चन्द्रगढी महिला गोल्डकप : थिम्पु सिटीमाथि चर्च ब्वाइजको कठिन जित

वर्षा ओलीले खेल सकिनु एक मिनेटअघि थिम्पु सिटीकी गोलरक्षक पेमा वाङ्मोलाई बिट गर्दै चर्च ब्वाइजलाई ३–२ को जित दिलाइन्

सोमबार, ७ बैशाख, २०८३
डिजिटल संस्करण

चर्च ब्वाइज युनाइटेडको महिला टोलीले झापाको भद्रपुरमा चलिरहेको पहिलो संस्करणको चन्द्रगढी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा स्थान पक्का गरेको छ । चर्च ब्वाइजले अन्तिम चारको स्थान पक्का गर्न भुटानको थिम्पु सिटी फुटबल क्लबविरुद्ध निकै मिहिनेत गरेको थियो । मेची रंगशालामा आइतबार भएको प्रतिस्पर्धामा चर्च ब्वाइजले थिम्पु सिटीलाई ३–२ ले हरायो । 

चन्द्रगढी युथ क्लबले आयोजना गरेको गोल्डकपको अन्तिम चारमा स्थान सुरक्षित गरेको चर्च ब्वाइजका लागि भारतीय खेलाडी मरियम खातुनले दुई गोल गरेकी थिइन् । वर्षा ओलीको नाममा एक गोल रह्यो । थिम्पुकी रोता राईले एक गोल फर्काइन् । चर्च ब्वाइजबाट एक गोल आत्मघाती भएको थियो । प्रतियोगिताअन्तर्गत सोमबार नेपाल पुलिस क्लबले आयोजक चन्द्रगढी युवा क्लबको सामना गर्नेछ । 

चर्च ब्वाइज र थिम्पु सिटीबिच पहिलो हाफ रोमाञ्चक र आक्रामक बनेको थियो । चर्च ब्वाइजले पहिलो हाफमा दुई गोल र दोस्रो हाफको अन्तिम समयमा एक गोल गर्दा थिम्पु सिटी पराजित भयो । खेलको २७औँ मिनेटमा चर्च ब्वाइजले १–० को अग्रता लियो । खातुनले चर्च ब्वाइजलाई अग्रता दिलाइन् । उनले भुटानकी गोलरक्षक पेमा वाङ्मो अघि बढेको मौकामा डिबक्सबाहिरबाट दायाँ बार च्याप्दै उत्कृष्ट गोल गरिन् । 

पहिलो हाफको अतिरिक्त समयमा खातुनले चर्च ब्वाइजलाई २–० को अग्रता दिलाइन् । थिम्पुका डिफेन्डरहरूले राम्रोसँग क्लियर गर्न नसकेको बललाई अस्मिता गुरुङले खातुनलाई सटीक पास दिइन् । डिबक्समा अनमार्क रहेकी खातुनले गोल गरेकी थिइन् । उनले प्रहार गरेको बाइसाइकल किक भुटानका डिफेन्डरलाई लाग्दै गोलमा परिणत भएको थियो । चर्च ब्वाइजले पहिलो हाफमा भुटानमा लिग खेल्दै आएको थिम्पुलाई दबाबमा राख्यो । 

थिम्पु सिटीको खेलमा फर्किने प्रयास
पहिलो हाफमा २–० ले पछि परेको थिम्पु सिटीले मध्यान्तरपछि बराबरीको प्रयास गरिरहेको थियो । दोस्रो हाफमा तुलनात्मक रूपमा चर्च ब्वाइज कमजोर देखिएको थियो । दाेस्रो हाफमा थिम्पु सिटीको दबाबको सामना चर्च ब्वाइजले गर्नुपरेको थियो । दोस्रो हाफमा आक्रामक खेल खेलेको थिम्पुले चर्च ब्वाइजलाई दबाबमा राख्दै दुई गोल गर्यो । मध्यान्तरपछि थिम्पु सिटीले चर्च ब्वाइजविरुद्ध गोल गर्यो । खेलको ४६औँ मिनेटमा थिम्पुकी रोता राईले गोल गरिन् ।

मैदानको मध्यभागबाट आएको बललाई अघि बढाउँदै रोताले चर्च ब्वाइजकी गोलरक्षक लीला जोशीलाई बिट गर्दै टोलीलाई २–१ को स्थितिमा राखिन् । खेलको ५८औँ मिनेटमा थिम्पुले चर्च ब्वाइजबाट आत्मघाती गोल उपहार पाउँदा खेल बराबरीमा फर्कियो । चर्च ब्वाइजकी गोलरक्षक जोशी बिट हुँदा थिम्पुकी प्रिया घलेको प्रहार क्लियर गर्न खोज्दा चर्च ब्वाइजकी मनिता तामाङले आत्मघाती गोल गरिन् । यो गोलसँगै थिम्पु सिटी चर्च ब्वाइजलाई हराउने रणनीतिका साथ थप आक्रामक रूपमा अगाडि बढ्यो । तर, खेल सकिनुको एक मिनेटअघि थिम्पु सिटीले अर्को अप्रत्याशित गोल व्यहोर्यो । जसका कारण पाहुना टोली पहिलो खेलबाटै घर फर्कियो । 

चर्च ब्वाइजकी वर्षाले विजयी गोल गरेकी हुन् । खेलको ७९औँ मिनेटमा मैदानको मध्यभागबाट चर्च ब्वाइजकी खातुनले डिबक्सभित्र वर्षालाई सुन्दर पास उपलब्ध गराइन् । थिम्पुकी गोलरक्षक पेमा वाङ्मोसमेत बिट भएको अवस्थामा वर्षाले सहजै गोल गरिन् । उनकै खेलकै निर्णायक बन्यो । 

सुझावित समाचार