प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशभरका वास्तविक सुकुमवासीका लागि प्रक्रिया पुर्याएर यथाशीघ्र जग्गा वितरण गर्ने प्रस्ट पारेका छन्।
शुक्रबार फेसबुकमार्फत प्रधानमन्त्री शाहले अतिक्रमणकारी र सुकुमवासी छुट्याएर वर्षौँ पुरानो यो समस्याको स्थायी समाधान गर्ने बताएका हुन्।
‘हामी सरकारमा छौँ। अतिक्रमणकारी र सुकुमवासी छुट्याउने नै छौँ। देशभरका वास्तविक सुकुमवासीका लागि प्रक्रिया पुर्याएर यथाशक्य चाँडो जग्गा वितरण गर्नेछौँ। वर्षौँ पुरानो यो समस्याको स्थायी समाधान यो सरकारले गर्नेछ,’ उनले लेखेका छन्।
काठमाडौंका खोलाकिनारबाहेक देशभर लाखौँ सुकुमवासी रहेको उल्लेख गर्दै उनले काठमाडौं र अन्यत्रको समस्यालाई एउटै रूपमा लिन नहुने पनि प्रस्ट्याएका छन्।
आफूले उम्मेदवारका रूपमा झापामा गरेको वाचा, रास्वपाको वाचापत्र र प्रधानमन्त्री भएपछिको ‘सरकारका १०० वटा गर्नैपर्ने काम’ नबिर्सिएको बताउँदै भनेका छन्, ‘ती वाचा पूरा गर्न हामी आन्तरिक रूपमा तयारी गरिरहेका छौँ।’