उदयपुरको बेलका नगरपालिका– १, आम्बासी कालीखोलामा मोटरसाइकलको ठक्करबाट एक साइकलचालकको ज्यान गएको छ ।
शुक्रबार दिउँसो सप्तरीकाे फत्तेपुरबाट शनिबारेतर्फ जाँदै गरेको प्र.१–०५–००१ प ५७३८ नम्बरको मोटरसाइकलले सोही दिशामा गइरहेको साइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा चौदण्डीगढी नगरपालिका– ४, बसाहा नमुना टोलनिवासी अन्दाजी ६० वर्षीय घलबहादुर भुजेल गम्भीर घाइते भएका थिए ।
घाइते भुजेललाई उपचारका लागि विराटनगरस्थित विराट नर्सिङ होम लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डिएसपी निरञ्जन थापाले जानकारी दिए ।
दुर्घटनामा मोटरसाइकलचालक पनि घाइते भएका छन् । उनलाई प्रारम्भिक उपचारका लागि फत्तेपुरस्थित सप्तकोशी अनुकूल पोलिक्लिनिकमा उपचार गराई थप उपचारका लागि विराटनगर पठाइएको प्रहरीले जनाएको छ ।
घटनापछि इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला र अस्थायी प्रहरी बिट आम्बासीबाट खटिएको टोलीले उद्धार तथा कानुनी प्रक्रिया पूरा गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी थापाकाे भनाइ छ ।
आजै मदन भण्डारी लोकमार्गअन्तर्गत उदयपुरको चौदण्डीगढी नगरपालिका– ४, बर्खेडाँडा चोकनजिक ट्रक र मोटरसाइकल एक–आपसमा ठोक्किँदा दाजु–बहिनी गम्भीर घाइते भएका छन् । काठमाडौंबाट विराटनगरतर्फ जाँदै गरेको प्र३–०१–००६ ख ०३७५ नम्बरको ट्रक र रामपुरबाट बेल्टार/गाईघाटतर्फ आउँदै गरेको प्र १–०५–००२ प १६०० नम्बरको मोटरसाइकल एक–आपसमा ठोक्किँदा दुर्घटना भएको थियाे ।
दुर्घटनामा मोटरसाइकलचालक उदयपुरको बेलका नगरपालिका– ६, लामीडाँडानिवासी अन्दाजी ४० वर्षीय गजुरमान राई र पछाडि सवार उनकी बहिनी अन्दाजी ३५ वर्षीया शान्ति राई गम्भीर घाइते भएका छन् ।
घटनालगत्तै इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी टोलीले घाइते दुवैजनालाई उद्धार गरी उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको जनाएको छ । प्रहरीले दुर्घटनामा संलग्न ट्रक, मोटरसाइकल तथा ट्रकचालकलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको पनि थापाकाे भनाइ छ ।