नवनिर्मित ठाकुरबाबा आधारभूत नगर अस्पतालबाट सेवा सञ्चालन

शुक्रबार, ११ बैशाख, २०८३
डिजिटल संस्करण

बर्दियाको ठाकुरबाबा नगरपालिकामा बनेको नवनिर्मित ठाकुरबाबा आधारभूत नगर अस्पतालबाट सेवा सञ्चालन भएको छ । शुक्रबारबाट ठाकुरबाबा नगरपालिका– ३, नेउलापुरमा  बनेको नवनिर्मित ठाकुरबाबा आधारभूत नगर अस्पतालबाट सेवा  सञ्चालन भएको हो ।

एक औपचारिक कार्यक्रमबिच ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख तिलकराम लम्सालले  रिबन काटेर अस्पतालको सेवा शुभारम्भ गरेका थिए  ।

नगर प्रमुख तिलकराम लम्सालले अस्पतालको भवन निर्माण भएसँगै अब अस्पतालका लागि आवश्यक पर्ने दरबन्दीका लागि संघीय सरकारले पनि सहयोग गर्नुपर्ने बताए । उनले भने, ‘स्थानीय तहले आफ्नै स्रोतमा अस्पताल सञ्चालन गर्न सक्दैन । पालिकाको सीमित स्रोत र  साधनले पर्याप्त सेवा दिन सकिँदैन । तैपनि पालिकाले स्रोतसाधनको उचित व्यवस्थापन गर्दै, यहाँका स्थानीयलाई स्वास्थ्य सेवा उपलब्ध गराउनेछ भने संघीय सरकारले पनि यसका लागि सहयोग गर्नुपर्छ ।’

नगर उपप्रमुख बिनाकुमारी भट्टराईले संघीय सरकार र स्थानीय तहको लगानीमा निर्माण भएको अस्पतालले पालिकाभित्र बसोबास गर्ने नागरिकलाई सहज रूपमा  स्वास्थ्य उपचार सेवा  प्रदान गर्ने बताइन् ।

करिब १३ करोडको लगानीमा बनेको १५ शय्याको अस्पतालमा हाल तीनजना चिकित्सक रहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष चिरञ्जीवी योगीले बताए । उनले भने,  ‘अस्पताल शिलान्यास भएको पाँच वर्षमा भवन निर्माण सम्पन्न भएको छ । पहिला सेवा दिइरहेको स्थानबाट करिब तीन किलोमिटरको दूरीमा अस्पताल छ ।अस्पतालसम्म आउन–जान सहज होस् भनेर  सडकको कालोपत्रेको काम पनि भइरहेको छ भने बिरामीको सहजताका लागि  निःशुल्क अटो सेवा सञ्चालनमा  रहेको छ।’

सुझावित समाचार