- युट्युब, फेसबुक वा इन्स्टाग्रामजस्ता प्लेटफर्मलाई केवल समय खेर फाल्ने माध्यमका रूपमा मात्र हेर्नु गलत हुन्छ । सही प्रयोग गर्दा यी प्लेटफर्म सिकाइ र प्रेरणाको स्रोत बन्न सक्छन्
बालबालिकाको जीवनमा छुट्टी केवल रमाइलो र आराम गर्ने समय मात्र होइन, सिकाइ, खोज र विकासको महत्वपूर्ण अवसर पनि हो । अभिभावकहरू प्रायः आफ्ना सन्तानलाई खुसी, आत्मनिर्भर र सफल बनाउने सपना देख्छन् । तर, त्यो कसरी सम्भव हुन्छ ? बाल विकास सन्तुलित वातावरण, सही मार्गदर्शनबाट हुन्छ ।
बालबालिकाले जीवनका महत्वपूर्ण सीप, जस्तै टिमवर्क, आत्मविश्वास र प्रतिबद्धता, किताबबाट मात्र सिक्दैनन् । उनीहरूले आफ्नो वरपरको वातावरण, खेलकुद, साथीभाइ, परिवार र सामाजिक सञ्जालबाट सिक्दै जान्छन् । बालबालिकालाई सिकाउन खोज्नेभन्दा उनीहरूलाई अनुभव गराउन दिनु धेरै प्रभावकारी हुन्छ ।
बच्चाहरूको शारीरिक विकासका लागि धेरै ग्याजेट चलाउनुभन्दा उनीहरूलाई बाहिरी गतिविधिमा सहभागी गराउनु उपयुक्त हुन्छ । विशेषगरी, खुला मैदानमा खेलिने विभिन्न खेलकुदमा उनीहरूको सहभागिता बढाउनु आवश्यक छ । जस्तै– स्विमिङ, फुटबल, टेबलटेनिसलगायत शारीरिक खेलमा संलग्न गराउँदा बच्चाहरूको शारीरिक विकासमा सकारात्मक प्रभाव पर्छ । उदाहरणका लागि, समूहमा खेल्दा उनीहरूले सहकार्य, नियमको पालना र हारजितलाई स्वीकार गर्ने बानी विकास गर्छन् । यस्ता साना अनुभवले नै उनीहरूको व्यक्तित्व निर्माण गर्छ ।
केही इन्डोर खेल पनि उपयोगी हुन्छन्, जसले बच्चाहरूको मानसिक विकासमा सहयोग गर्छ । यस्ता खेलले उनीहरूको सोच्ने क्षमता, ध्यान र सिर्जनशीलता बढाउन मद्दत पुग्छ । बच्चाहरूको ह्यान्ड स्किल्स (हातको सीप) विकास गर्न लेख्ने अभ्यास गराउने, चित्र कोर्ने (पेन्टिङ) जस्ता क्रियाकलापमा सहभागी गराउनु पनि महत्वपूर्ण हुन्छ । यस्ता गतिविधिले उनीहरूको समग्र शारीरिक र मानसिक विकासमा सहयोग पुर्याउँछ ।
मानसिक विकासका लागि पढाइ–लेखाइमा पनि ध्यान दिनुपर्छ । कथा–किताब पढ्ने, विभिन्न माइन्ड गेम खेल्ने जस्ता गतिविधि उपयोगी हुन्छन् । समग्रमा, बच्चाहरूको सन्तुलित विकासका लागि आउटडोर गतिविधिमा बढी संलग्न गराउने, खेलकुदमा सहभागी गराउने र घरभित्र पनि सिर्जनात्मक तथा बौद्धिक गतिविधिमा जोड दिनु आवश्यक छ ।
डिजिटल दुनियाँ : जोखिम कि अवसर ?
आजको समय डिजिटल दुनियाँबाट टाढा रहन सम्भव छैन । मोबाइल, टिभी, भिडियो गेम, सामाजिक सञ्जाल, यी सबै बालबालिकाको दैनिक जीवनको हिस्सा बनिसकेका छन् । तर, यसको अत्यधिक प्रयोगले शारीरिक र मानसिक समस्या निम्त्याउन सक्छ । डिजिटल उपकरणलाई पूर्ण रूपमा निषेध गर्नुभन्दा त्यसको सही प्रयोग सिकाउनु जरुरी छ । मोबाइल वा स्क्रिनको प्रयोग पूर्ण रूपमा बन्द गर्नु आवश्यक नभए पनि त्यसलाई सीमित राख्दै ज्ञानवर्द्धक सामग्री हेर्ने बानी बसाल्नु राम्रो हुन्छ ।
निश्चित समय तोकेर मात्र मोबाइल वा टिभी प्रयोग गर्न दिने, सामग्री छनोटमा ध्यान दिने र शैक्षिक, सिर्जनात्मक र प्रेरणादायी सामग्रीतर्फ ध्यान मोड्नुपर्छ । डिजिटल प्रयोगपछि अन्य गतिविधिमा सहभागी गराउनुपर्छ । यसरी सन्तुलित प्रयोगले बालबालिकालाई डिजिटल दुनियाँको सकारात्मक पक्षबाट लाभ उठाउन मद्दत गर्छ ।
युट्युब, फेसबुक वा इन्स्टाग्रामजस्ता प्लेटफर्मलाई केवल समय खेर फाल्ने माध्यमका रूपमा मात्र हेर्नु गलत हुन्छ । सही प्रयोग गर्दा यी प्लेटफर्म सिकाइ र प्रेरणाको स्रोत बन्न सक्छन् । अभिभावकले राम्रो, सिर्जनात्मक र ज्ञानवर्द्धक सामग्री बालबालिकासँग सेयर गर्नुपर्छ । यसले उनीहरूमा सकारात्मक सामग्री खोज्ने बानी विकास गर्छ ।
शारीरिक गतिविधिमा सक्रिय गराउनुपर्छ । दौड, खेलकुद, साइक्लिङ, पौडीजस्ता गतिविधिले बालबालिकाको शारीरिक विकासलाई मजबुत बनाउँछ । चित्रकला, संगीत, नाटक, हस्तकलाजस्ता गतिविधिले उनीहरूको कल्पनाशक्ति र सिर्जनशीलता बढाउँछ ।
कथा, चित्र पुस्तक वा जानकारीमूलक सामग्री पढ्दा भाषा र सोच्ने क्षमता विकास हुन्छ । सामाजिक सञ्जालले बालिबालिकालाई एकलकाँटे बनाएको छ । त्यसैले आफन्त भेटघाट, सामूहिक खेल वा यात्राले सामाजिक व्यवहार सिकाउँछ ।
विभिन्न संस्कृतिका कथा, वृत्तचित्र वा फिल्म हेर्दा बालबालिकाको सोच विस्तार हुन्छ । उनीहरूले फरक जीवनशैली, मान्यता र अनुभवबारे बुझ्न थाल्छन् । बालबालिकालाई विविध अनुभवसँग परिचित गराउनु उनीहरूको मानसिक विकासका लागि अत्यन्त आवश्यक छ ।
बालबालिकाको छुट्टीको समय केवल फुर्सद होइन, भविष्य निर्माणको अवसर पनि हो । सही वातावरणले उनीहरूको शारीरिक तथा मानसिक विकासमा ठुलो भूमिका खेल्छ । अभिभावकको भूमिका यहाँ निर्णायक हुन्छ । निर्देशन दिनु मात्र होइन, सँगै समय बिताउनु, बुझ्नु र प्रेरित गर्नु अझ महत्वपूर्ण हुन्छ ।
(डा. ओझा बालविकासविज्ञ हुन् )