मकवानपुरको थाहा नगरपालिका– ९, माझगाउँमा आएको हावाहुरीले १० घरपरिवारका घर तथा गोठमा क्षति पुर्याएको छ । शुक्रबार साँझ आएको हावाहुरीबाट करिब १९ लाख पाँच हजार रुपैयाँबराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार हावाहुरीका कारण स्थानीय कर्ण बलामीको दुईवटा घरमा जस्तापाता, काठ, फर्निचर, झ्यालढोका तथा अन्नपातमा करिब १२ लाख रुपैयाँबराबरको क्षति भएको छ । यस्तै, गोपाल बलामीको घरमा ट्रस, जस्तापाता, इँटा र काठमा एक लाख रुपैयाँबराबरको क्षति पुगेको छ ।
सोही स्थानका घटोकप बलामीको भेडाबाख्राको गोठ तथा घरमा एक लाख ५० हजार, जनकदास बलामीको घरको छानो उडाउँदा एक लाख, बुद्धिबहादुर बलामीको घरमा एक लाख रुपैयाँबराबरको क्षति भएको छ ।
यसैगरी, कृष्ण बलामी र रमेश बलामीका घरमा जनही ५० हजार रुपैयाँबराबरको क्षति पुगेको छ भने राजन बलामीको बाख्राको गोठमा ९० हजार रुपैयाँबराबरको क्षति भएको छ । हेमकुमारी बलामीको घरमा ४० हजार तथा ओमबहादुर बलामीको घरको झ्याल र सिसा फुट्दा २५ हजार रुपैयाँबराबरको क्षति भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार घटनामा मानवीय तथा चौपाया क्षति भने भएको छैन । घटनाबारे जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय चित्लाङबाट प्रहरी सहायक निरीक्षक रमेशप्रसाद यादवको कमान्डमा टोली खटिएको र प्रभावित क्षेत्रमा प्रारम्भिक अनुगमन तथा क्षतिको विवरण संकलन कार्य जारी रहेको प्रहरीले जनाएको छ।