एकीकरणको हल्लाप्रति एमालेका युवा महाधिवेशनप्रतिनिधिको आपत्ति

गल्ती ढाकछोप र पुनर्गठनको मूल मुद्दा ओझेलमा पार्न खोजेको आरोप

शनिबार, ५ बैशाख, २०८३
डिजिटल संस्करण

एमालेको एघारौं महाधिवेशनका केही युवा महाधिवेशन प्रतिनिधिहरुले पार्टी पुनर्गठनको मुद्दा ओझेलमा पार्ने दूराशयले पार्टी एकताको हल्ला चलाइएको आरोप लगाउँदै कडा आपत्ति जनाएका छन् ।

सात भौगलिक र गैरभौगलिक प्रदेशका नौ जना ४० वर्ष मूनिका युवा महाधिवेशन प्रतिनिधिले शनिवार संयुक्त  वक्तव्य जारी गर्दै कडा आपत्ति जनाएका हुन् । मूल नेतृत्वको गल्ती ढाकछोप र पार्टी पुनर्गठनको मूल मुद्दा ओझेलमा पार्न एकताको बेमौसमी बहस चलाइएको उनीहरुको भनाई छ ।  

नेतृत्वले गरेका गल्ती कमजोरीहरुलाई ढाकछोप गर्न र मूल एजेण्डाबाट ध्यान मोड्नका लागि जुन प्रकारको बेमौसमी कम्युनिष्ट एकताको बहस चलाइएको छ, त्यसले पार्टीलाई रक्षात्मक बनाउने निश्चित छ । यस्तो प्रयासले पार्टीभित्र विद्यमान मूल समस्याहरुलाई ओझेलमा पार्ने, कार्यशैलीगत र संगठनात्मक कमजोरीहरुलाई समाधान नगर्ने स्पष्ट नै छ । 

‘पार्टीलाई जनताको वास्तविक भावना, विशेषगरी युवा पुस्ताको आकांक्षा र आवाजसंँग जोड्नु आजको अपरिहार्य आवश्यकता हो । यही आधारमा मात्रै पार्टीले आफ्नो ऐतिहासिक भूमिकालाई पुनःस्थापित गर्न सक्छ । त्यसैले हामी कुनै पनि प्रकारको असामायिक र दुराशययुक्त पार्टी एकीकरणको प्रयासप्रति असहमति व्यक्त गर्दै त्यस्ता गतिविधिहरुको कडा शब्दमा विरोध गर्दछौं’ उनीहरुको वक्तव्यमा भनिएको छ,‘हामी पार्टी नेतृत्वलाई रुपान्तरण, पुनर्गठन र पुनजागरणको मागलाई गम्भीरतापूर्वक लिन र केन्द्रीय कमिटीमार्फत त्यसलाई यथाशीघ्र सम्बोधन गर्नेगरी अगाडि बढ्न जोडदार आग्रह गर्दछौं ।’

पार्टीलाई वैधानिक ढंगले समयानुकूल रुपान्तरण, पुनर्गठन र पुनजागरण गर्न अभियानलाई निरन्तरता दिने उनीहरुको प्रतिबद्धता छ । भर्खरै सम्पन्न आम निर्वाचनमा नेकपा एमालेले व्यर्होनु परेको लज्जास्पद पराजयले देशभरका नेता, कार्यकर्ता र शुभेच्छुकहरुलाई स्तब्ध बनाएको भन्दै उनीहरुले हार केवल प्राविधिक पराजय मात्र नभई पार्टीको विद्यमान नीति, कार्यशैली र नेतृत्वमाथि जनताले गरेको गम्भीर अविश्वास र प्रश्न पनि भएको उनीहरुको भनाई छ ।

आम कार्यकर्ता र युवा पंक्तिले पार्टीको समग्र रुपान्तरण, पुनर्गठन र पुनर्जागरणको अपेक्षा गरिरहेको भन्दै पुनर्गठन अभियानका लागि विशेष महाधिवेशनको माग गर्ने युवा अभियान्ता कमल जोशीले देशैभर दबाब र जागरण अभियान तीब्र बनाइने योजना रहेको बताए । 

वक्तव्य जारी गर्ने ४० वर्ष मूनिका युवा महाधिवेशन प्रतिनिधिहरुमा सुजन लामा कोशी प्रदेश, डा. सुजन कडरिया वागमति प्रदेश, मोहन भट्टराई गण्डकी प्रदेश, मेनका पछाईं कर्णाली प्रदेश, अमित कुमार यादव मधेस प्रदेश, ज्ञानभक्त डंगोल राजधानी प्रदेश, सन्देश ढकाल लुम्बिनी प्रदेश, हरिश पन्त सुदूरपश्चिम प्रदेश तथा राष्ट्रिय युवा संघका उपमहासचिव उपेन्द्र शाही र अनेरास्ववियुका उपमहासचिव कमल जोशी छन् ।

सुझावित समाचार