घरेलु टोली सम्राट फाइनलमा

शुक्रबार, ४ बैशाख, २०८३
डिजिटल संस्करण

घरेलु टोली सम्राट स्पोर्टिङ क्लब ३८औँ विराट गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । सहिद मैदानमा बिहीबार भएको अन्तिम सेमिफाइनलमा ‘ए’ डिभिजन टोली चर्च ब्वाइज युनाइटेडलाई ३–० ले हराउँदै सम्राटले फाइनलमा स्थान पक्का गरेको हो ।

पहिलोपटक विराट गोल्डकपमा सहभागिता जनाएको सम्राट डेब्युमै उपाधि दाबेदार बनेको छ । शनिबार हुने उपाधि भिडन्तमा सम्राटले झापा–११ को सामना गर्नेछ । सम्राटको जितमा सौरभ तामाङ, आदित्य शाक्य र विवेक राईले समान एक गोल गरे । 

खेलको ५०औँ मिनेटमा सौरभले सम्राटलाई १–० को अग्रता दिलाए । खेलको अन्तिम सात मिनेटको इन्जुरीमा सम्राटले थप दुई गोल गर्दै जित सुनिश्चित गर्यो । इन्जुरी समयको चौथो मिनेटमा आदित्यले टोलीलाई २–० को स्थितिमा राखे । इन्जुरी समयको छैटौँ मिनेटमा विवेकले सम्राटको जित ३–० ले पक्का पारे । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । घरेलु दर्शकको साथ पाएको सम्राट सुरुदेखि नै आक्रामक बनेको थियो । 

चर्च ब्वाइजका स्ट्राइकर समीर तामाङ फिनिसिङमा पटक–पटक चुकेका थिए । खेलको ६७औँ मिनेटमा समीरको प्रहार पोस्टनजिकैबाट बाहिरियो । खेलको ७२औँ मिनेटमा सिर्जन गौतमको प्रहारले पनि सही दिशा लिन सकेन । यसअघि सम्राटले क्वार्टरफाइनलमा भारतको बिर्सामुन्डा स्पोर्टस् एकेडेमीलाई ३–१ ले पराजित गरेको थियो । झापा–११ नेपाल पुलिस र त्रिभुवन आर्मीलाई पाखा लगाउँदै फाइनलमा पुगिसकेको छ ।

सुझावित समाचार