छायामा उभयचर संरक्षण

शनिबार, १२ बैशाख, २०८३
डिजिटल संस्करण
  • उभयचर संरक्षण विश्वमै एउटा चुनौतीको विषय हो, वातावरण संरक्षणमा उभयचर वर्गमा पर्ने जीवलाई निकै कम प्राथमिकतामा राखिने गरिन्छ । उभयचर संरक्षणको विषयलाई हास्यव्यंग्यमा उडाइनेसमेत गरिन्छ, तर यो हाँसोमा उडाइने विषय भने पक्कै होइन ।

मानवीय गतिविधिका कारण हाल विश्वमा विभिन्न वातावरणीय संकट देखा परेका छन् । जैविक विविधताको ह्रास यस्तै एक प्रमुख वातावरणीय संकट हो । जैविक विविधताका समग्र अवस्थामा परेको प्रभावको तुलनात्मक रूपमा विश्लेषण गर्दा मेरुदण्ड भएका जीवमध्ये उभयचरको अवस्था संकटग्रस्त छ, तर तिनीहरूको संरक्षणका लागि खासै पहल भएको पाइँदैन । 

के हुन् उभयचर ?
जल र जमिन दुवैमा रहने गरी उदय भएका उभयचर विशिष्ट प्रकृतिका जीव हुन् । उभयचर मानिसभन्दा धेरै अगाडिदेखि पृथ्वीमा रहेका प्रजाति हुन् । तर, आज उभयचर मानिसका कारण नै लोप हुने अवस्थामा पुगेका छन् । उभयचर करिब ३६ देखि ३७ करोड वर्षपहिले उत्पत्ति भएका जीव हुन् ।

पारिस्थितिक प्रणालीमा उभयचरको आफ्नै उल्लेखनीय भूमिका छ, जसले वातावरण सन्तुलन, खाद्यचक्र, पानीको गुणस्तर कायम गर्न र विभिन्न रोग, जस्तै– डेंगु, मलेरियाको नियन्त्रण गर्न अत्यन्त महत्वपूर्ण भूमिका निर्बाह गरेको हुन्छ । जुन हाम्रै स्वस्थ दैनिकीसँग आएर जोडिएको हुन्छ ।

के छ उभयचरको अवस्था ?
विश्वभर उभयचरको नौ हजारभन्दा धेरै प्रजाति अभिलेख भएका छन् । प्रत्येक वर्ष १५० देखि १७० नयाँ प्रजाति रेकर्ड हुँदै भइरहेको पाइन्छ । जसमध्ये हालसम्म अभिलेख भएका प्रजातिमध्ये ४१ प्रतिशत उभयचर प्रजाति लोपोन्मुख सूचीमा छन् । जसले गर्दा उभयचर संरक्षणले प्राथमिकता पाउन अत्यावश्यक छ । नेपालमा मात्र ५७ भन्दा धेरै प्रजातिका उभयचर अभिलेख भएका छन् ।

उभयचर संरक्षण विश्वमै एउटा चुनौतीको विषय हो, वातावरण संरक्षणमा उभयचर वर्गमा पर्ने जीवलाई निकै कम प्राथमिकतामा राखिने गरिन्छ । उभयचर संरक्षणको विषयलाई हास्यव्यंग्यमा उडाइनेसमेत गरिन्छ, तर यो हाँसोमा उडाइने विषय भने पक्कै होइन । मुख्यतः संरक्षण कार्य ठुला स्तनधारी वर्गमा पर्ने बाघ, गैंडा र हात्तीजस्ता प्रजाति प्राथमिकतामा राखेर नीति–नियम बनाइन्छन् । तर, आकारमा ठुला जीवको संरक्षणका लागि तयार पारिएको नियमले स–साना उभयचरको संरक्षण प्रभावकारी हुँदैन । 

वर्तमान स्थिति नियाल्दा विशेषगरी मानव जातिको आवश्यकता परिपूर्ति र सहज जीवनयापन गर्नका लागि मात्रै वातावरणमा विशेष ध्यान दिइएको महसुस गर्न सकिन्छ । तर, वातावरण मानव जातिको मात्र नभई सम्पूर्ण जीवको साझा वासस्थान हो । वातावरणमा मानिससरह अरू प्रजातिले आफ्नो आवश्यकता व्यक्त गर्न नसक्नाले नै अन्य जीवमाथिको असरलाई बेवास्ता गरिएको छ । 

कुनै पनि लोपोन्मुख प्रजातिको संरक्षण गर्न उक्त प्रजातिको वासस्थान, मुख्य जोखिम, प्रजातिको संख्या, वासस्थानले थेग्न सक्ने संख्या कति हो भन्ने जानकारी हुन आवश्यक हुन्छ । नेपालमा उभयचर संरक्षणमा निकै थोरै काम भएका छन्, जसको मुख्य कारण यसको संरक्षणलाई सरकारीस्तरबाट प्राथमिकतामा नराख्नु पनि हो । त्यसैले कुनै पनि प्रजाति संरक्षण गर्ने योजना तयार गर्दा वातावरणमा हुने सम्पूर्ण मेरुदण्ड भएका जीवजन्तु, जस्तै– माछा, चरा, उभयचर, सरीसृप र स्तनधारी प्राणी संलग्न गराइनु आवश्यक हुन्छ । 

संरक्षण शिक्षाको अभाव
उभयचर संरक्षणको कुरा समुदायमा राख्नु नै पहिलो चुनौतीको विषय हुन्छ, किनभने उभयचर प्रजातिको संरक्षण गर्नुको आवश्यकतालाई ध्यानमा राखी स्थानीय समुदायमा कुनै किसिमको संरक्षण कार्यक्रम सञ्चालन भएकै छैनन् । जसको कारणले उक्त प्रजातिको वासस्थानको स्थिति र निरन्तर घटिरहेको संख्याको आकलन स्थानीय समुदायमा नभएको पाइन्छ ।

जानेर वा नजानेर उभयचरका प्रजाति निरन्तर घट्दो क्रममा छन्, जसको मुख्य कारण हामी नै हौँ । नेपालको पहाडी र हिमाली क्षेत्रमा पाहाको सिकार गर्ने प्रचलन प्रशस्त भेटिन्छ, जसको कारणले यी प्रजाति लोपोन्मुख सूचीमा परिसकेका छन् । यो स्थितिको जानकारी स्वयं स्थानीय समुदायमा पनि नभएको पाइन्छ । पाहा सिकार गरेर खानु कुनै गलत भने होइन, तर अत्यधिक संकलन, चेपागाडाको अत्यधिक खपतले गर्दा उक्त प्रजातिको अस्थित्व नै लोप भएर जाने जोखिम बढ्दो क्रममा छ । 

मानवीय गतिविधिकै कारण कुनै पनि जीवको अस्थित्व नै संकटमा पर्नु भनेको सकारात्मक पक्ष कदापि मान्न सकिँदैन । नेपालमा सञ्चालन भइरहेको उभयचर संरक्षण कार्यक्रम दिगो रूपमा कार्यान्वयन गर्न पर्याप्त छैनन् । हालै चितवनमा सम्पन्न भएको परियोजनाअन्तर्गत गरिएको सर्वेक्षणमा केन्द्रित गरिएको माहाभारत टोरेन्ट भ्यागुता लोपोन्मुख प्रजातिमध्ये एक हो भनेर सम्पूर्ण उत्तरदातामा जानकारी नभएको पाइएको छ । जसले यो संकेत गर्छ कि वातावरणमा रहेका यस्ता लोपोन्मुख प्रजाति स्थानीय समुदायमा थाहा नहुँदै लोप हुने स्थितिमा रहेका छन् । यस सर्वेक्षण एक उदाहरण मात्र हो । बढ्दो मानवीय गतिविधिले गर्दा पर्यावरणमा रहेका निर्दोष प्रजातिमा पर्न गएको असरबारे समाज अझै बेखबर छ । 

पाठ्यक्रमसँग जोडिएको उभयचर संरक्षण
हाम्रो विद्यालयस्तरको पाठ्यक्रममा खाद्यचक्रको अध्ययन गर्दा उभयचरको महत्वको विषयमा हामीले पढेका छौँ । तर, सो प्रजातिको स्थिति कस्तो छ, संरक्षणका लागि के–कस्ता प्रयास भइरहेका छन् भन्ने कुरामा पर्याप्त ध्यान दिइएको पाइँदैन । त्यसैले, संरक्षणको आवश्यकताका विषय र कार्यक्रममा विद्यालयस्तरबाट नै विद्यार्थीलाई संलग्न गराउनाले विद्यार्थीको सोचाइ परिवर्तन गर्न मद्दत गर्छ, जसले गर्दा संरक्षण कार्य प्रभावकारी ढंगले कार्यान्वयन गर्न सकिन्छ ।

वातावरणको दिगो संरक्षण तब मात्र सम्भव हुन्छ, जब सम्पूर्ण जीवको बाँच्ने अधिकार सुनिश्चित गरेर संरक्षणको स्थायित्व कायम गरिन्छ । उभयचर संरक्षणका लागि स्थानीय समुदाय र विद्यार्थी वर्ग जागरुक हुन अत्यन्त जरुरी छ । यदि संरक्षणको महत्व, वातावरणीय स्थितिको ज्ञान स्थानीय समुदायमा पर्याप्त भए मात्र संरक्षण कार्य दिगो रूपमा कार्यान्वयन गर्न सकिन्छ । कुनै पनि खपत गरिने उभयचर प्रजातिको संकलन गर्ने समय हेरफेर गर्नेजस्तै प्रजनन समय, मुख्यतः वैशाख–जेठमा कम संकलन गर्ने, चेपागाडा नमार्ने, जसले गर्दा उक्त प्रजातिको संख्या सन्तुलनमा राख्न मद्दत पुग्छ, सो प्रजातिको अस्थित्व जोगाउन सकिन्छ । हामीले गरेको सानो परिवर्तनबाट नै उभयचर प्रजातिको संरक्षण सम्भव छ ।
 

See More On

सुझावित समाचार