नेपाल स्टक एक्सचेन्जले सेयर बजारमा कारोबारको नियममा परिवर्तन गर्दै कारोबार नभएको समयमा पनि सेयर खरिद–बिक्रीका लागि अर्डर राख्न पाइने व्यवस्था गरेको छ । नेप्सेले ‘धितोपत्र कारोबार सञ्चालन (चौथो संशोधन) विनियमावली, २०८२’ लागू गर्दै लगानीकर्ताले अर्डर दिने समयदेखि मूल्य सीमासम्मका नियममा महत्वपूर्ण परिवर्तन देखिने भएको हो ।
नेप्सेको सञ्चालक समितिले वैशाख ७ गतेदेखि लागू हुने गरी यस्तो निर्णय गरेको हो । यससँगै दलाल (ब्रोकर) कम्पनीहरूलाई पनि केही प्रावधान तुरुन्त कार्यान्वयन गर्न निर्देशन दिइएको छ । नेप्सेका सूचना अधिकारी मुराहरि पराजुलीले नयाँ व्यवस्थाले बजारमा सहभागिता र तरलता बढाउने अपेक्षा गरिएको बताए ।
अब लगानीकर्ताले कारोबार समय सुरु हुनुअघि वा सकिएपछि पनि खरिद–बिक्रीको अर्डर दिन सक्नेछन् । यस्ता अर्डरहरू समयअनुसार प्राथमिकतामा राखिनेछन् र बजार खुल्नेबित्तिकै प्रणालीमा प्रविष्ट गरिने उल्लेख छ । तर, यस्तो अर्डर हाल्दा मूल्य भने अघिल्लो दिनको अन्तिम मूल्यको निश्चित सीमाभित्रै हुनुपर्नेछ । मूल्य निर्धारणमा पनि नेप्सेले कडाइ गरेको छ । प्रारम्भिक कारोबार सत्रमा सेयरको मूल्य अघिल्लो दिनको अन्तिम मूल्यभन्दा पाँच प्रतिशतभन्दा बढी तलमाथि हुन नपाउने व्यवस्था गरिएको छ । त्यसपछि निरन्तर कारोबार सत्रमा भने मूल्य उतारचढावको सीमा तीन प्रतिशतमा सीमित गरिएको छ ।
कुनै कम्पनीको सेयर मूल्य एकै दिन १५ प्रतिशतभन्दा बढी तल–माथि हुन नपाउने प्रावधान पनि राखिएको छ । यसअघि यस्तो सीमा १० प्रतिशतको थियो । अब कुनै पनि कम्पनीको सेयर मूल्य एकै दिनमा १५ प्रतिशतसम्म बढ्न वा घट्न सक्नेछ ।
बजार अत्यधिक उकालो वा ओरालो लागेमा लगाइने ‘सर्किट ब्रेकर’ नियम पनि संशोधन गरिएको छ । अब कारोबार सुरु भएको दुई घण्टाभित्र नेप्से सूचक पाँच प्रतिशतले घटे वा बढेमा १५ मिनेटका लागि कारोबार रोकिनेछ । यदि कुनै पनि समयमा सूचक आठ प्रतिशतले घटबढ भएमा भने सो दिनको कारोबार नै बन्द गरिनेछ ।
उतारचढावपछि स्थिर बन्यो नेप्से
साताभर तीव्र उतारचढाव व्यहोर्दै नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक साताको अन्तिम कारोबारसम्म आइपुग्दा स्थिर देखिएको छ । गत साताको शुक्रबार २८३७.७८ विन्दुमा रोकिएको बजार यो साताको अन्तिम कारोबार दिन शुक्रबार २८३८.४ विन्दुमा पुगेको छ ।
अर्थात्, साताभरमा समग्रमा बजार परिसूचक ०.६२ अंकले बढेको छ । साताको पहिलो कारोबार हुने दिन सोमबार ४.१८ अंकले घटेर परिसूचक २८३३.६ विन्दुमा पुगेको थियो । त्यसपछि नयाँ वर्षको सुरुवात १ वैशाखमा नेप्से बन्द रह्यो । बुधबार ३३.२७ अंकले बढेर २८६६.८७ विन्दु कायम भएको छ ।
तर, बिहीबार ३३.८३ अंकले घटेर २८३३.०३ विन्दुमा झर्यो । शुक्रबार कुल सात अर्ब ४६ करोड ६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । जसमा एक करोड ८० लाख ६३ हजार सात सय २८ कित्ता सेयर किनबेच भएको छ । कुल बजार पुँजीकरण ४८ खर्ब ४१ अर्ब तीन करोड रुपैयाँ कायम छ ।