गण्डकी सरकारका सबै मन्त्री फेरिए : कांग्रेस र एमालेका आठ नयाँ मन्त्री नियुक्त

बिहिबार, ३ बैशाख, २०८३
डिजिटल संस्करण

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । पुनर्गठन गर्दा पहिलेका सबै मन्त्री हटाएर आठ मन्त्री नियुक्त गरिएको छ । कांग्रेस र एमालेबाट चार–चारजना मन्त्री नियुक्त भएका हुन् ।

१६ जेठ ०८१ मा संविधानको धारा १६८ (३) बमोजिम पाण्डे मुख्यमन्त्रीमा नियुक्त भएका थिए । पाण्डे नियुक्त भएपछि यसअघि पाँचौँपटकमा मन्त्रिपरिषद्लाई पूर्णता दिएका थिए । बुधबारको हेरफेर छैटौँ हो । नवनियुक्त मन्त्रीहरूले बुधबार नै पद तथा गोपनीयताको शपथ लिएका छन् । 

कांग्रेसबाट जित शेरचन आर्थिक मामिला, नन्दप्रसाद न्यौपाने ऊर्जा, जलस्रोत तथा खानेपानी, रेखा गुरुङ सामाजिक विकास, युवा तथा खेलकुद र नम्डु गुरुङ वन तथा वातावरणमन्त्री नियुक्त भएका छन् । एमालेबाट गोविन्दबहादुर नेपाली भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था, यशोदा रिमाल उद्योग तथा पर्यटन, भीमबहादुर कार्की कृषि, भूमि व्यवस्था तथा सहकारी र लक्ष्मण पाण्डे स्वास्थ्य मन्त्रीमा नियुक्त भएका छन् । सबै पहिलोपटक मन्त्री भएका हुन् । गण्डकीमा यसअघि कांग्रेसबाट विन्दुकुमार थापा, डा. टकराज गुरुङ र भेषबहादुर पौडेल मन्त्री थिए । एमालेबाट पद्मा जिसी, कृष्ण पाठक, प्रकाश केसी र मित्रलाल बस्याल मन्त्री बनेका थिए । उनीहरू सबैलाई हटाएर सत्तागठबन्धनमा रहेका कांग्रेस र एमालेले नयाँ मन्त्री नियुक्त गरेका हुन् ।

४ मंसिर ०७९ मा सम्पन्न प्रदेश सभा निर्वाचनपछि ६० सदस्यीय गण्डकी प्रदेश सभामा कांग्रेसका २७, एमाले २२, नेकपा (तत्कालीन माओवादी) सात, राप्रपा दुई, नेसपाका एक र एक स्वतन्त्र सदस्य निर्वाचित भएका थिए । निर्वाचनपछि २५ पुस ०७९ मा एमाले संसदीय दलका नेता खगराज अधिकारीको नेतृत्वमा सरकार गठन भएको थियो । त्यसपछि केन्द्रमा सत्ता समीकरण परिवर्तन हुँदा प्रदेशमा समेत चारपटक सरकार फेरबदल भएको छ । चारपटक सरकार फेरबदल हुँदा मुख्यमन्त्री भने दुईजना कांग्रेसका पाण्डे र एमालेका अधिकारी मात्रै बने । यस अवधिमा ३५ जना मन्त्री बनेका छन् ।

गण्डकीमा दोस्रोपटक १४ वैशाख ०८० मा संविधानको धारा १६८ (२) अनुसार कांग्रेसका पाण्डे मुख्यमन्त्री नियुक्त भएका थिए । तेस्रोपटक २५ चैत ०८० मा सभामुखको समेत संख्या गणना गर्दै आवश्यक बहुमत पुर्याएपछि संविधानको धारा १६८ (२) बमोजिम एमालेका अधिकारी मुख्यमन्त्री भएका थिए ।

मन्त्रीमा नपरेपछि कांग्रेस सांसद कुँवरले दिए राजीनामा
मन्त्रिपरिषद्मा हेरफेर गर्दा आफू नपरेको भन्दै कांग्रेस सांसदले पदबाट राजीनामा दिएका छन् । बागलुङ २ (२) बाट निर्वाचित कांग्रेसका द्रोण कुँवरले असन्तुष्टि जनाउँदै राजीनामा दिएका हुन् । सभामुख कृष्ण धितालले इमेलमार्फत कुँवरको राजीनामा आएको जाकारी दिँदै हाल आफू काठमाडौंमा रहेकाले राजीनामाका विषयमा पोखरामा आएर निर्णय गर्ने बताए ।

See More On

सुझावित समाचार