शुक्रबार १० बजेसम्मका प्रमुख १० खबर

शुक्रबार, ११ बैशाख, २०८३
डिजिटल संस्करण

पूर्वमन्त्री विक्रम पाण्डेसहित दुई ठेकेदार पक्राउ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष तथा पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले शुक्रबार पाण्डेलाई नियन्त्रणमा लिएको हो।

पूर्वमन्त्री तथा निर्माण व्यवसायीसमेत रहेका पाण्डे ०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा चितवन- ३ बाट निर्वाचित भएका थिए।

निजामती विधेयकको मस्यौदा : कर्मचारीले दलीय सदस्यता लिए बर्खास्त, सचिवको पदावधि दुई वर्ष

सरकारले संघीय निजामती सेवा विधेयकको मस्यौदा तयार गरेको छ।यो मस्यौदाले कर्मचारीको दलीय आबद्धतालाई कस्नेदेखि सचिवको पदावधि घटाउनेसम्मको प्रस्ताव गरेको छ । 

निजामती संगठनमा दलीय ट्रेड युनियन राख्ने कि नराख्ने भन्ने बहस चलिरहँदा सरकारले त्यसलाई झनै कसिलो पारेर दलीय आबद्धता देखिए मात्र पनि बर्खास्त गर्नेसम्मका व्यवस्था विधेयकको मस्यौदामा गरेको छ ।  राजनीतिक दल, तिनको भ्रातृ संगठन, जनवर्गीय संगठन वा राजनीतिक दलसँग आबद्ध संगठनको सदस्यता लिएमा, राजनीतिक क्रियाकलापमा संलग्न भएमा वा राजनीतिक दलका लागि हुने निर्वाचनमा उम्मेदवार बनेमा भविष्यमा सरकारी सेवाका लागि अयोग्य ठहरिने गरी बर्खास्त गरिने प्रस्तावसमेत सरकारले गरेको छ ।

सरकारले अव्यवस्थित बस्ती हटाएर सुरक्षित आश्रयस्थलदेखि परिचयपत्रसम्मको व्यवस्था गर्ने

सरकारले काठमाडौं उपत्यकाभित्रका अव्यवस्थित बस्ती हटाउने र हटाएपछिको विस्तृत योजना सार्वजनिक गरेको छ। शुक्रबार सहरी विकासमन्त्री सुनील लम्सालको अध्यक्षतामा विभिन्न निकाय र सरोकारवाला पक्षहरूसँगको बैठकले विस्तृत योजना सार्वजनिक गरेको हो।

बैठकले बस्ती हटाएपछि अल्पकालीन रूपमा बसोबासको प्रबन्ध मिलाउने, आवश्यक दैनिक उपभोग्य सामग्रीको व्यवस्था गर्नेलगायतका ११ निर्णय गरेको छ।

सुकुमवासी बस्ती डुबान सम्झाउँदै प्रधानमन्त्रीले भने– मान्छेको जीवनसँग खेलबाड गर्दै भोटको राजनीति गरिरहने हो ?

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नदीकिनारका बस्ती बर्सेनि डुबानमा पर्ने गरेको स्मरण गराउँदै अब भोटको राजनीति बन्द गरेर सुरक्षित वासको व्यवस्था गर्नुपर्नेमा जोड दिएका छन्।

शुक्रबार फेसबुकमा सुकुमवासी बस्ती डुबानको तस्बिरहरू पोस्ट गर्दै बालेनले लेखेका छन्, ‘बिर्सनुभयो कि सम्झनुहुन्छ, हरेक वर्षको बाढीका कारण काठमाडौँका नदीकिनारमा रहेका हजारौँ मानिस ज्यान मात्र जोगाएर आफ्ना सबै सामान छोड्दै भाग्नुपरेको अनि सरकारले उद्धार गर्नुपरेको दृश्य।’

जोखिमरहित व्यवस्थापन अव्यवस्थित बसोबासीको अधिकार रहेको प्रस्ट पार्दै प्रधानमन्त्रीले भनेका छन्, ‘अब पनि कुनै ठुलो दुर्घटना कुन दिन आउँछ भनेर कुर्दै बस्ने हो र हामी ? उहाँहरूको जीवनसँग खेलबाड गर्दै त्यही हालमा छोडेर अधिकार र भोटको राजनीति यसरी नै सधैँ गरिरहने ? उहाँहरूलाई उचित ठाउँमा व्यवस्थापन गर्नु उपयुक्त हुन्छ कि जसरी वर्षौँदेखि झुलाइयो, त्यसैगरी अबका वर्षहरूमा पनि झुलाइराख्नु ? नागरिकका रूपमा उहाँहरूले पाउने अधिकार त्यही अव्यवस्थित र डुबानको जोखिम भएको ठाउँमा बसिरहनु हो कि त्योभन्दा सुरक्षित ठाउँमा जानु हो ? पक्कै पनि जोखिमरहित व्यवस्थापन उहाँहरूको अधिकार हो।’

प्रहरीले भन्यो– सुकुमवासी व्यवस्थापनमा सहयोग गर्नुस्

नेपाल प्रहरीले सरकारले गर्न लागेको सुकुमवासी व्यवस्थापनमा सहयोग गर्न सबैसँग आग्रह गरेको छ ।

शुक्रबार सूचना जारी गर्दै सरकारले सुरु गरेको सुकुमवासी/भूमिहीन व्यवस्थापन प्रक्रिया भूमिहीनहरूको उज्ज्वल भविष्य, सुरक्षित बसोबास र सम्मानजनक जीवनयापन सुरक्षित गर्नका लागि सञ्चालन गरिएको महत्त्वपूर्ण पहल भएको जनाएको छ।

त्रासमा सुकुमवासी बस्ती, सरकारलाई चेतावनी

सरकारले बागमती नदीकिनारका सार्वजनिक जग्गामा बसेकाहरूलाई सुकुमवासी बस्ती छाड्न उर्दी गरेको छ । डोजर चलाउने सरकारको तयारीसँगै सुकुमवासी बस्ती क्षेत्र त्रसित बनेको छ । उनीहरूले सरकारको प्रतिरोध गर्ने चेतावनी पनि दिएका छन् । बस्तीमा डोजर चलाउनुभन्दा पहिले विकल्प दिनुपर्ने, वास्तविक सुकुमवासी पहिचान गर्नुपर्ने, शिक्षा र रोजगार दिनुपर्नेलगायत माग राखेका छन् । 

खटाइएका पालिकामा तीन दिनभित्र हाजिर हुन कर्मचारीलाई मन्त्रालयको अल्टिमेटम

नयाँ सरकार बनेपछि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले अहिले कारबाहीको प्रक्रिया थालेकी छिन् । लामो समयसम्म हाजिर नभएका ती कर्मचारीलाई यथाशीघ्र खटाइएका पालिकामा हाजिर हुन मन्त्रालयले अल्टिमेटम नै दिएको छ । अल्टिमेटमको अवधिमा खटाएको ठाउँमा नजाने कर्मचारीलाई विभागीय कारबाही गर्ने चेतावनी मन्त्रालयले दिएको छ ।

शेखर गोल्छाको चार दिन म्याद थप

उद्योगी शेखर गोल्छाविरुद्ध धितोपत्रसम्बन्धी कसुरमा अनुसन्धान गर्न अदालतले प्रहरीलाई चार दिनको म्याद दिएको छ। उनी बिहीबार नक्साल क्षेत्रबाट पक्राउ परेका थिए।

प्रहरीले धितोपत्रसम्बन्धी ऐन, २०६३ अन्तर्गतको आरोपमा पक्राउ पुर्जी जारी गरी गोल्छालाई हिरासतमा लिएको हो। उनी नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्षसमेत हुन्।

बाँझो खेतको अभ्यासले बगरमा दिलायो उपाधि

बैतडीको पुर्चौडी नगरपालिका– ५ को बाँझो खेतमा विद्यालय उमेरका किशोरहरू केही महिनादेखि क्रिकेट अभ्यास गरिरहेका देखिन्थे। स्थानीय युवाहरूले वडा नं. १ मा रहेको गिरिजाबगरमा पुर्चौडी प्रिमियर लिग आयोजना गरेपछि उनीहरू सहभागी मात्रै भएनन्, प्रतियोगिताको उपाधि नै जितेर फर्किए।

कांग्रेस संसदीय दलको नेता : निर्वाचन कार्यक्रम रोकेर सर्वसम्मतिको प्रयास

नेपाली कांग्रेसले संसदीय दलको नेता चयनका लागि तोकेको निर्वाचन कार्यक्रम स्थगित गरेको छ।

कांग्रेस निर्वाचन समितिले पार्टीसँगको परामर्शमा आजका लागि निर्वाचनका कार्यक्रम स्थगित गरेको हो। कांग्रेसले यसअघि आज (शुक्रबार) दलको नेता चयन गर्ने निर्णय गरेको थियो।

सुझावित समाचार