बिरामीसम्बन्धी भिडियो सार्वजनिक नगर्न चिकित्सकलाई चेतावनी

आइतबार, ६ बैशाख, २०८३
डिजिटल संस्करण

नेपाल मेडिकल काउन्सिलले चिकित्सकले बिरामीसँग सम्बन्धित भिडियो सामग्री सामाजिक सञ्जालमा सार्वजनिक नगर्न कडा चेतावनी दिएको छ । काउन्सिलले ‘अनलाइन परामर्श’का नाममा विनापरीक्षण औषधि सिफारिस गर्ने, रोगबारे सुझाव दिने तथा भिडियो सामग्री प्रसारण गर्ने प्रवृत्तिप्रति गम्भीर आपत्ति जनाएको छ । 

काउन्सिलका रजिस्ट्रार डा. सतिशकुमार देवले जारी गरेको विज्ञप्तिमा उचित परीक्षण र प्रत्यक्ष मूल्यांकनविना दिइने सल्लाहले बिरामीको स्वास्थ्यमा गम्भीर जोखिम निम्त्याउन सक्ने उल्लेख गरिएको छ । यस्तो अभ्यासले अनावश्यक जटिलता बढाउने र दीर्घकालीन हानि पुर्याउन सक्ने काउन्सिलको चेतावनी छ ।

‘विभिन्न सामाजिक सञ्जाल टिकटक, इन्स्टाग्राम तथा फेसबुकजस्ता सामाजिक सञ्जालमार्फत ‘अनलाइन परामर्श’का नाममा चिकित्सकले बिरामीसँग सम्बन्धित भिडियो सामग्री सार्वजनिक गर्ने, विभिन्न रोगको उपचारका लागि औषधि प्रयोग गर्न सुझाव दिने, औषधि सिफारिस गर्ने तथा स्वास्थ्यसम्बन्धी भिडियो सामग्री व्यापक रूपमा प्रसारण गर्नेजस्ता कार्य भइरहेकोप्रति नेपाल मेडिकल काउन्सिलको गम्भीर ध्यानाकर्षण भएको छ,’ काउन्सिलका रजिस्ट्रार डा. देवले जारी गरेको विज्ञप्तिमा छ, ‘स्वास्थ्य सेवा अत्यन्त संवेदनशील क्षेत्र भएकाले बिरामीको उचित परीक्षण, आवश्यक जाँच तथा काउन्सिलमा दर्ता रहेका चिकित्सकको प्रत्यक्ष मूल्यांकनविना औषधि सेवन गर्न सुझाव दिनु वा त्यस्तो सल्लाह प्रचार गर्नुले बिरामीको स्वास्थ्यमा गम्भीर जोखिम उत्पन्न हुन सक्ने, अनावश्यक जटिलता बढ्न सक्ने तथा दीर्घकालीन हानिसमेत पुग्न सक्ने तथ्य सर्वविदितै छ ।’ 

काउन्सिलले यसप्रकारका गैरजिम्मेवार तथा अवैज्ञानिक सूचना तथा सल्लाहले सर्वसाधारणलाई भ्रममा पार्ने भन्दै चिकित्सकलाई केही नियम पालना गर्न भनेको छ । काउन्सिलले बिरामीसँग सम्बन्धित भिडियो सामग्री सार्वजनिक नगर्न, गर्नैपर्ने अवस्था भएमा बिरामीको अनुहार र पहिचान नखुलाउने, सामाजिक सञ्जालमार्फत परीक्षणविना औषधि सिफारिस गर्ने कार्य तुरुन्त बन्द गर्ने र स्वास्थ्यसम्बन्धी कुनै पनि जानकारी वा परामर्श दिँदा वैज्ञानिक आधार, प्रमाणित तथ्य र पेसागत आचारसंहिताको पूर्ण पालना गर्ने अनुरोध छ । काउन्सिलले सामाजिक सञ्जालमा देखिएका अप्रमाणित सल्लाहका आधारमा औषधि प्रयोग नगरी योग्य तथा दर्ता प्राप्त चिकित्सकसँग मात्र परामर्श लिन बिरामीहरूसँग पनि आग्रह गरेको छ ।

See More On

सुझावित समाचार