वाइडबडी भ्रष्टाचारको अभियोगपछि निगम छाडेका भाइलाई मासिक २० लाख पारिश्रमिक दिने गरी नियुक्ति

शुक्रबार, ४ बैशाख, २०८३
डिजिटल संस्करण
वाइडबडी भ्रष्टाचारको अभियोगपछि निगम छाडेका भाइलाई मासिक २० लाख पारिश्रमिक दिने गरी नियुक्ति

नियुक्ति दिलाउने दाइ सुवास रिजाल (दायाँ) र नियुक्ति पाउने भाइ श्रवण रिजाल

वायुसेवा निगमका अपरेसन विभाग निर्देशक सुवास रिजालको अर्को विवादास्पद कदम

चलखेल गरेर ‘सम्धी’लाई वैदेशिक तालिममा पठाउने प्रयासमा असफल भएका नेपाल वायुसेवा निगमका अपरेसन विभाग निर्देशक क्याप्टेन सुवास रिजालले वाइडबडी भ्रष्टाचारको अभियोगपछि निगम छाडेका सहोदर भाइलाई मासिक २० लाख पारिश्रमिक दिने गरी नियुक्ति दिलाएका छन् । निर्देशक रिजालले भाइ श्रवण रिजाललाई निगमको एअरबस ए ३३० जहाजका लागि ‘सिनियर क्याप्टेन (ग्रेड–९)’ पदमा पाँच वर्षका लागि करारमा नियुक्त दिलाएका हुन् ।

वाइडबडी विमान खरिद प्रकरणमा रिजाल दाजुभाइसहितविरुद्ध दायर भ्रष्टाचारको मुद्दामा अख्तियार सर्वोच्च अदालतमा पुनरावेदन लिएर गएपछि ११ महिनाअघि श्रवण रिजालले राजीनामा दिएका थिए । विशेषबाट ०८१ मंसिरमा सफाइ पाएसँगै अख्तियार सर्वोच्च गएपछि श्रवणले २९ वैशाख ०८२ मा २८ वर्षे जागिरबाट राजीनामा दिएका थिए । तर, अन्य स्थायी पाइलटको भन्दा पाँच गुणा धेरै पारिश्रमिक पाउने गरी उनले २९ फागुनमा नियुक्ति पाएको खुलेको छ । 

निगमका एक पाइलटका अनुसार अन्य स्थायी पाइलटको औसत पारिश्रमिक मासिक चार–पाँच लाख छ । तर, करार सम्झौताअनुसार श्रवण रिजालले १२ लाख ३० हजार तलब पाउँछन् भने अतिरिक्त मासिक प्रशिक्षकबापत तीन लाख प्राप्त गर्छन् । साथै स्थायी सिनियर क्याप्टेनसरह खाना, पोसाक, यातायात तथा यात्राभत्ता पनि उपलब्ध गराइएको छ ।

श्रवणलाई वार्षिक १२ दिन बिरामी बिदा र १२ दिन आकस्मिक बिदा दिइने नियुक्त–पत्रमा उल्लेख छ । व्यक्तिगत दुर्घटना बिमा, लाइसेन्स गुमेमा हुने बिमा तथा स्वास्थ्य बिमाको सुविधा पनि दिइएको छ । परिवारसहितको स्वास्थ्य उपचार खर्च वार्षिक अधिकतम पाँच हजारसम्म परिपूर्ति गरिने जनाइएको छ । उनी निगमको अपरेसन निर्देशकको प्रत्यक्ष निगरानीमा काम गर्ने उल्लेख छ । उनलाई ए३३० जहाज लामो समय (१५ दिनभन्दा बढी) उडानमा नआए, पूर्ण तलबको सट्टा ‘रिटेनर फी’ मात्र दिइने प्रावधान छ । करार तोड्न तीन महिनाअघि सूचना दिनुपर्ने, नत्र निगमलाई तीन महिनाको तलबबराबर क्षतिपूर्ति तिर्नुपर्ने करारपत्रमा उल्लेख । निगमले भने एक महिनाअघि सूचना दिएर करार अन्त्य गर्न सक्ने वा एक महिनाको तलब दिएर तत्काल हटाउन सक्ने उल्लेख छ । उक्त पद स्थायी कर्मचारीले भरिएमा पनि करार समाप्त हुने उल्लेख छ ।

निर्देशक सुवास रिजालले यसअघि पालो कुरिरहेका १९ पाइलटलाई ‘होल्ड’ गरी चलखेल गरेर सम्धी रोशन कोइरालालाई तालिममा मलेसियाको क्वालालम्पुर पठाउने प्रयास गरेका थिए । यस विषयमा नयाँ पत्रिकामा समाचार छापिएको थियो । त्यसपछि निगमका कार्यकारी निर्देशक अमृतमान श्रेष्ठले सोधपुछ गरेका थिए । अन्ततः उनको ठाउँमा स्वाभाविक रूपमा पालो पर्खिरहेका प्रचण्ड श्रेष्ठ र को–पाइलटका रूपमा रविन केसी गएका छन् ।

दोहोरो नियुक्ति लिएको आरोप
श्रवण रिजाल अहिले अन्तर्राष्ट्रिय विमान कम्पनी ‘श्रीलंकन एयरलाइन्स’मा समेत आबद्ध रहेको निगमका कर्मचारीहरूको आरोप छ । उनले यसअघि निगमबाट राजीनामा दिएपछि भारतस्थित कार्गो कम्पनीमा काम गरेका थिए । पछि पुनः निगममै फर्कँदा उही वरिष्ठता कायम राख्दै स्थायी नियुक्तिलाई निरन्तरता दिइएको स्रोतको दाबी छ ।

अप्रिल २०२६ मा नेपाल नागरिक उड्डयन प्राधिकरणको अपरेसनल अडिटले पनि निगमभित्र नातावाद, अनियमित नियुक्ति, एयर अपरेटर सर्टिफिकेट (एओसी)सम्बन्धी समस्या तथा सञ्चालन म्यानुअलको पालना नगरेको उल्लेख गरेको छ । यो घटनाबाट निगम नेतृत्वले व्यक्तिगत र पारिवारिक हितलाई संस्थागत हितभन्दा माथि राखेको धारणा बलियो बन्दै गएको छ ।

विज्ञहरूले स्वतन्त्र उच्चस्तरीय छानबिन, दोषीमाथि कारबाही र मेरिटमा आधारित पारदर्शी प्रणाली कार्यान्वयन गर्न ढिलाइ गर्न नहुने बताएका छन् । अन्यथा, यस्ता अभ्यासले राष्ट्रिय ध्वजावाहक संस्थाको दीर्घकालीन स्थायित्व र सञ्चालन क्षमतामा गम्भीर असर पार्न सक्ने चेतावनी दिइएको छ ।

श्रवणका पिता गंगाराम रिजालसमेत नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट थिए । सन् १९६७ मा निगम प्रवेश गरेका गंगारामले २००५ मा निगमबाट अवकाश लिएका थिए । गंगारामसहित उनका तीन छोराले नै निगममा एकैपटक सेवा दिएका थिए ।

स्थायी पाइलटको भन्दा पाँच गुणा बढी तलब–सुविधा
निगमका एक पाइलटका अनुसार अन्य स्थायी पाइलटको औसत पारिश्रमिक मासिक चार–पाँच लाख छ । तर, करार सम्झौताअनुसार श्रवण रिजालले १२ लाख ३० हजार तलब पाउँछन् भने अतिरिक्त मासिक प्रशिक्षकबापत तीन लाख प्राप्त गर्छन् । साथै स्थायी सिनियर क्याप्टेनसरह खाना, पोसाक, यातायात तथा यात्राभत्ता पनि उपलब्ध गराइएको छ ।

श्रवणलाई वार्षिक १२ दिन बिरामी बिदा र १२ दिन आकस्मिक बिदा दिइने नियुक्त–पत्रमा उल्लेख छ । व्यक्तिगत दुर्घटना बिमा, लाइसेन्स गुमेमा हुने बिमा तथा स्वास्थ्य बिमाको सुविधा पनि दिइएको छ । परिवारसहितको स्वास्थ्य उपचार खर्च वार्षिक अधिकतम पाँच हजारसम्म परिपूर्ति गरिने जनाइएको छ । उनी निगमको अपरेसन निर्देशकको प्रत्यक्ष निगरानीमा काम गर्ने उल्लेख छ । 

सुझावित समाचार