सरकारले देशव्यापी रूपमा सञ्चालन गरेको राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउने कार्यक्रमअन्तर्गत मकवानपुरका करिब ३३ हजार बालबालिका लाभान्वित हुने भएका छन्। दुई दिनसम्म सञ्चालन हुने अभियान आइतबारबाट सुरु भएको छ।
राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअनुसार ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाविरुद्धको औषधि खुवाइँदै छ। आइतबार र सोमबार सञ्चालन हुने कार्यक्रममा जिल्लाका १० वटै स्थानीय तहमा ४६२ जना महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिएको छ। हेटौंडा उपमहानगरपालिकाभित्र मात्र ९२ जना स्वयंसेविका परिचालन गरिएको कार्यक्रमका फोकल पर्सन बासुदेव रिमालले जानकारी दिए।
कार्यक्रमको उद्घाटन बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा मगरले हेटौंडा–९ स्थित वडा कार्यालय भवनमा उपस्थित भई गरेका थिए। उनले अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गर्न र सबै लक्षित बालबालिकासम्म सेवा पु¥याउन सम्बन्धित निकायलाई निर्देशन दिए।
जनस्वास्थ्य कार्यालय मकवानपुरका अनुसार यसपटक जिल्लामा ३२ हजार ८०४ बालबालिकालाई भिटामिन ‘ए’ र २८ हजार ९४८ बालबालिकालाई जुकाको औषधि खुवाउने लक्ष्य लिइएको छ। सबैभन्दा धेरै हेटौंडा उपमहानगरपालिकामा १४ हजार ६२८ बालबालिकालाई भिटामिन ‘ए’ र १२ हजार ९१२ लाई जुकाको औषधि खुवाउने लक्ष्य छ। यस्तै सबैभन्दा कम इन्द्रसरोबर गाउँपालिकामा ८०१ बालबालिकालाई भिटामिन ‘ए’ र ७०४ लाई जुकाको औषधि खुवाइने छ।
जिल्लाको थाहा नगरपालिकामा दुई हजार ३८८, राक्सिराङ गाउँपालिकामा एक हजार ८९७, कैलाश गाउँपालिकामा एक हजार ४३४, मनहरी गाउँपालिकामा तीन हजार ६१९, बागमती गाउँपालिकामा दुई हजार ११९, बकैया गाउँपालिकामा दुई हजार ८६८, भीमफेदी गाउँपालिकामा एक हजार ३८४ र गढी गाउँपालिकामा एक हजार ६५६ बालबालिकालाई भिटामिन ‘ए’ खुवाउने लक्ष्य लिइएको छ।
फोकल पर्सन रिमालका अनुसार भिटामिन ‘ए’ कार्यक्रम बालबालिकाको वृद्धि विकासमा सहयोग पुर्याउने, रतन्धो तथा कुपोषणजस्ता समस्याबाट जोगाउने र रोगसँग लड्ने क्षमता बढाउने उद्देश्यले सञ्चालन गरिएको हो। ‘भिटामिन ‘ए’ले हड्डी मजबुत बनाउने, घाउ निको पार्ने, छाला स्वस्थ राख्ने तथा शरीरको प्रतिरक्षा प्रणाली सुदृढ बनाउने काम गर्छ,’ उनले भने।