- जमैकाली जनतालाई स्वास्थ्य सेवा पुर्याउन पठाइएका क्युबाली चिकित्सकलाई अमेरिकी दबाबमा फिर्ता बोलाइनु उनीहरूलाई सेवाबाट वञ्चित गरिनु हो
जब गत महिना क्युबामा लोडसेडिङका कारण करिब एक करोड मानिसलाई अँध्यारोमा बस्न बाध्य पारियो, अमेरिकी मिडिया कभरेजमा उही पुरानो भाष्य दोहोरियो– एक असफल कम्युनिस्ट राज्य, पतन हुन लागेको शासन र एक अवसर । त्यो मिडिया कभरेजले वास्तविकता देख्न सकेन । क्युबाले आफूलाई जसरी हेरिरहेको छ, अमेरिकाले ठिक विपरीत ढंगले मूल्यांकन गरिरहेको छ ।
गत साता रुसी तेल ट्यांकर अनातोली कोलोडकिन (प्रतिबन्धित रुसी जहाज) क्युबाली बन्दरगाह माटान्जासमा पुग्यो । सो जहाजले तीन महिनामा पहिलोपटक देशमा इन्धन ‘डेलिभरी’ गर्यो (सात लाख ३० हजार ब्यारेल कच्चा तेल), जुन केवल १० दिनका लागि क्युबाली ऊर्जा आवश्यकता पूरा गर्न पर्याप्त थियो । क्युबातर्फ गइरहेको अर्को रुसी ट्यांकर सी हर्स भेनेजुएलातर्फ मोडियो ।
क्युबामाथि अमेरिकी नाकाबन्दी जारी छ । क्यारिबियन सागरमा अमेरिकी विनाशकारी र अन्य सैन्य जहाजले निरन्तर निगरानी गरिरहेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेका छन् कि उनी ‘सम्मानजनक’ ढंगले अमेरिकाले ‘कब्जा गर्न पाउने’ अपेक्षा गर्छन् । ‘मैले क्युबालाई मुक्त गरेँ भने मलाई लाग्छ कि म यसलाई जे पनि गर्न सक्छु,’ उनले हालै भनेका छन् । यो भाषा विशेषगरी क्रूर र राजनीतिक रूपमा अस्पष्टजस्तो लाग्न सक्छ ।
यो नवउपनिवेशवादको तर्क हो, त्रुटिवश व्यक्त गरेको भनाइ होइन । विशेषगरी र ऐतिहासिक रूपमा, यो तर्क अमेरिकाले एक शताब्दीभन्दा बढी समयदेखि फ्लोरिडाबाट केबल ९० माइल टाढा रहेको एउटा टापु (क्युबा)मा लागू गर्दै आयो र क्युबाले अमेरिकी साम्राज्यवादलाई अस्वीकार गर्ने उपाय खोजिरह्यो । अमेरिकी विदेशमन्त्री मार्को रुबियोको सहयोगमा अन्ततः क्युबालाई ‘आत्मसमर्पण’ गर्न बाध्य पारेर ट्रम्पले ‘सम्मान’ पाएको देखिन्छ ।
अमेरिकी विश्लेषण (आधिकारिक र पत्रकारिता) ले कसरी वर्तमान संकटलाई असफल बनाइरहेको छ भन्नेबारे बुझ्नुपर्ने सबैभन्दा महत्वपूर्ण कुरा यो हो– समस्या जानकारी होइन, यो साम्राज्यवादी दृष्टिकोण हो, जसले क्युबालाई आफ्नै कथाको नायकका रूपमा भन्दा पनि उसलाई व्यवहार गर्नुपर्ने सानो खेलाडीका रूपमा व्याख्या गर्छ । म पहिलोपटक १९९० को दशकको अन्त्यतिर क्युबा गएको थिएँ । त्यहाँ एक युवा मानवशास्त्रीका रूपमा तालिममा सहभागी भएको थिएँ । त्यतिवेला म ल्याटिन अमेरिकी अध्ययन परम्परामा डुबेको थिएँ । क्युबाले केही दिनमै मलाई यसबाट वञ्चित गरायो । हवानाको सडकमा हिँड्दै गर्दा मलाई क्युबाली प्रहरीले बारम्बार रोक्यो र ‘डेम कार्नेट’ (परिचयपत्र) माग्यो । निःसन्देह, मेरो शरीरले मलाई युवा अश्वेत क्युबाली पुरुषको श्रेणीमा राखेको थियो । तसर्थ, प्रहरीले कार्ड माग्नु सामान्य थियो ।
मलाई यहाँको दिनचर्याबारे पहिल्यै थाहा थियो, डिप साउदमा गाडी चलाउनेदेखि भौगोलिक रूपमा जुनसुकै स्थानमा हिँडडुल गर्नेसम्म । क्युबामा जोखिम कम थियो । मेरो आफ्नै मातृभूमिमा जस्तो । कुनै घातक कारबाही वा स्पष्ट मृत्युदण्डको सजाय थिएन । अमेरिकी नीति–निर्माता र अनौपचारिक पर्यवेक्षकले पनि क्युबालाई हेर्दा प्रायः एउटा सरल पोस्टकार्ड मात्र देख्छन् ।
अनगन्ती अवसरमा मैले क्युबाली (शिक्षाविद् र साधारण मानिस दुवै)लाई प्रश्न सोधेँ, यदि क्रान्तिले सबैलाई मुक्ति दियो भने किन अश्वेतलाई अझै पनि सीमान्तकृत बनाइएको छ र पेसा तथा राज्यमा उनीहरूको कम प्रतिनिधित्व हुन्छ ? उत्तर रंगिएका भौतिकवादीबाट आए । भाषा मार्क्सवादी थियो । विश्लेषण दार्शनिक थियो । त्यो विश्लेषण केवल मैले सामना गरेको मनोवृत्ति मात्र थिएन, बरु संरचनात्मक थियो ।
जुलाई २०२१ मा म छक्क परेँ, जब क्युबाली (जसमध्ये धेरैजसो टापुको सबैभन्दा गरिब अश्वेत मानिस थिए) सान्टियागो डी क्युबा र हवानाको सडकमा उत्रिए, जुन क्रान्तिपछिको सबैभन्दा ठुलो विरोध प्रदर्शन थियो । कुप्रबन्धन, दमन र असहमतिलाई दण्डित गर्ने निगरानी संयन्त्रले निरन्तर खोक्रो बन्दै गएको सत्ताले एक विशेष प्रकारको थकान महसुस गर्यो । यही कारणले गर्दा धेरै क्युबाली, जसलाई म चिन्छु र सम्मान गर्छु, अब क्युबाली राज्यबाट धेरै कम आशा गर्छन् ।
क्युबाली क्रान्तिको तागतलाई कम आकलन गर्न मिल्दैन । समतामूलक समाजतर्फ क्रान्तिले ल्याएको योगदान महत्वपूर्ण छ । क्युबाको सत्ताको कमजोरीलाई केलाउँदै गर्दा यसले आफ्ना छिमेकीलाई गरेको योगदान पनि प्रशंसनीय छ । क्युबाले आफ्नो सिमानाबाहिरको संसारका लागि पनि उत्तिकै सहयोग गरेको छ । अफ्रिकी मुलुक जमैकालाई हेर्नुहोस्, जहाँ ३० वर्षमा ४७ हजारभन्दा बढी क्युबाली चिकित्साकर्मी पुगे । उनीहरूले त्यहाँ ८० लाखभन्दा बढी बिरामीको उपचार गरे र ७४ हजारभन्दा बढी शल्यक्रिया गरे । तर, त्यो सहयोग व्यवस्था अब अमेरिकी दबाबमा अन्त्य भएको छ । अमेरिकाको दबाबमा जमैकाबाट २७७ क्युबाली स्वास्थ्यकर्मीलाई फिर्ता बोलाइयो, ती क्लिनिकमा निर्भर मानिस चुपचाप परिणाम सहन बाध्य छन् । तपाईंले २०१४ को पश्चिम अफ्रिकालाई हेर्नुपर्छ, जतिवेला क्युबाले इबोलाविरुद्ध लड्न ३०० भन्दा बढी डाक्टर र नर्स पठाएको थियो । यो विश्वको सबैभन्दा ठुलो एकल–देशीय योगदान थियो ।
(एलेन अफ्रिकी–अमेरिकी र अफ्रिकी डायस्पोरा अध्ययनका प्राध्यापक हुन्)
अलजजिराबाट