अब राष्ट्रसेवक सरकारी कर्मचारीको तलबभत्ता अर्धमासिक रूपमा भुक्तानी गरिने भएको छ । अर्थ मन्त्रालयले शुक्रबार महालेखा नियन्त्रक कार्यालयलाई राष्ट्रसेवक कर्मचारीको तलबभत्ता अर्धमासिक रूपमा भुक्तानी दिने व्यवस्था गर्न पत्रचार गरेको हो ।
हाल मासिक रूपमा तलबभत्ता दिने व्यवस्था छ । ‘राष्ट्रसेवक सरकारी कर्मचारीहरूको तलबभत्ता सुविधा वितरणको कार्य महिना भुक्तान भएपछि मासिक रूपमा गर्दै आइएकोमा अब यसलाई अर्धमासिक रूपमा भुक्तानी गर्ने परिपाटी सुरुवात गर्ने सन्दर्भमा अर्धमासिक रूपमा वितरण गर्ने आवश्यक व्यवस्था मिलाउन मिति वैशाख ४ (मा. अर्थमन्त्रीस्तर)को निर्णयअनुसार अनुरोध छ,’ अर्थ मन्त्रालयले महालेखालाई लेखेको पत्रमा उल्लेख छ । नेपालमा पहिलोपटक यस्तो व्यवस्था लागू गर्न लागिएको हो ।
अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयले राष्ट्रसेवक कर्मचारीको तलबभत्ता अर्धमासिक रूपमा दिने निर्णय मन्त्रीस्तरबाट भएको बताए । त्यसलाई कार्यान्वयन गर्न महालेखा नियन्त्रक कार्यालयलाई पत्रचार गरिसकेको उनको भनाइ छ ।
महालेखा नियन्त्रक शोभाकान्त पौडेल यो निर्णय कार्यान्वयन गर्न सकिने बताए । ‘हामी सरकारको निर्णय पूर्ण रूपमा कार्यान्वयन गर्न तयार छौँ । अबको एक–दुई दिनमै प्रणाली अद्यावधिक गर्छाैँ । यो तत्काल कार्यान्वयन गर्न सकिन्छ,’ उनले भने, ‘तलब खुलाउने निकायले खर्च लेखन दिन सकेको अवस्थामा वैशाखको पहिलो पाक्षिकमै यो कार्यान्वयन हुन्छ ।’
यो राष्ट्रसेवक कर्मचारीका लागि मात्रै भएको निर्णय हो । शिक्षक, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको हकमा भने तत्काल लागू भएको छैन ।
‘पत्र पूर्ण रूपमा अध्ययन गर्न पाएको छैन । अहिले राष्ट्रसेवक कर्मचारीका लागि मात्रै यस्तो व्यवस्था हुने भनिएको छ,’ उनले भने, ‘तर, क्रमश: शिक्षक, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको हकमा पनि यो लागू हुन्छ । यो व्यवस्था निजी क्षेत्रमा पनि लागू हुन आवश्यक छ ।’
बजारमा तरलता प्रवाहमा सुधार
मन्त्रालयका प्रवक्ता पाण्डेयले यो नीतिले अर्थतन्त्रमा सकरात्मक प्रभाव पार्ने बताए । ‘कर्मचारीलाई तरलता र खर्च व्यवस्थापनमा सहज हुनेछ । सम्भवतः अब कर्मचारीलाई उद्यारो खानुपर्ने बाध्यता हुँदैन,’ उनले भने, ‘समग्र अर्थतन्त्रलाई पनि फाइदा पुग्छ । अब छिटो छिटो बजारमा पैसा जान्छ । त्यसले अर्थतन्त्र चलायमान बनाउन सहयोग पुग्नेछ ।’