पुरानाको विरोध गर्दा जनता किन खुसी भए भन्ने समीक्षा गर्नुपर्छ : वर्षमान पुन

आइतबार, १३ बैशाख, २०८३
डिजिटल संस्करण

नेपाली कम्युनिस्ट पार्टीका नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले पुराना दलहरूको कमजोरीको जगमा राष्ट्रिय स्वतन्त्र पार्टीको उदय भएको बताएका छन्।

पुनले ३६ वर्ष सत्तामा रहेका कांग्रेस–एमाले र १८ वर्ष सत्तामा बसेका आफूहरूकै कमजोरीको जगमा लोकप्रियतावादीहरूको जन्म भएको स्वीकार गर्न हिच्किचाउन नहुने बताएका हुन्

१७३औँ विश्व मजदुर दिवसमा अखिल नेपाल ट्रेड युनियन महासंघले आइतबार काठमाडौंमा आयोजना गरेको अन्तरक्रियामा उनले पुराना दल, नेता तथा लोकतान्त्रिक संस्थाहरूको विरोध गर्दा जनता किन खुसी भए भन्नेबारे गम्भीर समीक्षा नगरे आफूहरूतर्फ जनमत फर्कने सम्भावना नरहेको प्रस्ट पारे।

‘विद्यालय र विश्वविद्यालयमा हामीले विद्यार्थी संगठन, उद्योग प्रतिष्ठानमा मजदुर संगठन, सरकारी निकायमा कर्मचारी संगठन र शैक्षिक संस्थामा शिक्षक संगठनको परिचालनमा हामी कहाँ चुक्यौँ ? किन नागरिक संस्थाहरू खारेज हुनुपर्छ भन्दा जनता खुसी हुने अवस्था आयो ? लोकतान्त्रिक अधिकार खुम्चिँदा पनि नागरिक खुसी हुने अवस्था कसरी आयो ? यसमा पार्टीहरूले र नेताहरूले पनि आफ्ना कमजोरीको गम्भीर आत्मसमीक्षा गर्न जरुरी छ,’ उनले भने। 

विश्वभर नै उदार लोकतन्त्रको असफलतापछि नवउदारवादी व्यवस्था उदाएको र त्यससँगै लोकप्रियतावाद अगाडि आएको चर्चा गर्दै पुनले त्यसैको बाछिटा नेपाली राजनीतिमा परेको तर्क गरे। लोकप्रियतावादी शक्तिले जनमतबाट आएर शासन गर्ने प्रवृत्ति संसारभर नै रहेको उनले उल्लेख गरे।

नेपालको लोकप्रियतावाद बहुसंख्यावादी र उच्चवर्गीय अधिकारमा केन्द्रित भएकाले अल्पसंख्यक, अल्पमत र निर्धाहरूप्रति अनुदार रवैया अपनाउन थालिएको टिप्पणी उनको छ। पछिल्लो समय सुकुमवासी बस्तीमाथि गरिएको आक्रमणले सरकार सहरलाई संभ्रान्तहरूको मात्र बनाउन उद्यत देखिएको आरोप पुनले लगाए।

यद्यपि, सरकारले राम्रो गर्दा पनि विरोध गर्नैपर्ने परम्परागत शैलीको प्रतिपक्षी भूमिका आफूहरूबाट नहुने पनि  उनले प्रस्ट पारे। संसदीय लोकतन्त्रमा ताजा जनादेश प्राप्त सरकारलाई सय दिनसम्म आलोचना नगर्ने परम्परा रहेको भन्दै उनले पहिला काम हेर्ने बताए।

सुझावित समाचार