झापाको गौरादह नगरपालिका– १ मा भारतीय सहयोगमा श्री जनता माध्यमिक विद्यालयको भवन निर्माण हुने भएको छ । बिहीबार कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भवन शिलान्यास गरे । कार्यक्रममा भारतीय राजदूतावास, काठमाडौंका काउन्सलर गीताञ्जली ब्रैंडन र गौरादह नगरपालिकाका मेयर छत्रपति सुवेदी पनि सहभागी थिए ।
भारतीय दूतावासका अनुसार भारत सरकारको आर्थिक सहयोग करिब पाँच करोड ८० लाख रुपैयाँमा विद्यालय भवन निर्माण हुन लागेको हो । यो उच्च प्रभाव सामुदायिक विकास परियोजना झापाको गौरादह नगरपालिकामार्फत कार्यान्वयन हुनेछ ।
कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री तथा अन्य सरोकारवालाहरूले भारत सरकारद्वारा प्रदान गरिँदै आएको विकास सहयोगको प्रशंसा गरेका थिए । उनीहरूले नयाँ संरचनाले गौरादह नगरपालिकामा विद्यार्थी र शिक्षकहरूका लागि सिकाइको वातावरण सुदृढ बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे ।