नेपाल बिमा प्राधिकरणको नियामकीय कारबाहीमा पर्ने भएपछि हिमालयन रि–इन्स्योरेन्सका चार सञ्चालकले राजीनामा गरेका छन् । राजीनामा दिनेमा अमित मोर, राजीव मोर, शुभेच्छा खरेल र सुवास झुनझुनवाला छन् । उनीहरूले राजीनामा गरेको व्यहोरा उल्लेख गरेर प्राधिकरणमा स्पष्टीकरणसमेत बुझाइसकेका छन् ।
पब्लिक कम्पनी हिमालयन रि–इन्स्योरेन्सको रकम दुरुपयोग गरेको र विवादास्पद व्यवसायी दीपक भट्टको अनियमिततामा सहयोग गरेको भन्दै प्राधिकरणले निलम्बन गर्ने चेतावनीसहित अघिल्लो मंगलबार सञ्चालक समिति र व्यवस्थापनलाई स्पष्टीकरण सोधेको थियो । प्राधिकरणको पत्रपछि चार सञ्चालकले राजीनामा गरेका हुन् । कम्पनीको ४ वैशाखमा सम्पन्न सञ्चालक समितिको बैठकले उनीहरूको राजीनामा स्वीकृति गरेको जानकारी मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई गराएको छ ।
दुई विवादले रित्तियो निर्वाचित सञ्चालक समिति
पछिल्ला दुई विवादले हिमालयन रिको निर्वाचित सञ्चालक समिति नै रित्तिएको छ । कम्पनीका सबै सञ्चालकले राजीनामा दिएका छन् । त्यसपछि आगामी साधारणसभासम्मका लागि नयाँ सञ्चालक नियुक्त गरिएको छ ।
हिल्टन होटेलको पुनर्बिमा दाबी प्रकरणसमेत अनुसन्धानमा पर्ने देखिएपछि कम्पनीका अध्यक्ष शेखर गोल्छाले ८ चैतमा राजीनामा दिएका थिए । त्यस्तै, कम्पनीको रकम दुरुपयोग गरेको विषयमा कारबाहीमा पर्ने देखिएपछि बाँकी ६ जना सञ्चालकले पनि दुई चरणमा राजीनामा दिएका छन् । संस्थापक सेयरधनी साहिल अग्रवाल र रोहित गुप्ताले चैत चौथो साता नै राजीनामा दिएका थिए । त्यसपछि प्राधिकरणले उनीहरूसहित सञ्चालक समितिमा रहेका पुराना चार सदस्यलाई पनि निलम्बन गर्ने चेतावनीसहित स्पष्टीकरण सोध्यो । प्राधिकरणले स्पष्टीकरण सोधेपछि उनीहरूले पनि राजीनामा गरेका हुन् ।
अहिले कम्पनीको सञ्चालकमा पूर्णतः नयाँ सदस्य छन् । त्यसमा अध्यक्षमा उदयकुमार निरौला र सदस्यहरूमा दीपेन्द्रकुमार मिश्र र पृथ्वीराज थापालाई २५ चैतमा नियुक्त गरिएको थियो । त्यसपछि पुराना चार सञ्चालकको राजीनामा आएपछि थप दुईजना सञ्चालक दीपककुमार मिश्र र आशिषचन्द्र न्यौपानेलाई नियुक्ति गरिएको छ । न्यौपाने स्वतन्त्र सञ्चालक हुन् । उनीहरूको अवधि आगामी साधारणसभासम्मका लागि मात्रै रहेको कम्पनीको भनाइ छ । आगामी साधारणसभाको मिति भने तय भइसकेको छैन ।
राजीनामा गरेका सञ्चालक र व्यवस्थापकले बुझाए स्पष्टीकरण
कम्पनीबाट राजीनामा गरेका सञ्चालक र व्यवस्थापकले प्राधिकरणमा स्पष्टीकरण पनि बुझाइसकेका छन् । उनीहरूले स्पष्टीकरण बुझाउने म्याद मंगलबारसम्म रहेकाले सबैले पेस गरेको प्राधिकरणका एक उच्च अधिकारीले जानकारी दिए । प्राधिरकणकी प्रवक्ता पूजन ढुंगेल अधिकारीले पनि स्पष्टीकरण आउने क्रम जारी रहेको बताइन् । ‘हिमालयन रिका सञ्चालक र व्यवस्थापकको स्पष्टीकरण आउने क्रम जारी छ,’ उनले भनिन्, ‘यसबारे विस्तृत जानकारी मलाई पनि आइसकेको छैन ।’
स्रोतका अनुसार अब बस्ने सञ्चालक समितिको बैठकमा उक्त स्पष्टीकरण पेस गरिने स्रोतको भनाइ छ । स्पष्टीकरणको अध्ययन गरेपछि बोर्डले यसमा उपयुक्त निर्णय लिने स्रोतले बतायो ।
प्राधिकरणले व्यवस्थापनतर्फ प्रमुख कार्यकारी अधिकृत (सिइओ) उपास्ना पौडेल, नायब प्रमुख कार्यकारी अधिकृत (डिसिइओ) मुकेशकुमार कपुर तथा कार्यकारी निर्देशकहरू मनीष कुमार, शिशिर गैरे र सन्तोष केसीलाई स्पष्टीकरण सोधेको थियो ।
यसैगरी, सञ्चालक समिति सदस्यहरू अमित मोर, राजीव मोर, शुभेच्छा खरेल र सुवास झुनझुनवालालाई पनि स्पष्टीकरण सोधिएको थियो । उनीहरूले राजीनामा दिएर स्पष्टीकरण दिएका छन् । यसअघि नै सञ्चालक समितिबाट बाहिरिएका साहिल अग्रवाल र रोहित गुप्तालाई पनि स्पष्टीकरण सोधिएको थियो । उनीहरूले पनि जवाफ पेस गरेका छन् ।
मुख्यतः विवादास्पाद व्यवसायी दीपक भट्टलाई सहयोग गरेको आरोपमा उनीहरूलाई स्पष्टीकरण सोधिएको हो । हिमालयन रिमा भट्टको इन्फिनिटी होल्डिङ्सको ४.५० प्रतिशत सेयर हिस्सा अर्थात् ४६ लाख ८० हजार कित्ता सेयर छ । गत २८ फागुनमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले भट्टले हिमालयन रि–इन्स्योरेन्सलगायतका बिमा कम्पनीको रकम अनियमितता वा आर्थिक दुरुपयोग गरे–नगरेको सम्बन्धमा छानबिन गरी राय–प्रतिक्रियासहितको प्रतिवेदन सात दिनभित्र पेस गर्न प्राधिकरणलाई अनुरोध गरेको थियो । भट्टले बिमा क्षेत्रको तीन अर्ब ८१ करोड ४६ लाख चार हजार रुपैयाँबराबरको रकम दुरुपयोग गरेको विभागको आशंका छ । भट्टले दोस्रो बजारबाट नेपाल रि–इन्स्योरेन्सलगायतका कम्पनीको सेयर किन्न विभिन्न मितिमा हिमालयन रिबाट दुई अर्ब ७३ करोड ३३ लाख १५ हजार, हिमालयन रिकै सहायक कम्पनी हिमालयन सेक्युरिटिजबाट २२ करोड १९ लाख ७१ हजार, नेपाल लाइफको सहायक कम्पनीबाट ३७ करोड, एचएलआई लार्ज क्याप फन्डबाट २५ करोड १४ लाख ८४ हजार र नेपाल माइक्रो इन्स्योरेन्सबाट १६ करोड १७ लाख ५२ हजार गरेर कुल तीन अर्ब ८१ करोड ४६ लाख चार हजार रुपैयाँ दुरुपयोग गरेको विभागको आशंका छ । उक्त रकम प्रयोग गरेर भृकुटी स्टक ब्रोकिङ कम्पनी (ब्रोकर नम्बर ५५) बाट सेयर खरिद गरी भुक्तानी गरेको देखिएको छ । त्यस सम्बन्धमा छानबिन गरेर राय प्रतिक्रियासहितको प्रतिवेदन विभागमा पठाउन भनी प्राधिकरणलाई पत्र पठाइएको थियो ।
प्राधिकरणले यसबारे छानबिन गरेर कारबाहीको सिफारिससहित प्रतिवेदन विभागलाई बुझाएको थियो । प्राधिकरणको छानबिनमा भट्टले अनियमितता गरेको देखिएको थियो । सोहीअनुसार कारबाहीका लागि सिफारिस गरिएको हो । त्यसमा सहयोग गर्ने कर्मचारी र सञ्चालकलाई भने नियामकीय कारबाही गर्न लागिएको हो ।
छानबिनका क्रममा हिमालयन रि–इन्स्योरेन्स कम्पनीले आफ्नो लगानीको विभिन्न सेयर बिक्री गरेको देखिन्छ । तर, सेयर बिक्रीबापत कम्पनीले पाउनुपर्ने भुक्तानी ब्रोकरबाट प्राप्ति भएको देखिन्न । त्यो भुक्तानी प्राप्तिका लागि कम्पनीबाट पनि ताकेता भएको देखिएन । कम्पनीले पाउनुपर्ने त्यो रकम भट्टले प्रयोग गरेको देखिएको छ ।
हिमालयन रि हिल्टन होटेलको पुनर्बिमा दाबीको घोटालामा पनि विवादमा छ । हिल्टनको बिमा गरेको दी ओरियन्टल इन्स्योरेन्सले प्राधिकरणको निर्देशनविपरीत हुलदंगा तथा आतंकवााद जोखिमको पुनर्बिमा हिमालयन रिमा गरेको थियो । तर, जेन–जी आन्दोलनमा ध्वस्त भएको हिल्टनको दाबी परेपछि त्यसको पुनर्बिमा दाबी भने सरकारी स्वामित्वको नेपाल रिमा गरेको थियो । यस सम्बन्धमा प्राधिकरणले हिमालयन रिलगायतका कम्पनीलाई कारबाही गरिसकेको छ । यही विवादबिच कम्पनीका अध्यक्ष शेखर गोल्छाले पनि राजीनामा दिएका थिए । त्यसलगत्तै कम्पनी अर्को विवादमा परेको छ ।