प्रधानमन्त्री एकदिवसीय कप : अपराजित रहँदै त्रिभुवन आर्मी च्याम्पियन

शनिबार, ५ बैशाख, २०८३
डिजिटल संस्करण

त्रिभुवन आर्मी क्लब अपराजित रहँदै प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिता च्याम्पियन बनेको छ । प्रतियोगिताको वीरगन्ज मैदानमा शुक्रबार भएको एकपक्षीय फाइनलमा आर्मीले सुदूरपश्चिम प्रदेशलाई पाँच विकेटले हराउँदै उपाधि हात पारेको हो । आर्मीले खेल सकिनु ९३ बलअगाडि नै सुदूरपश्चिमलाई निराश बनाएको हो । प्रधानमन्त्री कपको फाइनलमा बसिर अहमाद म्यान अफ दी म्याच भए । उनले सुदूरपश्चिमविरुद्ध अर्धशतकीय इनिङ्ससँगै दुई विकेट हात पारेका थिए । समग्रमा प्रतियोगिताकै म्यान अफ दी सिरिजको उपाधि लुम्बिनी प्रदेशका सन्तोष यादवले लिए ।

उनले प्रतियोगितामा नौ खेलमा दुई सय ६५ रन बनाउनुका साथै २१ विकेट लिएका थिए । यसै प्रदर्शनका कारण उनी म्यान अफ दी सिरिज भएका हुन् । पहिलो ब्याटिङ गरेको सुदूरपश्चिमले ३९.४ ओभरमा अलआउट हुँदै एक सय ६१ रनको झिनो योगफल खडा गर्यो । प्रत्युत्तरमा आर्मीले ३४.३ ओभरमा पाँच विकेटको नोक्सानीमा एक सय ६४ रन जोड्यो । आर्मीलाई च्याम्पियन बनाउने क्रममा इमराख सेख र बसिर अहमादले उत्कृष्ट साझेदारी गरेका थिए ।

दुवैले पाँचौँ विकेटका लागि ९६ रनको साझेदारी गर्दै आर्मीको जित पक्का पारे । इनिङ्सको एक समय आर्मी १०.३ ओभरमा ५६–४ को अवस्थामा थियो । बसिर र इमरानले पाँचौँ विकेटका लागि १०.३ देखि ३२.१ सम्म साझेदारी गर्दै १५२–५ को बलियो स्थितिमा राखे । इमरानले ८२ बलमा समान दुई चौका र छक्का प्रहार गरी ४६ रन बनाए । बसिरले ५६ बलमा चार चौकाको सहयोगमा ४५ रन जोडे । यसअघि आर्मीका लागि ओपनर तृतराज दासले ३२ बलमा ३१ रन बनाए । उनले पाँच चौका र एक छक्का प्रहार गरेका थिए ।

मध्यक्रममा आर्मी उपाधि भिडन्तमा पहिलोपटक कमजोर भयो । कप्तान विनोद भण्डारी दुई रन तथा भीम सार्की चार रनमा आउट भए । बलिङमा सुदूरपश्चिमका लागि हेमन्त धामीले ६ ओभरमा ३४ रन खर्चेर दुई विकेट लिए । विकास आग्री, शेर मल्ल र अशोक धामीले समान एक विकेट हात पारे ।

फाइनलमा आर्मीको कसिलो बलिङ
वीरगन्जको रंगशालामा आर्मीले कसिलो बलिङ गर्दा नै सुदूरपश्चिमले स्कोर बोर्डमा सोचेजस्तो योगफल खडा गर्न नसकेको हो । आर्मीका सिमर आकाश चन्दले ३१ रनमा तीन विकेट लिए । साहाब आलामले ५५ रनमा तीन विकेट हात पारे । बसिरले ७.४ ओभरमा एक मेडन राखी २५ रन खर्चेर दुई विकेट हात पारे । अलराउन्डर कुशल मल्लले १० ओभरमा सर्वाधिक तीन मेडन ओभर गरी २५ रन खर्चेर एक विकेट आफ्नो नाममा लेखाए । 

आर्मीका बलरले घातक बलिङ गरेका कारण सुदूरपश्चिमले पहिलो १० ओभरमा पाँच विकेट गुमाएको थियो । इनिङ्सको २.१ ओभरमै सुदूरपश्चिमले विकेट गुमाएको थियो । दोस्रो ओपनर खड्क बोहरालाई आकाशले बोल्ड गरे । त्यसपछि सुदूरपश्चिम खेलमा फर्कन सकेन । अभिषेक पाल नौ रन, नरेन भट्ट एक रन, राजु रिजाल र दीपक बोहराले समान सात रन बनाएका थिए । किरण ठगुना र नारायण जोशीले छैटौँ विकेटका लागि ६२ रनको साझेदारी गर्दै टोलीलाई ९३–६ को स्थितिमा राखे । किरणले ४२ बलमा पाँच चौका प्रहार गरे । नारायणले २९ रन बनाउन ३४ बलमा तीन छक्का र एक चौका प्रहार गरेका थिए । आठौँ क्रमका ब्याट्सम्यान अशोक धामीले ४६ बलमा पाँच चौका र एक छक्का प्रहार गरी ४३ रन बनाए ।

राष्ट्रिय टोलीमा अर्जुन पहिलोपटक र विनोदको पुनरागमन
नेपाल क्रिकेट संघले रोहित पौडेलको कप्तानीमा आइसिसी विश्वकप लिग–२ क्रिकेटका दुई घरेलु शृंखलाका लागि १५ सदस्यीय टोली घोषणा गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेका अर्जुन कुमालले पहिलोपटक राष्ट्रिय टोलीमा स्थान बनाउँदा सिनियर खेलाडी विनोद भण्डारीले पुनरागमन गरेका छन् । विकेटकिपर ब्याट्सम्यान विनोद सन् २०२२ पछि एकदिवसीय टोलीमा फर्किएका हुन् । पछिल्लो समयमा अर्जुनले घरेलु क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरे पनि राष्ट्रिय टोलीमा पर्न सकेका थिएनन् ।

यसपटक उनी प्रधानमन्त्री कपकै सर्वाधिक रन बनाउने ब्याट्सम्यान बने । यसै प्रदर्शनका आधारमा उनी टोलीमा परेका हुन् । विनोदले अन्तिमपटक सन् २०२२ मा स्कटल्यान्डविरुद्ध खेलेका थिए । यसअघि अर्जुन ०७७ मा तत्कालीन प्रशिक्षक डेभ वाटमोरले अर्जुनलाई सिनियर टोलीको क्याम्पमा राखेका थिए । तर, उनले अन्तिम घोषित टोलीमा स्थान पक्का गर्न सकेनन् । क्यानले एकदिवसीय टोलीमा रोहितकुमार पौडेललाई कप्तानीमा निरन्तरता दिएको छ ।

टी–२० का कप्तान ऐरी
क्यानले शुक्रबार एकैपटक एकदिवसीय तथा टी–२० टोलीको घोषणा गर्यो । क्यानले दीर्घकालीन योजनाअनुसार एकदिवसीय र टी–२० फर्म्याटमा फरक–फरक कप्तान बनाएको छ । एकदिवसीयमा रोहितले निरन्तरता पाए । तर, उनले टी–२० फर्म्याट स्थान गुमाएका छन् । क्यानले युएईविरुद्धको दुई खेलको टी–२० सिरिजका लागि राष्ट्रिय टोली घोषणा गर्दा कप्तानको जिम्मेवारी दीपेन्द्रसिंह ऐरीलाई दिएको छ । टी–२० आईमा कुशल मल्लले पुनरागमन गरेका छन् । सन्तोष यादवले पहिलोपटक स्थान बनाएका छन् । नेपालले आइसिसी पुरुष विश्वकप लिग–२ को सिरिजअघि त्रिवि मैदानमा युएईसँग टी–२० सिरिज खेल्न लागेको हो । नेपाल र युएईबिच ६ र ७ वैशाखमा दुई खेलको टी–२० सिरिज हुनेछ ।

एकदिवसीय टोली
रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, आसिफ शेख, भीम सार्की, आरिफ शेख, विनोद भण्डारी, बसिर अहमाद, नन्दन यादव, गुल्सन झा, अर्जुन कुमाल, सोमपाल कामी, सन्दीप लामिछाने, करण केसी, ललित राजवंशी ।

टी–२० टोली
दीपेन्द्रसिंह ऐरी (कप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, आरिफ शेख, बसिर अहमाद, गुल्सन झा, लोकेश बम, नन्दन यादव, सन्तोष यादव, अर्जुन साउद, हेमन्त धामी, साहाब आलम र शेर मल्ल गरी मुख्य १५ जना खेलाडी छनोट भएका छन् भने रिजर्भमा प्रतिश जिसी, नारायण जोशी र रासिद खान रहेका छन् ।
 

सुझावित समाचार