लामो समयसम्म निर्माण कार्य सम्पन्न गर्न नसक्ने बाजुरा र अछामका नाै ठेकेदार कम्पनीलाई १५ दिने स्पष्टीकरण मागिएकाे छ। सुदूरपश्चिम प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत पर्ने पूर्वाधार विकास कार्यालय साँफेबगर, अछामले निर्माण कार्यमा ढिलासुस्ती गर्दै आएका नाै निर्माण व्यवसायीलाई १५ दिने स्पष्टीकरणपत्र सार्वजनिक सूचनामार्फत दिएको पूर्वाधार विकास कार्यालय अछामका प्रमुख जंगबहादुर थापाले जानकारी दिए ।
थापाका अनुसार कार्यालयले जारी गरेको सार्वजनिक सूचनाअनुसार विभिन्न सडक निर्माण तथा स्तरोन्नति आयोजनाका लागि सम्झौता गरेका निर्माण व्यवसायीहरूले सम्झौताअनुसार काम नगरेको, प्रगति सन्तोषजनक नरहेको र कार्यालयले पटक–पटक लिखित तथा मौखिक निर्देशन दिँदा पनि ठेकेदारले कुनै वास्ता नगरेको र काममा सुधार नभएको देखिँदा, ठेक्का किन नतोड्ने भन्ने विषयमा कारण पेस गर्ने गरी कार्यालयले सूचना जारी गरेकाे हाे ।
ठेकेदारले पटकपटक थपिएको म्यादभित्र पनि अपेक्षित प्रगति नभएपछि अन्तिम पटक १५ दिनको समय दिँदै चित्तबुझ्दो स्पष्टीकरण पेस गर्न निर्देशन दिइएको छ। सूचनामा तोकिएको समयभित्र निर्माण व्यवसायीले सन्तोषजनक जवाफ नदिएमा सार्वजनिक खरिद ऐन, २०६३ र नियमावली, २०६४ अनुसार ठेक्का सम्झौता अन्त्य गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाइने पूर्वाधार विकास कार्यालय साँफे अछामका सबइन्जिनियर देवेन्द्र राउतले जानकारी दिए ।
कार्यालयले सार्वजनिक गरेको सूचनामा उल्लेख गरेअनुसार स्पष्टीकरण सोधिएका योजनाहरू बाजुरा र अछाम जिल्लाका विभिन्न सडकहरूको स्तरोन्नति तथा निर्माण योजनाहरू रहेका छन्। अछामको घुघुरकोट फडा खप्तड नैनी सडक, कर्णाली करिडोरअन्तर्गत माणिकान्दा मालिका सडक, जैगड माझठाना रामारोशन, बाजुराको कैलाशमाण्डौ पन्धारा, मार्तडी–कोल्टी–पिलुचौर सडक, सेराअटैचौर थामलेख सडकलगायतका योजनाहरू समावेश छन्।
मार्तडी कोल्टी सडक निर्माणको जिम्मा लिएको बानियाँ निर्माण सेवा कम्पनीलगायत अन्य ठेकेदारहरू १५ दिने अन्तिम सूचनाको स्पष्टीकरणमा परेका छन्। मार्तडी कोल्टी सडकलगायत बाजुरा र अछाममा मात्र नाैवटा सडकको काम अलपत्र पार्ने ठेकदार कम्पनी रहेका छन्।
जसमध्ये कालिकादेवी निर्माण सेवा तृर्माखाँद वडा ८ अछाम, कालिका देवी निर्माण सेवा तृर्माखाँद अछाम, महाकाली कन्स्ट्रक्सन मंगलसेन १० अछाम, बानियाँ कुशेश्वर जेभी हेटौँडा– १८ मकवानपुर, पिएस बानियाँ जे.भी. मकवानपुर १८ हेटौँडा, पिएस बानियाँ जे.भी. मकवानपुर १८ हेटौँडा, अनक जयदेवी जेभी नेपालगन्ज १७ बाँके, अनक जयदेवी जेभी नेपालगन्ज १७ बाँके, नाति कन्स्ट्रक्सन प्रालि इमाडोल ललितपुरलगायत नाैवटा निर्माण कम्पनी रहेका छन्।