ठाउँहरूको सुरक्षा र संरक्षणका लागि तारबार लगाउन अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिलगायत सरोकारवाला कार्यालयसँग समन्वय गर्न र सार्वजनिक निर्माण विभागबाट तारबार लगाउने काम थाल्न निर्देशन दिएकी हुन् ।
आइतबार कार्यवाहक प्रमुख डंगोलले नागार्जुनको इचंगुस्थित कोलोनीको भौतिक अवस्थाको निरीक्षण गरेकी थिइन् । अव्यवस्थित बस्तीका वास्तविक भूमिहीनलाई यी भवनहरूमा राख्ने योजना छ । नदीकिनाराका सार्वजनिक तथा सरकारी पर्ती जग्गामा अनधिकृत संरचना बनाएर राखिएका बस्ती खाली गराउने क्रममा बागमती नदी खण्डको थापाथली क्षेत्रको बस्ती वैशाख १२ गते खाली गराइसकिएको छ । यसका लागि महानगरपालिकाभित्र भएका अनधिकृत बस्ती बसोबास गरिरहेका व्यक्ति आफैँलाई खाली गराउन बिहीबारदेखि माइकिङ गरेर सूचित गरिएको थियो ।