स्याङजामा चट्याङ लागेर घाइते भएका एकजनाको उपचारका क्रममा मृत्यु भएको छ भने एकजना घाइते भएका छन्।
शुक्रबार अन्दाजी ७ बजे स्याङ्जाकाे विरुवा गाउँपालिका वडा नम्बर २ श्रीडाँडा बस्ने वर्ष २० का मिलन विकलाई चट्याङ लागेकाे थियाे । चट्याङ लागेर घाइते उनकाे उपचारको क्रममा शनिबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रशन्न राज चौधरीले जानकारी दिए ।
आफ्नै घरमा बसिरहेको अवस्थामा चट्याङ लागि घाइते भएका विकलाई उपचारका लागि प्रदेश अस्पताल पुतलीबजार स्याङ्जा लगिएकोमा उपचारका क्रममा शनिबार चिकित्सकले मृत घोषणा गरेका थिए । यसैगरी शुक्रबार दिउँसाे हरिनास गाउँपालिका वडा नम्बर ४ सारुथर बस्ने वर्ष ५० का तेजबहादुर थापा चट्याङको झड्का लागि घाइते भएकोमा उपचारपछि उनी डिस्चार्ज भएका चौधरीले जानकारी दिए ।
चौधरीका अनुसार थापाको घरदेखि करिव तीन सय मिटर दक्षिणतर्फ रहेको कुखुराको फर्ममा परेको चट्याङको झड्काका कारण थापा घाइते भएका थिए । चट्याङको झड्काका कारण घाइते भएका थापालाई तत्कालै उपचारका लागि सेतीगंगा अस्पताल तनहुँ लगिएकोमा उपचारपश्चात डिस्चार्ज भएका थिए ।
चौधरीका अनुसार चट्याङको कारण कुखुराको फर्ममा रहेका साना ठुला गरी पाँच सय ५० वटा कुखरा मरेका थिए भने फर्म पूर्ण रूपमा क्षति भएको थियो ।