आइसिसी विमन्स टी–२० आई च्यालेन्ज ट्रफीमा नेपालले रुवान्डामाथि दुई विकेटको संघर्षपूर्ण जित निकालेको छ। रुवान्डाले दिएको ८९ रनको लक्ष्य नेपालले आठ विकेटको क्षतिमा मात्र दुई बल बाँकी रहँदा भेट्टाएको हो।
१९.४ ओभरमा अलआउट भएको रुवान्डाले ८८ रनको योगफल बनाएको थियो। रुवान्डाकी एलिस इकुज्वेले सर्वाधिक १७ रन जोड्दा मेरभिल उवासे, क्लारिस उवासे र रोजिन इरेराले क्रमशः १५, १३ र १२ रन बनाए। टोलीका तीन खेलाडी अंकविहीन रहे।
नेपालका लागि रचना चौधरीले सर्वाधिक तीन विकेट हात पार्दा कविता कुँवर र पूजा महतोले समान दुई तथा मनीषा उपाध्याय र रिया शर्माले एक–एक विकेट निकाले।
जवाफी ब्याटिङ गरेको नेपालका लागि सम्झना खड्काले ४८ रनको सानदार इनिङ्स खेलिन्। उनी खेलको प्लेयर अफ दी म्याचसमेत भइन्। पूजा महतोले १३ र विन्दु रावलले १० रन जोड्नुबाहेक अन्य खेलाडीको प्रदर्शन निराशाजनक रह्यो।