पर्यटकीय, ऐतिहासिक र धार्मिक तथा सांस्कृतिक इतिहास बोकेको पातीखोला गुफा संरक्षणका लागि महायज्ञ

बुधबार, ९ बैशाख, २०८३
डिजिटल संस्करण

पर्यटकीय, ऐतिहासिक र धार्मिक तथा सांस्कृतिक इतिहास बोकेको पुरातात्त्विक पातीखोला (गुप्तकालिका) गुफा संरक्षण सँगै आवश्यक भौतिक पूर्वाधार निमार्णका लागि महायज्ञ हुने भएको छ । कास्कीको माछापुच्छ्रे  गाउँपालिका– ४ र ५ को सिमानामा पर्ने गुफा संरक्षणका लागि पातीखोला गुफा संरक्षण समितिको आयोजना, माछापुच्छ्रे गाउँपालिकाको संरक्षकत्व, स्थानीय आमा समूह, टोल सुधार समिति, क्लब तथा विभिन्न सामाजिक संघसंस्थाहरूसँगको सहकार्यमा श्रीमद् भागवत महापुराण ज्ञान महायज्ञ २०८३ गरिन लागेको आयोजकले मंगलबार पोखरामा पत्रकार सम्मेलन गरी जानकारी दिएका हुन् ।

माछापुच्छ्रे– ४, लाहाचोकस्थित जोगीचौर मणिपरिसरमा १७ देखि २४ वैशाखसम्म महायज्ञ हुने भएको आयोजक समितिका अध्यक्ष तथा महायज्ञ मूल समारोह समितिका संयोजक क्याप्टेन डम्बरसिंह गुरुङले जानकारी दिए।

समुद्री सतहबाट एक हजार एक सय मिटर उचाइमा रहेको ५५ मिटर लामो गुफाको सम्बन्धमा विभिन्न किंवदन्तीहरू रहेको जानकारी दिँदै अध्यक्ष गुरुङले प्राचीन कालमा देवी भगवती र भैरवबिचको द्वन्द्वका क्रममा देवी अचानक सो गुफामा तपस्या गर्न गएको र सोही क्रममा भैरव देवीको पिछा गर्दै गएपछि गुफाको द्वारमा द्वारपाल बसेका देवीका भक्त हनुमानले भैरवलाई रोक्ने क्रममा दुईबिच लडाइँ भएको थियो।

लडाइँ चलिरहँदा भित्र तपस्या गरेर बसेकी देवी गुफाबाट निस्केर भैरवको शिर छेदन गरेसँगै भैरवले आफूले गल्ती गरेको भन्दै माफी मागी आफूलाई समेत सँगै राख्न देवीसँग अनुनयविनय गरेपछि देवीले भैरवलाई संरक्षण गरेर सँगै राखेको किंवदन्ती रहेको छ।  सोहीअनुसार कुण्डसहितको गुफापरिसरमा देवी र भैरवको मूर्ति राखेर पूजाआजा गरिँदै आएको उनले जानकारी दिए ।

यस्तो छ गुफाको इतिहास   

अध्य्यनका लागि पुरातत्त्व विभागबाट आएको प्राविधिक टोलीले गुफापरिसरमा पुरानो शिलालेख फेला पारेपछि पुरातात्त्विक हिसाबले गुफाको बारेमा अनुसन्धान भइरहेको जानकारी दिँदै भित्र दुई तला रहेको गुफामा धेरै चमेराहरूसमेत रहेको गुफा तत्कालीन अवस्थामा राजदरबारका मुखियाहरूको भेला हुने स्थानका रूपमा समेत परिचित रहेको अध्यक्षले बताए ।

महाभारत युद्धका क्रममा कौरव र पाण्डवहरूको लडाइँ चलिरहँदा पाण्डवहरू आएर यही गुफामा लुकेर बाँच्न सफल भएको किंवदन्ती रहेको गुफा बाइसे, चौबिसे राज्यकालको समयमा पत्ता लागेको अध्यक्ष गुरुङले जानकारी दिए । बाइसे, चौबिसे राज्य भएको समयमा सिकारीहरू सिकार खेल्दै जाने क्रममा गुफानजिकै दुम्सी देखेपछि पछ्याउने क्रममा सो दुम्सी गुफाभित्र छिरेको र बाहिर नआएपछि सिकारीहरूले गएर हेर्दा गुफा पत्ता लागेको गुरुङले जानकारी दिए । ऐतिहासिकसँगै धार्मिक तथा पवित्र स्थलका रूपमा रहेको गुफा संरक्षणसँगै आवश्यक पूर्वाधार निर्माण गरी पर्यटकीय केन्द्रको रूपमा विकास गर्ने उद्देश्यसहित महायज्ञ आयोजना गर्न लागेको उनले बताए ।

आयोजक समितिका उपाध्यक्ष एवं महायज्ञ प्रचारप्रसार उपसमितिका संयोजक यमबहादुर गुरुङका अनुसार परम्परागत रूपमा गुफा परिसरमा मकर संक्रान्तिमा कुण्डमा स्नान गर्न जानेसँगै चैतेदसैँमा देवीको पूजा र वसन्तपञ्चमीमा गरी वर्षको तीनपटक कृषि, व्यापारी र विभिन्न परिकारका मिष्ठान्न भोजनसहितका मेला–महोत्सव हुने गरेको जानकारी दिए । ०७५ सालमा गुफामा आवश्यक पूर्वाधर निर्माणसँगै विकासका लागि पाँच करोडको डिपिआर बनेको जानकारी दिँदै महायज्ञबाट दुई करोड आर्थिक संकलन गर्ने र आवश्यकताअनुसार पूर्वाधारहरू निर्माण गर्ने उनले बताए ।

समितिका सचिव रुद्रनाथ अधिकारीले ०७५ सालपछि विभिन्न सरकारी निकायहरूबाट गरी करिब एक करोड रकम गुफाको विकासका लागि आएको र सो रकमबाट गुफापरिसरको जग्गा सम्याउने, कम्पाउन्डवाल लगाउने, बाटो बनाउनेसँगै देवीको एउटा मन्दिर बनाउने कामको सुरुवात भएको जानकारी दिए । समितिले तयार गरेको डिपिआरअनुसार काम गर्ने हो भने बजेट अभावका कारण काम सम्पन्न गर्न धेरै समय लाग्ने भएकाले आवश्यक रकम संकलन गर्न महायज्ञ गर्न लागिएको जानकारी दिए ।

माछापुच्छ्रे गाउँपालिका– २ का वडाध्यक्ष एवं प्रवक्ता गणेश आचार्यले शुद्ध मनले प्रार्थना गरे मागेको कुरा पाइने गुफाको विकास विस्तारसँगै गुफामार्फत धार्मिकसँगै पर्यटनलाई जोड्ने गरी पालिकाले काम गरिरहेको बताए ।                                                                                                                     

सुझावित समाचार